PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

मन्त्रालय बिच नै छैन समन्वय : जोखिम बढ्यो भन्दै स्वास्थ्यले 'बेड तयार गर्नु' भन्दा गृहको परिपत्र - 'चलाउ लामो दुरीका गाडी'



पहिलोपोस्ट

मन्त्रालय बिच नै छैन समन्वय : जोखिम बढ्यो भन्दै स्वास्थ्यले 'बेड तयार गर्नु' भन्दा गृहको परिपत्र - 'चलाउ लामो दुरीका गाडी'

काठमाडौं : अन्तर मन्त्रालय समन्वय नहुँदा कोभिड १९ को तेस्रो लहरले नराम्ररी प्रभाव पार्ने सम्भावना बलियो बन्दै गएको छ। गृह मन्त्रालयको सर्कुलर र स्वास्थ्य मन्त्रालयको चेतावनी परस्पर बाझिनेगरी सार्वजनिक भएको छ। गृह मन्त्रालयले निषेधाज्ञा थप खुकुलो बनाउँदै लामो र मध्यम दुरीका यातायात निर्वाध सञ्चालनको लागि निर्देशन जारी गरिरहँदा स्वास्थ्य मन्त्रालयले भनिरहेको छ - 'यो महामारीमा भाइरस विरुद्धको युद्ध कुनै व्यक्ति, निकायको एक्लैको युद्ध होइन।'

आज मात्र स्वास्थ्य मन्त्रालयले गएको साता कोरोना भाइरस संक्रमण दर बढेको भन्दै सचेत हुन आह्वान गरेको छ। १० जिल्लामा ५ सयभन्दा धेरै संक्रमित रहेको र २ सय भन्दा बढी संक्रमित हुने जिल्ला २६ पुगेको भन्दै जनस्वास्थ्य मापदण्ड पालना गर्न गराउन मन्त्रालयले आग्रह गरेको हो।

मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलाली जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सयभन्दा धेरै छ। साथै, मन्त्रालयले अघिल्लो साताभन्दा संक्रमित संख्या २ सयभन्दा धेरै हुने जिल्ला एकाएक थपिएको जनाएको छ।

'संक्रमणको बढ्दो अवस्थाले चुनौतीपूर्ण तेस्रो लहर आउन सक्नेतर्फ मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थाहरुको अक्सिजन, शय्या लगायतका पूर्वाधारहरु तथा सेवाहरु चुस्त दुरुस्त राख्न हुनसमेत अनुरोध छ,' मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

विज्ञप्तिमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न गराउन अनुरोध भए पनि गृह मन्त्रालयले भने सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै मध्यम तथा लामो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्न सहजिकरण गर्न/गराउन निर्देशन दिएको छ।

गृहको परिपत्रअनुसार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले यातायात सञ्चालन गर्न सहजिकरण गर्न निर्देशन दिइसकेका छन्।

निषेधाज्ञा सहज बनाइए पनि अहिलेसम्म लामो र मध्यम दुरीका सार्वजनिक यातायातमा रोक लगाइएको छ। अब ती सबै खुला हुने अवस्थामा पुगेका छन्।

साथै त्रिभुवन विश्वविद्यालयले विभिन्न तहका परीक्षाहरु भौतिक रुपमा नै संचालन गर्नेगरी परीक्षाका कार्यक्रमहरु अगाडि सारी सकेको छ भने लोकसेवा आयोगले पनि विभिन्न परीक्षाहरु भौतिक उपस्थितिमै गराउने तयारी गरिसकेको छ।

स्वास्थ्य मन्त्रालयले संक्रमण बढेको भन्दै सचेत गराइरहँदा गृह मन्त्रालय भने यातायात सहज बनाउने तयारीमा अग्रसर देखिन्छ। अन्तर मन्त्रालय समन्वयको चर्को असर कोभिड १९ को तेस्रो लहरका रुपमा भित्रने सम्भावना देखिन्छ।

यता स्वास्थ्य मन्त्रालयले भनेको छ - 'हाल निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी, लुकिछिपी वा खुल्लमखुल्ला जनस्वास्थ्यका मापदण्डहरुको उल्लंघन भइरहेको देखिन्छ। विगत एक हप्तामा संक्रमित हुने दर बढ्दो क्रममा छ।'

यता गृह मन्त्रालयका सूचना अधिकारी खुमकान्त आचार्यले भने दुई दिनमा मध्यम र लामो दुरीका सार्वजनिक यातायात सहजै चल्ने जानकारी दिए। 'हामीले पत्र पठाइसकेका छौं। जिल्लाले अब थप सूचना निकालेर सार्वजनिक सवारी सञ्चालन गर्न सहजिकरण गर्नेछ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell