काठमाडौं : सरकारी निवास बालुवाटारमा पार्टीका गतिविधि नगर्ने निर्णय नेपाली कांग्रेसले गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका हरेक गतिविधि बालुवाटारबाटै संचालन गर्दै आएको परम्परालाई नेपाली कांग्रेसले तोड्ने निर्णय गरेको हो।
प्रधानमन्त्री कार्यालय समेत खासै नगई ओलीले सरकार, पार्टी र गुटको गतिविधि पनि सरकारी निवासमै गरेकोमा चर्को आलोचना हुँदै आएको थियो।
'विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने,' नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले ट्विट गर्दै भनेका छन्।
पार्टीका गतिविधि सरकारी निवासमा भएकोमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका नेताले पनि आलोचना गर्दै आएका थिए। नेपाल नेतृत्वको नेकपा एमालेले ओलीसँग पटकपटक बालुवाटारमा बैठक नबस्ने अडान पनि लिएको थियो। बालुवाटारलाई गुट भेला गर्ने ठाउँको संज्ञा दिँदै नेपालले आपत्ती जनाएपछि वाध्य भएर पार्टीको स्थायी कमिटी बैठक धुम्बाराही स्थित पार्टी मुख्यालयमा भएको थियो। तर, त्यसले निरन्तरता भने पाएन।
यता नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै सरकारी निवासलाई पार्टी कार्यालयका रुपमा प्रयोग नगर्न आग्रह गरेका थिए।
कांग्रेसको भोलि पदाधिकारी र पूर्व पधाधिकारीको बैठक बस्दैछ। पार्टी कार्यालय सानेपमा क्रियाशील सदस्यताको विषयलाई लिएर अनशनको कार्यक्रम चलिरहेकाले बैठक प्रधानमन्त्री देउवाको निवास बुढानीलकण्ठमा बस्ने भएको छ। यसअघि पार्टीको बैठक एकपटक बालुवाटारमा नै बसेको थियो त्यसलाई लिएर सबैतिरबाट आलोचना भएको थियो। प्रधानमन्त्री देउवाले सानेपामा अनशन चलिरहेकाले जान नसक्दा बैठक बसेको तथा आगामी दिनमा त्यसरी सरकारी निवासमा बैठक नबस्ने जनाएका थिए।
'सोही निर्णयको कार्यान्वयन प्रारम्भ गर्दै भोलि साउन ८ गतेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बुढानीलकण्ठमा बस्दै,' महामन्त्री खड्काले लेखेका छन्।
बिगतकाे गलत परम्परालाई ताेड्दै अब देखि नेपाली काँग्रेस पार्टीकाे अाैपचारिक बैठकहरु प्रधानमन्त्रीकाे सरकारि निवास बालुवाटारमा नगरिने🌳
— Purna Bahadur Khadka (@NCPurnaKhadka) July 22, 2021
स्वहि निर्णयकाे कार्यान्वयनकाे प्रारम्भ गर्दै भाेलि साउन ८ गतेकाे पार्टी पदाधिकारि र पूर्ब-पदाधिकारिकाे बैठक ,
बुढानिलकण्ठमा बस्दै🌳 pic.twitter.com/XCyF93ZFDP