PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मलाई जे गर्दा खुसी मिल्छ, म त्यही गर्छु : प्रियंका कार्की, 'टोटल वाटर बेबी' फोटोमाथिको टिप्पणीमा छैन मतलब



लक्ष्मी बलायर

मलाई जे गर्दा खुसी मिल्छ, म त्यही गर्छु : प्रियंका कार्की, 'टोटल वाटर बेबी' फोटोमाथिको टिप्पणीमा छैन मतलब
फोटोहरु : facebook.com/PriyankaKarkiofficial

काठमाडौं : अभिनेत्री प्रियंका कार्कीको आमा बन्ने दिन नजिकिदैँ छ। उनी गर्भवती भएको ८ महिना भयो। गर्भावस्थालाई उत्सवको रुपमा मनाइरहेकी छिन् उनी। आफ्नो आमा बन्ने उत्साह र खुशीहरूलाई सामाजिक सञ्जालमार्फत् साट्ने बताउँछिन्।

मंगलबार प्रियंकाले स्वीमिङ पुलमा साथीहरूसँग रमाइरहेको फोटो पोस्ट गरिन्। क्याप्सन लेखिन् 'टोटल वाटर बेबी।'

फोटो सार्वजनिक भएसँगै बधाई तथा शुभकामना व्यक्त गर्नेहरू देखिए। खुलेर रम्न सक्ने उनको स्वभावको चर्चा पनि भइरहेछ। जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले समेत प्रियंकाको पक्षमा ट्वीट गरे। प्रियंकाले युगौंदेखिको पितृसत्तात्मक भ्रमको जालो च्यात्ने साहस राखेको भनाइ राखे।

तर, तस्विरमा प्रतिक्रिया सकारात्मक सन्देशमा सीमित रहेन। प्रियंका ट्रोलको सिकार बन्नु पर्‍यो। त्यो पनि पहिलो पटक कहाँ हो र?

गत वर्षको चैत २० गते प्रियंकाले आफू गर्भवती भएको जानकारी दिइन्। उनले 'वि आर प्रेग्नेन्ट' भन्दै फोटो सेयर गरेकी थिइन्। त्यतिखेर फोटोमाथि नकारात्मक प्रतिक्रियाको बाढी नै आयो। तर, उनले ती प्रतिक्रियाको वास्ता गरिनन्। त्यसयता थुप्रै भिडियो बनाइन्, फोटो खिचाइन् र निर्धक्क सामाजिक सञ्जालमा आफ्नो दर्शक एवं शुभचिन्तकसम्म पुर्‍याइन्। कहिले बेवी सावर त, कहिले गाला पार्टीमा रमाइन् उनी। कसले के भन्छ वास्ता गरिनन्।

नकारात्मक प्रतिक्रियाले आफूलाई छुँदै नछुने प्रियंकाको भनाई छ। सकारात्मक कुरा सोचेर अगाडि बढ्ने स्वभावका कारण आफू निर्धक्क रमाउन सक्ने उनको भनाइ छ। शब्दमा बयान गर्न नसक्ने गर्भावस्थाका स-साना खुशीहरू तस्विर र भिडियोमा समेटेको सुनाउँछिन्।

पहिलो पटक डाक्टरको सहायतामा पेटमा रहेको बच्चाको धड्कन सुनिन्। अनौठो लागेछ उनलाई। सोचिन्, ‘म र मेरो पार्टनरले एउटा नयाँ जीवनलाई संसारमा ल्याउँदै छौँ। हाम्रो माया र साथलाई निरन्तरता दिने एउटा नयाँ पुस्ताको जन्म हुँदैछ।'

सुरुमा केही डराएको सुनाउँछिन्। ‘यति ठुलो जिम्मेवारी उठाउन सक्दिनँ कि जस्तो लागेको थियो। तर बच्चा जन्माउने मिति नजिकिँदै गर्दा आत्मविश्वास बढिरहेको छ। परिवार र साथीहरूको माया र साथले गर्भावस्था सुखद् बितिरहेको छ,’ उनले भनिन्।

यसबिचमा केहीले नकारात्मक प्रतिक्रिया जनाए पनि आफूले त्यतातिर ध्यान नलगेको सुनाइन्। सेलिब्रेटी भएपछि नकारात्मक प्रतिक्रिया आउनु स्वभाविक भएको उनको बुझाइ छ। सकारात्मक प्रतिक्रिया आत्मसात् गर्ने र पचाउन सक्नुपर्ने बताउँछिन् प्रियंका। भन्छिन्, 'मलाई जे गर्दा खुसी मिल्छ, म त्यही गर्छु। सबैलाई मेरो जीवनशैली मनपर्छ भन्ने छैन। कसैलाई मेरो जीवनशैली मन पर्दैन भने पनि म केही गर्न सक्दिनँ। किनकि सबैको आफ्नो व्यक्तिगत विचार हुन्छ।'

सामाजिक सञ्जालमा आउने नराम्रा कमेन्टलाई वेवास्ता गर्दै राम्रा प्रतिक्रियामा केन्द्रित हुन्छिन् उनी। 'दश जनाले गाली गर्छन्। हजार जनाले फोटो सेयर गरेर यसरी नै परिवर्तन ल्याउनुपर्छ भन्ने तर्क गर्छन्। दोस्रो समूहलाई फोकस गर्छु म। घृणामा मात्रै फोकस हुन म सक्दिनँ।‘

नेपालमा अझै पनि ‘बेबी बम्प’, ‘बेबी सावर’ जस्ता विषयहरूलाई सामान्य रुपमा नलिने जमात ठूलो भएको प्रियंकाको फोटोहरूमा आएका प्रतिक्रियाले प्रष्ट्यायो। जसको प्रमुख कारण अशिक्षा रहेको प्रियंका बताउँछिन्। पहिलेको तुलनामा केही परिवर्तन आफूले पनि महसुस गरेको तर अझै संरचनागत् सुधार आवश्यक रहेको उनको विचार हो।

'म आफ्नो अडान लिन्छु। आफ्नो ठाउँमा उभिन्छु। सबैले त्यसो गर्नु चाहिँ पर्छ। अनि मात्रै हामीले पितृसत्तात्मक सोच र महिलाविरोधी सामाजिक चेतनालाई चुनौति दिन सक्छौँ।

कलाकार हुनुको नाताले आफ्ना गतिविधिमाथि धेरैको नजर पर्नु र त्यसमा टिकाटिप्पणी हुनु सामान्य लाग्छ उनलाई। आउने हरेक प्रतिक्रिया र प्रश्नमा जवाफ दिन आवश्यक ठान्दिनन् उनी। जरुरी ठानिनन् र त गर्भावस्थामै पनि व्यवसायिक कामलाई निरन्तरता दिन सकिन्। ती काममा ध्यान दिनेहरूले दिए। आएका प्रतिक्रियालाई आत्मसात् गरिन्। आमा भइसकेपछि आफूमा उर्जा थपिने उनको विश्वास छ।

‘केही समयपछिको विश्रामपछि म काममा फर्कन्छु। त्यतिबेला मेरो काममाथि हुने टिप्पणी र आलोचनात्मक प्रतिक्रियाहरूलाई आत्मसात गर्नेछु। हाललाई भने म आमाको भूमिका निर्वाह गर्दैछु। यस भूमिकामा शत् प्रतिशत् दिन तयार हुँदैछु,’ प्रियंकाले सुनाइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell