PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

पाँच वर्ष यता अमेरिकी कूटनीतिज्ञलाई मात्र देखिने ‘हवाना सिन्ड्रोम’ के हो? ओसामा विन लादेन मार्ने गुप्तचर अधिकारीले गर्दैछन् अनुसन्धान



विधुर ढकाल

पाँच वर्ष यता अमेरिकी कूटनीतिज्ञलाई मात्र देखिने ‘हवाना सिन्ड्रोम’ के हो? ओसामा विन लादेन मार्ने गुप्तचर अधिकारीले गर्दैछन् अनुसन्धान

अमेरिकी कूटनीतिज्ञ, गुप्तचर र अन्य कर्मचारीको स्वास्थ्यमा असर पारिरहेको रहस्यमयी ‘हवाना सिन्ड्रोम’ ले विश्वभर सनसनी मच्चाइरहेको छ। यसबारेको नयाँ रिपोर्टले मध्य एसियामा भएका घटनाहरुमाथि संदेश प्रकट गरेको छ। 

गत जुलाई २० मा एनबीसीले एक रिपोर्ट प्रकाशित गर्दै किर्गिस्तानमा एकभन्दा बढी अमेरिकीमा यसको लक्षण देखा परेको र जसमा एक बच्चसमेत रहेको उल्लेख छ।

त्यसको एक दिनपछि उज्बेकिस्तानमा पनि अमेरिकी अधिकारीमा यस्तै लक्षण देखा परेको रिपोर्ट प्रकाशित भयो। अमेरिकी सरकारको सार्वजनिक अथवा क्लासिफाइड डकुमेन्टमा यस्तो लक्षण क्युवा, अष्ट्रिया, चीन, उज्वेकिस्तान, रुस र अमेरिकामा रहेका अमेरिकी कूटनीतिज्ञहरु, गुप्तचर अधिकारी तथा अन्य सरकारी अधिकारीहरुमा देखिएको छ।

जो बाइडेनले अमेरिकी प्रशासन सम्हालेयता यस्तो संक्रमण दुई दर्जन बढीमा देखिएको छ।

यसैबीच, वासिङटनले यसको छानविन गर्नका लागि सीआईएका वरिष्ठ अधिकारीलाई जिम्मेवारी दिएको छ। अलकायदाका प्रमुख ओसामा विन लादेनलाई मार्न महत्त्वपूर्ण नेतृत्व गरेका सीआईएका गुप्तचर जासुसलाई हवाना सिन्ड्रोमको अध्ययन गर्ने सीआईए टास्क फर्सको जिम्मेवारी दिइएको वालस्ट्रिट जर्नलले जनाएको छ।

उनको यो टोलीले वर्तमान तथा पूर्व अमेरिकी कूटनीतिज्ञहरुमा देखा परेको रहस्यमयी स्वास्थ्य समस्याको बारेमा अध्ययन गरेर बुझाउने छ।

विदेशस्थित अमेरिकी कूटनीतिक नियोगमा कार्यरत कूटनीतिज्ञ, गुप्तचर अधिकारी तथा अन्य कर्मचारीहरुमा विगत पाँच वर्ष देखि यस्तो समस्या देखिँदै आएको छ। पहिलो पटक यो लक्षण क्युवाको हवानास्थित अमेरिकी दूतावासका अधिकारीमा सन् २०१६ मा देखिएको थियो। त्यसैले यसलाई ‘हवाना सिन्ड्रोम’ भनिँदै आएको छ।

सन् २०१६ को डिसेम्बर देखि अर्को वर्ष २०१७ को अप्रिलसम्‍म अमेरिकी अधिकारीहरुलाई यस्तो लक्षण देखिएको थियो।

सीआईएको टास्क फोर्सले ‘हवाना सिन्ड्रोम’को स्रोत पहिचान गर्दै प्रभावित अधिकारीहरुको उपचारलाई प्राथमिकतामा राखेको बताइएको छ।

हालका तथा पूर्व गुप्तचर अधिकारीहरुले यस संक्रमणको पछाडि रुसको हात रहेको दाबी गर्दै आएका छन्। सीआईएको टास्क फोर्सका प्रमुखलाई अझैं पनि गोप्य राखिएको छ। हालसम्म २०० बढी अमेरिकी अधिकारी तथा उनीहरुका परिवारमा यस्तो लक्षण देखिएको छ। जसमध्ये दुई दर्जन बढी अष्ट्रियाको भियन्नामा रिपोर्ट भएका छन्। सुरुमा हवानामा देखिएको यो लक्षण हालसम्म चीन र रुस हुँदै युरोपका विभिन्न राजधानी तथा मध्य एसियामा पनि देखिएको पहिलोपटक न्यूयोर्करले रिपोर्ट गरेको थियो। जसमध्ये एक जनालाई गम्भीर रहेको भन्दै घर पठाइएको बताइएको छ। भियना ‘हवाना सिन्ड्रोम’को नयाँ हटस्पट बन्दै गर्दा अमेरिकी तथा पश्चिमा चासो बढ्दै गएको छ।

के हो हवाना सिन्ड्रोम?

सन् २०१६ को अन्त्यदेखि अमेरिकी अधिकारीहरुमा देखापरेको रहस्यमयी स्वास्थ्य समस्याको बारेमा अझै ठोस अध्ययन हुन सकेको छैन। सन् २०१८ मा जेएएमए जर्नलमा एक रिपोर्ट प्रकाशित छ जसमा अमेरिकी कूटनीतिज्ञहरुमा ‘ब्रेन इन्जुरी’का केही प्रमाण फेला परे पनि यसको कारण भने उल्लेख छैन।

हालसम्म यस समस्याको विषयमा विज्ञहरुको एकमत छैन। जेएएमएको अध्ययनका एक अध्यताले माइक्रोवेब वेपन यसको प्रमुख संधिग्द हुन सक्ने बताएका थिए। गत वर्ष डिसेम्बरमा अमेरिकी नेशनल एकेडेमी अफ साइन्स, इन्जिनियरिङ एण्ड मेडिसिन को विज्ञ कमिटीले यसको कारण माइक्रवेब इनर्जी भएको निष्कर्ष निकालेको थियो।

अमेरिकी गुप्तचर संस्था भने यस विषयमा निष्कर्षमा पुगिसकेको छैन। यद्यपि, दुई अमेरिकी प्रशासनका गुप्तचर अधिकारीले रुसी गुप्तचरलाई यसको जिम्मेवारी ठहर्‍याएका छन्।

पहिलो पटक बाराक ओवामा प्रशासनले हवानामा दुई देशबिचको सम्बन्ध सुधारका लागि पठाइएका कूटनीतिज्ञमा समस्या देखिएको थियो। दशक लामो कूटनीतिक टकरावपछि सम्बन्ध सुधारका लागि ओवामा प्रशासनले हवानामा दूतावास खोलेको थियो।

अमेरिकी कूटनीतिज्ञका अलावा क्यानडाका कूटनीतिज्ञमा समेत यसको लक्षण देखिएको थियो। यसको संक्रमणका कारण एक अमेरिकी अधिकारीले श्रवण शक्ति गुमाएका छन्। अहिले उनलाई श्रवण सहायता आवश्यक रहेको छ।

संक्रमित अमेरिकी अधिकारीहरुले भाइब्रेसन सहितको आवाज सुनेका थिए। २० देखि ३० सेकेन्ड यस्तो ध्वनी सुनेको उनीहरुले जनाएका छन्। ती कूटनीतिज्ञहरु घरमा हुँदा, होटलमा हुँदा अथवा परिवारसँग हुँदा यस्ता आवाज सुन्ने गरेका थिए। तर, उनीहरुसँगै रहेका अन्य व्यक्तिले भने त्यस्तोखाले आवाज नसुनेको बताइएको छ।

