अर्को वर्ष फेब्रुअरी ४ देखि २० सम्म बेइजिङमा 'विन्टर ओलम्पिक' हुँदैछ। कोभिड १९ को महामारीका कारण पछि सरेको यो प्रतियोगिताका लागि अहिलेसम्म टिकेटिङ सुरु गरिएको छैन। र, मुखैमा टोकियोमा ग्रीष्मकालीन ओलम्पिक हुन गइरहेको छ जहाँ दर्शकको उपस्थिति शुन्य हुनेछ।
बेइजिङमा हुने शीतकालीन ओलम्पिक सुरु हुन २०० दिन पनि बाँकी छैन। यसबिच अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का समन्वय आयोगका प्रमुख जुआन एन्टोनियो समरन्चले बेइजिङमा दर्शकहरुको उपस्थितिमा प्रतियोगिता हुनुपर्ने बताएका छन्।
'हामी चाहन्छौं, त्यो ओलम्पिकमा विदेशी दर्शकहरुको पनि उपस्थिति होस,' उनले भनेका छन्, 'अर्को वर्ष बेइजिङमा हामीलाई एउटा सफल ओलम्पिक चाहिएको छ। हामी त्यो सबैका लागि सफलता हात पार्न चाहन्छौं।'
जापानको राजधानीमा सम्पन्न आईओसीको सेसनमा उनले भने: दर्शकहरु हामीलाई आवश्यक छन् र हामी चाहन्छौं दर्शकहरु त्यहाँ होउन्।
'चीनले अफर गरेको 'हस्पिटालिटी' को आनन्द लिने अवसर धेरैले पाउन् भन्ने हामी चाहन्छौं।' उनले भनेका छन्।
शुक्रवार औपचारिक रुपमा सुरु हुने टोकियो ओलम्पिकका खेलहरु उद्घाटन अघि नै सुरु हुनेछन्। घरेलु र विदेशी दर्शकहरुका लागि टिकट काटिसकेको टोकियो ओलम्पिकमा महामारीका कारण दर्शकबिनै ओलम्पिक आयोजना हुन लाग्दैछ। खेल सुरु हुन लाग्दा जापानमा कोभिड संक्रमणको दर त थामिएको छैन नै प्रतियोगिता खेल्न पुगेका खेलाडी पनि संक्रमित भइसकेका छन्।
जापान भित्रै पनि यो इभन्ट कोभिडको सुपरस्पेडर बन्न सक्छ भनेर विरोध आइरहेको छ। र, चुनौतीका बिच प्रतियोगिता सुरु हुन लाग्दैछ।
जापानको आसाही अखबरले राखेको एउटा पोलमा राय राखेका ५५ प्रतिशत जापानीले प्रतियोगिता गराउन नहुने सुझाएका थिए। जुलाई १ यता जापानमा ओलम्पिकसँग सम्बन्धित ७० वटा कोभिड १९ संक्रमणको केस देखिइसकेको छ।