PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

वीरगंजमा १६ करोडमा निर्माण भएको फोहोरपानी प्रशोधन केन्द्र सञ्चालनमा आएन, परीक्षणमै बित्यो २ वर्ष



राधेश्याम पटेल

वीरगंजमा १६ करोडमा निर्माण भएको फोहोरपानी प्रशोधन केन्द्र सञ्चालनमा आएन, परीक्षणमै बित्यो २ वर्ष

वीरगंज : वीरगंजमा दुई वर्षअघि उद्घाटन भएको फोहोर पानी प्रशोधन केन्द्र (वाटर ट्रिटमेन्ट प्लान्ट) पूर्ण रुपमा सञ्चालनमा आउन सकेको छैन। वीरगंज महानगरपालिका वडा नम्बर १ केडिया डेन्टल कलेज नजिकै निर्माण भएको उक्त प्रशोधन केन्द्र सञ्चालन हुन नसकेको हो। दुई वर्षअघि १६ करोड २९ लाख ४ हजारको बजेटमा ८ बिघा साढे १६ कट्ठामा निर्माण गरिएको प्रशोधन केन्द्र प्रयोगविहिन बनेर दुई वर्षदेखि परीक्षणमै समय बितेको छ।

शहरी विकास मन्त्रालय, वीरगंज महानगरपालिका, नगर विकास कोष तथा एशियाली विकास बैंकको संयुक्त लगानीमा मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गत वीरगंजबाट विसर्जित फोहोर पानीलाई सफा गर्न उक्त प्रशोधन केन्द्रको स्थापना भएको थियो। २०७६ भदौ १० गते तत्कालिन शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राइले प्रशोधन केन्द्रको तामझामका साथ उद्घाटन गर्दा समेत सञ्चालनमा आउन नसक्दा सरोकारवाला निकायको चरम लापारवाही देखिएको छ।

प्रशोधन केन्द्रमा वीरगंजका सबै घरका शौचालयको फोहर पानीलाई प्रशोधन गरी श्रीसिया नदीमा बगाउने योजना थियो। तर, अहिले यो योजना दुई वर्षदेखि थाती रहेको छ। वीरगंजमा यो योजना अन्तर्गत बनाइएका नालामा वीरगंजका घरधनीहरूले शौचालयको फोहर पानी नबगाउँदा पानी प्रशोधन केन्द्र प्रयोगविहीन भएको वीरगंज महानगरका सेनिटरी महाशाखा प्रमुख इञ्जिनियर राजिव सिंहले बताए।

उनले अहिलेसम्म पानी प्रशोधन केन्द्र ट्रायलमा दैनिक डेढ÷दुई घण्टा सञ्चालन गर्दै आएको बताए। मेशिनरी उपकरण खराब हुन सक्ने भएकोले अहिलेसम्म शौचालयका पानी नालामा जोडिएको ५० घर र विश्व बैंकको सहयोगमा यसअघि निर्मित महानगरको दश फुटे मुख्य नालाको पानीबाट दैनिक ट्रायल गरिँदै आएको प्रमुख सिंहले बताए।

उनले प्रशोधन केन्द्र निर्माण हुनुअगावै वीरगंज महानगरपालिकाले यससम्बन्धी सूचना जारी गरेको थियो तर प्रशोधन केन्द्र निर्माण भएपछि पनि घरधनीहरूले महानगरको सूचनालाई बेवास्ता गर्दै आएका छन्। अहिलेसम्म ५० घरपरिवारले मात्र शौचालयको पानी नालामा विर्सजन गर्दै आएका र सबैलाई सो नालामा शौचालयको पानी विसर्जनका लागि यस आवदेखि महानगरपालिकाको पहलमा काम शुरू गरिने उनले बताए।

महानगरले पछिल्लो नगरसभाबाट १२ जना प्लम्बर नियुक्त गर्ने निर्णय गरेको र यो आवमा सो नियुक्तिसँगै घरधनीहरूको शौचालयको पानी नालामा मिसाउने कार्य गरिने प्रमुख सिंहले बताए। कसैको शौचालय घरको पछाडि भागमा भएको र नालासम्म पाइप बिछ्याएर बगाउनुपर्ने भएकोले घरधनीहरूले यसमा खर्च गर्न अग्रसर नभएका हुन्। तर, अब सो कार्य महानगरपालिकाले गर्ने र सोबापतको भुक्तानी सम्बन्धित घरधनीसँग असुल उपर गर्नुका साथै शौचालयको पानी नालामा बगाएबापत लाग्ने शुल्क पनि दाबी गरिने प्रमुख सिंहले बताए।

मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना र सघन शहरी विकास योजना अन्तर्गत दुई चरणको कार्यक्रमबाट वीरगंज महानगरपालिकाका करिब चार हजार घरको शौचालयको पानी नालामा विसर्जन गर्ने योजना छ। निर्माणाधिन प्रशोधन केन्द्रमा दुई वटा पोखरी छन्। जसमा ४ करोड ५६ लाख लिटर पानी भण्डारण गरी दैनिक १ करोड पानी प्रशोधन गरी श्रीसिया खोलामा बगाउने योजना छ। पूर्ण रुपमा प्रशोधन केन्द्र सञ्चालनको लागि दैनिक अढाई लाख लिटर पानी आवश्यक पर्छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell