
काठमाडौं : हाल विश्वमा प्रयोग भइरहेका कोभिड-१९ विरुद्धको खोपको प्रयोग १८ वर्षदेखि माथिका नागरिकहरुलाई दिइँदै आएको छ। १७ वर्षदेखि मुनिको उमेर समूहमा खोपको प्रभावकारिताको बारेमा अध्ययन कम रहेको छ। अध्ययनको कमीका कारण पनि डब्लुएचओले खोपलाई १८ वर्ष माथिका नागरिकहरुका लागि प्रयोग गर्न सुझाव दिएको छ।
हाल डब्लुएचओले १० वटा खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ भने बाँकी १२ वटा खोप मूल्यांकनकै चरणमा छन्।
जसमध्ये रुसको स्पुतनिक भीको केही देशमा प्रयोगमा रहे पनि यसको थप तथ्यांकको अध्ययन आवश्यक भएको उल्लेख छ। त्यस्तै भारतको बायोटेकको कोभ्याक्सिन पनि भारत लगायतका केही देशमा प्रयोग भए पनि यसले पनि अझै प्रयोग अनुमति पाएको छैन।
हालसम्म कोभिड-१९ को खोप वयस्कहरुमा अध्ययन भएको तथा किशोर-किशोरीहरू तथा बालबालिकामा अध्ययनको कमी छ।
यस्तोमा चीनको सिनोभ्याकको खोपको दोस्रो चरणको अध्ययनको तथ्यांकले ३ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोर-किशोरीहरूमा एन्टिबडी निर्माणमा ९८.९ प्रतिशत प्रभावकारी रहेको देखाएको ग्लोबल टाइम्सले जनाएको छ। जुन १८ वर्ष माथिको जनसंख्यामा भन्दा बढी हो।
खोपको प्रयोगत्मक अध्ययनका लागि यो समूहका १८० जनामा अध्ययन गरिएको थियो। खोप लगाएको तीन महिनापछि ३-१७ वर्ष उमेर समूहमा खोप लगाइएको डोजको आधारमा ९८.९ देखि १०० प्रतिशतसम्म प्रभावकारी देखिएको कम्पनीले जनाएको छ।
यो सँगै यस खोपलाई यो उमेर समूहमा आपतकालीन प्रयोग अनुमति दिइएको छ। ‘यो नतिजा १८ वर्ष माथिको जनसंख्या भन्दा राम्रो हो,’ सिनोभ्याकले भनेको छ, ‘खोप यस युवा समूहमा स्थिर र प्रभावकारी देखिएको छ।’
डब्लुएचओले जुन १ मा सिनोभ्याक कोभिड-१९ भ्याक्सिनलाई १८ वर्ष माथिका जनसंख्यामा आपतकालीन प्रयोग अनुमति दिएको थियो।
अध्ययन रिपोर्टअनुसार ५१ प्रतिशतमा लक्षणयुक्त संक्रमण जोगाउने र शत प्रतिशतलाई गम्भीर संक्रमण र अस्पताल भर्ना हुनबाट जोगाउने उल्लेख छ।
सिनोभ्याक गत मे मा ३-१७ वर्ष उमेर समूहमा आपतकालीन प्रयोग अनुमति दिइएको थियो। चीनका केही प्रान्त तथा शहरहरुमा १५ देखि १७ वर्षका उमेर समूहका जनसंख्यामा यो खोप दिन थालिएको छ।