PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

किन भयो सत्यनारायणको हत्या? अझै पनि 'क्लु' बिहीन प्रहरी अनुसन्धान



सविन ढकाल

किन भयो सत्यनारायणको हत्या? अझै पनि 'क्लु' बिहीन प्रहरी अनुसन्धान

काठमाडौं : दुई साताअघि भारतीय नागरिक सत्यनारायण पारिखको भएको हत्याको कारण खुल्न सकेको छैन भने अभियुक्त पनि प्रहरीको पहुँचभन्दा टाढै छ। ललितपुर-२ सानेपास्थित राम मन्दिर नजिकै ५९ वर्षीय पारिखको हत्या भएको थियो।

महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर, ललितपुरको टोली अनुसन्धानमा लागिरहेको छ। तर, अझै अभियुक्तसम्म डोहोर्‍याउने लिड भने प्रहरीले समात्न सकेको छैन।

असार २० गते सत्यनारायण आफ्नै कोठामा मृत अवस्थामा भेटिएका थिए। घरमा काम गर्ने महिलाले दुई दिनसम्म फोन गर्दा नउठेको र घरको गेट लगातार बन्द भएको देखेपछि शंका लागेर परिवारलाई फोन गरेकी थिइन्। परिवार र प्रहरी घरमा पुगेर हेर्दा सत्यनारायण आफू सुत्ने बेडमा मृत फेला परेका थिए।

घरको पहिलो तल्लामा रहेको सत्यनारायणको बेडरुममा घोप्टो परेको अवस्थामा उनको शव भेटियो। उनको शरीरमा खैरो रंगको हाफ पाइन्ट थियो भने टाउको ब्लाङ्केट भित्र। लुगाहरू छरपस्ट अवस्थामा। बत्ती बलिरहेकै थियो। टीभी चालु। अनि कोठामा रगतको आहाल।

प्रहरीले घटनास्थलको यस्तो दृश्य देखेपछि उनको हत्या भएको निष्कर्ष निकालेको थियो। त्यस्तै, चोरीका लागि हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ। अरु फरक 'क्लु' फेला नपरेकाले अहिले पनि अनुसन्धानमा लागेको प्रहरीको बुझाई चोरीकै लागि घटना भएको भन्ने छ।

'हामी अनुसन्धानमा नै छौं। अहिलेसम्म घटनलाई ट्र्याक गर्न कुनै सबुत भेटिएको छैन। विभिन्न कोणबाट हाम्रो अनुसन्धान जारी रहेको छ,' महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्यले भनिन्।

सत्यनारायण न्यूरोडको एटलान्टिक कम्प्युटर कम्पनीमा सेल्सम्यान थिए। त्यहाँ काम गर्न थालेको दुई वर्ष भइसकेको थियो। उनी लामो समयदेखि नेपालमा बस्दै आएका थिए। करिब एक वर्षअघि सत्यनारायण दुर्घटनामा परेका थिए। नेपालटारमा कामको सिलसिलामा चिप्लिएर लड्दा उनी घाइते भए। खुट्टा व्यान्डेज गर्नु पर्‍यो। लकडाउनको बेला खुट्टामा चोट लागेपछि उनको घरको कोठा नै कार्यालय बनेको थियो। उनी कोठाबाट कमै निस्किन्थे। असार १७ गते दिउँसो ३/४ बजेतिर दाइसँग कमलपोखरीमा अन्तिम भेट भएको उनको भाइ संजयले बताएका छन्।

उनी त्यो घरमा भाडा बसेको १३ वर्ष भइसकेको थियो।

सत्यनारायणको एक छोरीको विवाह भइसकेको छ। श्रीमती बितेको ८ वर्ष भयो। त्यसैले अहिले उनी एक्लै कोठामा बस्दै आएका थिए। उनी बस्ने घरमा अरू कोही बस्दैन थिए। साढे २ तले घरमध्ये भुईं तल्ला खाली थियो। भाडामा बस्न कोही नआएको धेरै महिना भइसकेको थियो। त्यहाँदेखि माथि दोस्रो तल्लामा उनको भान्छा र सुत्ने कोठा। त्यसभन्दा माथिल्लो तल्लामा उनले आफ्ना सामानहरू राख्ने गरेका थिए।

घरमा एक्लै भएकाले उनीकहाँ दुई महिला काम गर्न आउँथे - एउटी ४० वर्षीय महिला र अर्की २०/२५ वर्षीय युवती। असार २० गते उनको शव भेटिएको दिन ४० वर्षीय महिला बिहानै खाना पकाउन सत्यनारायणको घरमा पुगेकी थिइन्। उनी असार १९ गते साँझतिर पनि खाना पकाउन भन्दै घरमा पुगेकी थिइन्। त्यस दिन गेटमा लक गरिएको थियो। उनले फोन गरिन्। सत्यनारायणको फोन समेत उठेन। त्यसपछि उनी आफ्नै कोठा फर्किन्। त्यसभन्दा अधिल्लो रात ८ बजेतिर सत्यनारायण र ती महिलाको कुराकानी भएको देखिएको छ। महिलाले भोलिपल्ट बिहान नभ्याउने भन्दै काम गर्न नआउने खबर गरेकी थिइन्। उनले फोन गरेको रात नै सत्यनारायणको हत्या भएको हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको छ।

'हाम्रो अनुसन्धानको घेरामा उनीहरु पनि छन्। उनीहरु माथि पनि अनुसन्धान भइरहेको छ। तर, कुनै ठोस क्लु भेटिएको छैन,' एसएसपी बज्राचार्यले भनिन्।

प्रहरीले अनुसन्धान गर्दा सत्यनारायणको घर अगाडि दुईवटा मोटरसाइकलमा चार जना संदीग्ध मानिस आवतजावत गरेको देखिएको छ। १० बजेदेखि १२ बजेसम्म उनीहरुले पटकपटक सत्यनारायणको घर अगाडि ओहरदोहर गरेकाले उनीहरु माथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

'उनीहरु किन त्यसरी आए त? रातको समयमा यसरी हिँड्नुले शंका मानेर अनुसन्धान गरिरहेका हौं,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

तर, जो मानिस ओहरदोहर गरिरहेका देखिन्थे उनीहरु सत्यनारायणको घरमा छिरेको भने देखिएको छैन। गेटमा लक भएकाले सहजै छिर्ने अवस्था पनि छैन। प्रहरीको अनुसन्धानमा कोही मानिस झ्यालबाट छिरेको देखिएको छ। झ्यालमा फलामको ग्रिल झिकिएको छ। सिसाको फ्रेम भएको झ्याल र त्यसमा लामखुट्टे छेक्न लगाएको जाली भए पनि सिसाको झ्याल खुलेको देखिन्छ। जाली च्यातिएको छ।

घटनास्थलबाट प्रहरीले सत्यनारायणले प्रयोग गर्ने दुईवटा मोबाइल समेत बरामद गरेको थियो। प्रहरीले मोबाइलबाट टेक्निकल एनलाइसिस समेत गरेको थियो। तर, कुनै संदीग्ध कुरा भेटिएको छैन। मृत अवस्थामा भेटिएको कोठाभन्दा माथि रहेको अर्को कोठाको दराज फोडिएको थियो। त्यसैले, घटना चोरीको लागि हुनसक्ने प्रहरीको आँकलन हो।

घटनाको अनुसन्धान गर्न प्रहरीको तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको थियो। तर, कुकुर सत्यनारायणको घरको गोरेटो बाटोबाट केही पर पुगेर फर्किएको थियो। दुई पटकसम्म कुकुरले सोही बाटोतिर संकेत गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell