जब ओलम्पिकमा सिनियर खेलाडीको चर्चा आउन थाल्छ, टोकियो पुगेका अस्ट्रेलियाकी म्यारी हान्ना, अमेरिकाकी कार्ली लोयड लगायतका खेलाडीले प्रमाणित गर्दिन्छन्: एज इज जस्ट अ नम्बर।
अमेरिकी फुटबलर कार्ली लोयडको उमेरलाई लिएर विभिन्न चर्चा चल्ने गर्छ। अहिले ३९ वर्षे उनी टोकियो पुगेकी छिन् ओलम्पिक खेल्नका लागि। तर उनी जारी ओलम्पिककी सिनियर खेलाडी होइनन्। न त टोकियोमा फुटबल खेल्ने खेलाडी मध्येमा नै।
हिजो सम्पन्न महिला फुटबलतर्फको खेलमा ब्राजिलले चीनलाई ५-० ले हराउँदा चर्चामा रहिन् ब्राजिलकी लेजेन्ड मार्टा र फरमिङ्गा।ओलम्पिकको महिला फुटबलतर्फ उद्घाटन गोल गर्ने खेलाडी बनिन् ३५ वर्षे मार्टा। १११ अन्तर्राष्ट्रिय गोल गरिसकेकी मार्टा ६ पटकसम्मको फिफा विश्व खेलाडी बनिसकेकी छिन्। चीनविरुद्ध नवौ मिनेटमै उद्घाटन गोल गरेकी उनले ७४ औं मिनेटमा अर्को गोल पनि थप्न भ्याइन्। त्यही खेलमा ब्राजिलकै टिममा थिइन् फर्मिङ्गा। ब्राजिलका लागि २०१ क्याप जितिसकेकी उनले उक्त खेल खेलमा ७२ मिनेट खेलेसँगै ७ पटक ओलम्पिक खेल्ने पहिलो महिला खेलाडी बनिन्।
ओलम्पिकमा पाको खेलाडीको इतिहास पल्टाउँदा नाम भेटिन्छ स्वीडिस सुटर ओस्कर स्वहनको। ७२ वर्ष २८० दिनको उमेरमा उनले सन् १९२० को ओलम्पिकमा सहभागिता जनाउँदै रजत पदक जितेका थिए।
टोकियो ओलम्पिकमा सहभागिता जनाउने खेलाडी मध्येमा सबैभन्दा पाको उमेरकी खेलाडी हुन् म्यारी हन्ना। ६६ वर्षे अस्ट्रेलियन घोडसवार उनले यो सहित सातौ पटक ओलम्पिकमा सहभागिता जनाउने छिन्। त्यसबाहेक तीन पटक स्वर्ण पदक जितिसकेका अस्ट्रेलियाकै घोडसवार एन्ड्र्यु होए ६२ को उमेरमा ओलम्पिकमा सहभागिता जनाउँदैछन्।
