PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

वीरगंजका सामाजिक अभियन्ता कञ्चन झाले कांग्रेसबाट राजनीति गर्ने



राधेश्याम पटेल

वीरगंजका सामाजिक अभियन्ता कञ्चन झाले कांग्रेसबाट राजनीति गर्ने

वीरगंज : वीरगंजका सामाजिक अभियन्ता कञ्चन झाले नेपाली कांग्रेसमा आवद्ध भएर जनताको सेवामा लाग्ने बताएका छन्। झाले सामाजिक सञ्जालमार्फत नेपाली कांग्रेसमा प्रवेश गरेको बताएका हुन्। फेसबुकमा करिब २ मिनेटको भिडिओ सार्वजनिक गर्दै झाले आफू कांग्रेसमा आवद्ध भएको बताएका छन्।

वीपी स्मृति दिवसको अवसर पारेर कांग्रेससँग जोडिएको औपचारिक घोषणा गरेका झा १५ वर्षदेखि वीरगंजलाई मुख्य थलो बनाएर विभिन्न सामाजिक अभियानमा संलग्न छन्। सामुदायिक संस्था सानो पाइलाको संस्थापकसमेत रहेका झा समाजिक विकृति विरुद्ध खरो रुपमा उत्रेका थिए। सोही कारण समुदाय स्तरमा पनि उनको राम्रो प्रभाव छ।

सामुदायिक हित र उत्थानका लागि लागिपरेका झा यसअघि कुनै पनि पार्टीमा खुलेका थिएनन्।  ‘हामीबीचको विश्वासलाई उपलब्धिपूर्ण उँचाइमा पुर्‍याउन जननायक वीपी कोइराला स्मृति दिवसको विशेष दिनमा नेपाली कांग्रेसमार्फत नयाँ यात्रा थालनी गरेको छु,’ भिडियोमा उनले भनेका छन्।

वीरगंज महानगरमा केन्द्रीत रहेर सामुदायिक सशक्तिकरण अभियानको अगुवाई गरिरहेका झा वीरगञ्जवासीका समस्या र चाहनाबारे जानकार छन्। कुलतमा फसेका युवा, बेचबिखनमा परेका चेलिबेटि, भूकम्प पिडित, अभिभावकविहीन बालबालिका संरक्षण, कोभिड, बाढी पीडितलगायतका प्राकृतिक विपद्मा तथा अप्ठेरोमा परेको समुदायसम्म तत्कालै पुगेर समस्या सम्बोधन गर्न सक्ने खुबीले झा, अरूहरूलाई चाँडो प्रभाव जमाउन सकेका छन्।

समाजसेवाको यात्रामा झाले सञ्चारकर्मलाई पनि प्रमुख माध्यम बनाउँदै आएका छन्। अलजजीरा, सीजीटीएन लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको अनुभव बटुलेका झाले काठमाडौंबाट प्रकाशित हुने पत्रिकाहरूमा समसामयिक विषयहरूमा स्तम्भ लेख्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell