१२ वर्षीया सिरियन टेबलटेनिस खेलाडी हेन्ड जाजाले टोकियो ओलम्पिककी सबैभन्दा कान्छी प्रतिस्पर्धीका रुपमा सहभागिता जनाउँदै छिन्। सन् २०२० को फेब्रुअरीमा जोर्डनमा सम्पन्न वेस्टन एसिया ओलम्पिक क्वालिफाइङमा पाँच मध्ये चार खेलमा जित निकाल्दै उनी ११ वर्षमो उमेरमा ओलम्पिकका लागि क्वालिफाइ भएकी थिइन्। टोकियो ओलम्पिकमा उनले टेबलटेनिस महिला सिंगलतर्फ प्रतिस्पर्धा गर्नेछिन्।
इन्टरनेशनल टेबलटेनिस फेडेरेसनका अनुसार उनको जन्म २००९ जनवरी १ मा भएको हो। उनी टेबलटेनिसको वरीयतामा १५५ औं स्थानमा छिन्।
'हाम्री च्याम्पियन हेन्डलाई टोकियो ओलम्पिकका लागि शुभकामना,' सिरियन ओलम्पिक कमिटीले आफ्नो फेसबुक पेजमा लेखेको छ।जाजा ५२ वर्षपछि ओलम्पिकमा प्रतिस्पर्धा गर्ने सबैभन्दा कम उमेरकी खेलाडी हुन्। यसअघि सन् १९६८ को विन्टर ओलम्पिकमा ११ वर्षको उमेरमा बिएट्रिस हुस्तिउले स्केटिङमा प्रतिस्पर्धा गरेकी थिइन्।
टोकियो ओलम्पिकमा जाजा बाहेक अर्की 'प्रि टीन' खेलाडी हुनेछिन् ब्रिटेनकी स्काइ ब्राउन। १२ वर्षे उनी ब्रिटेनको टिमबाट स्केट बोर्डिङमा प्रतिस्पर्धा गर्नेछिन्।
ओलम्पिकमा सबैभन्दा युवा खेलाडीका रुपमा ग्रीक खेलाडी डिमिट्रिओस लउन्ड्रु रहेका छन्। सन् १८९६ मा उनले १० वर्षको उमेरमा ओलम्पिकमा सहभागिता जनाउँदै कास्य पदक जितेका थिए।
यसअघि रियो ओलम्पिकमा नेपालकी पौडीबाज गौरीका सिंह प्रतियोगिताकै युवा खेलाडी थिइन्। त्यतिबेला उनी १३ वर्ष २ सय २५५ दिनकी थिइन्।