यसरी ‘हवाना सिन्ड्रोम’को आक्रमणमा परेका कूटनीतिज्ञहरुले श्रवण शक्ति, स्मरण शक्ति गुमाउनुका साथै वाकवाकी लाग्ने गरेको थियो। त्यस्तै, कूटनीतिज्ञहरुमा दिमागी असन्तुलन समेत देखिएको थियो। त्यस्तै, चक्कर आउने, शारीरिक सन्तुलन गुमाउने, चिन्ता बढ्ने लगायतका लक्षण देखिएको थियो।

घटनापछि क्यानडाले पनि क्युवामा रहेको दूतावासबाट आफ्ना कर्मचारी कटौती गरेको थियो। क्यानडाले १४ जना आफ्ना नागरिकमा हवाना लक्षण देखिएको जनाएको थियो।

यसको कारणबारे अझै अध्ययन जारी छ। कतिपय अध्ययनले माइक्रोवेब, कतिले अल्ट्रासोनिक सिग्नल, कतिले किटनाशक तथा अन्य संक्रामक तत्वहरुलाई दोष दिएका छन्। त्यस्तै, यसलाई कतिले साइकोजेनिक अथवा साइकोसोमाटिक कारणलाई जिम्मेवार ठहराउँदै आएका छन्।

अन्य कहाँ कहाँ देखियो हवाना सिन्ड्रोम?

हवाना सिन्ड्रोको जस्तै संक्रमण २०१८ मा चीनको क्वान्चोउमा रहेको अमेरिकी कन्सुलेटका अधिकारीहरुमा देखिएको थियो। पहिलो पटक अमेरिकी कन्सुलेटका अधिकारीले हवान सिन्ड्रोमको लक्षण देखिएको रिपोर्ट अप्रिलमा भएको थियो। तर, त्यहाँका अधिकारीहरुले २०१७ को अन्त्यतिरैबाट यस्तो समस्या देखा परेको बताएका थिए।

त्यसअघि उज्वेकिस्तानको तासकेन्टमा रहेको अमेरिकी दूतावासका युएसएडका कर्मचारीमा यस्तो समस्या देखिएको थियो।

२०१८ मा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले क्वान्चोउमा देखिएको लक्षण हवाना लक्षणसँग मिल्दो भएको भन्दै उनमा माइल्ड ब्रेन इन्जुरी देखिएको बताएका थिए।

२०१८ जुनमा अमेरिकाले त्यहाँका आफ्ना अधिकारीलाई उद्दार गरेको थियो। साथै उनीहरुलाई मास हिस्टेरीयासम्मको लक्षण देखिएको बताइएको थियो। त्यस्तै, २०१९ मा यस्तै लक्षण ह्वाइट हाउसका एक अधिकारीमा देखा परेको थियो। यस घटनालाई भने २०२० मा मात्र सार्वजनिक गरिएको थियो।

हालसम्म यस्तो आक्रमणबाट १३० बढी अधिकारीहरु निसानामा परेका छन्। जसमध्ये ५० को हाराहारीमा सीआईएका अधिकारी रहेका छन्। त्यस्तै, रसियाको मस्को, पोल्याण्ड, जर्जिया, ताइवान, अस्ट्रेलियामा यस्तो समस्या देखा परेको छ।

त्यस्तै, कोलम्बिया, किर्गिस्तान, उज्वेकिस्तान र अष्ट्रिया लगायतका देशमा रहेका अमेरिकी कूटनीतिज्ञहरुमा मोबाइल ट्र्याकिङ डिभाइस मार्फत् आक्रमण भएको आरोप अमेरिकाले लगाउँदै आएको छ। तर, रुसी अधिकारी तथा क्युवाका अधिकारीहरुले यसलाई अस्वीकार गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell