PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

कृष्णले गाउँदा दर्शकको प्रतिक्रिया, 'कस्तो गायकले जस्तै गाएको?' : कोरोनाकालमै ४० गीत



लक्ष्मी बलायर

कृष्णले गाउँदा दर्शकको प्रतिक्रिया, 'कस्तो गायकले जस्तै गाएको?' : कोरोनाकालमै ४० गीत

कोरोना महामारीसँगै धेरै कलाकार फूर्सद्मा बस्नुपर्यो। कतिको काम रोकिए। कतिले नयाँ काम नपाउँदा पलायनसमेत हुनुपर्‍यो।

२०७६ चैततिर कोरोना संक्रमण बढ्दै जाँन थालेपछि एक एक गरी फिल्म हल बन्द भए। कहिले लकडाउन त कहिले निषेधाज्ञा।

प्लेब्याक सिंगरका रुपमा चिनिएका कृष्ण काफ्लेका लागि यो खबर सुखद् थिएन। अझ पहिलो लहरमै कोरोनाले च्याप्यो उनलाई।

त्यसपछि उनी थुनिए कोठा आइसोलेसनमा। त्रास र सकसका बीच कोरोनामुक्त भए। आफू कोरोनामुक्त भएपनि देशभर संक्रमण दर भने बढ्दो थियो। फिल्म हल नखुल्दा फिल्मी क्षेत्र धरासयी बन्दै थियो। प्रदर्शन गर्नुपर्ने हल नखुलेपछि फिल्म सुटिङ हुने कुरा पनि भएन। फिल्म नै नबन्ने भएपछि त्यसलाई चाहिने गीत रेकर्डको त परको कुरा भयो।

यस्तो अवस्थामा किताब पढ्ने र पुराना फिल्महरु हेर्दै दिन कटाउन थाले। गायनमै व्यस्त रहने उनले आफूलाई इन्गेज राख्ने अनेकन उपाय खोजे पनि।

केही समयपछि लकडाउन खुकुलो हुनथाल्यो। यही बीचमा उनले लाइनमा रहेका कामहरु थाले। ‘लकडाउन हुनुअघि नै केही गीतहरूको अफर आएको थियो। लकडाउन खुकुलो भएसँगै केही नयाँ गीतहरुको पनि अफर पनि आउन थाल्यो,’ कृष्णले भने।

गीत रेकर्ड गर्न उनी मध्य बानेश्वरबाट अनामनगरसम्म धाउन थाले। एकपछि अर्को गीतमा उनी स्वर भर्न थाले।

आधुनिकदेखि ड्वेट गीतहरुमा पहिले झैं खोजी शुरु भयो यही संक्रमणकालमा।

कोरोना आएको डेढ वर्षको अवधिमा उनले ४० भन्दा बढी गीतमा स्वर भरिसकेका छन्। 'मैलै बोलेको छैन ढाँटेर' र 'चाखुम चाखुम' गीत सार्वाधिक मन पराएका छन्।

'तितो सत्य' बाट कलायात्रा

कृष्णको पुर्ख्यौली घर हो स्याङ्जा। परिवार नै नवलपरासी बसाई सरेपछि कृष्णको बाल्यकाल यतै बित्यो। सानैदेखि गीत गाउने उनी विद्यालय तथा जिल्लास्तरीय गायन प्रतियोगिता भाग लिन्थे।

एकताका बुवाको पैसा चोरेर भागेर भारत पुगेका रहेछन् कृष्ण। ‘बुवाको २० हजार रुपैयाँ चोरेर भारत पसेको थिएँ,’ कृष्ण सम्झन्छन्, ‘लहैलहैमा भारतका सहरहरु घुमे।’ बुवालाई देखाउन भनी चोरेर लगेको पैसामाथि अर्को चोरी आइलागेछ। ‘भारतमा काम लगाउँछु भन्ने साथीले पैसा चोरेर भागेपछि म विचल्लीमा परें,’ उनी सम्झन्छन्।

हातमा केही सीप थिएन। त्यसपछि भाडा माझ्नेदेखि वेटर भएर काम गरे। दुई वर्ष भारत बसेपछि उनी नेपाल फर्के।

दुई/तीन वर्ष पढाई ग्याप भइसकेको थियो। पुन: सुरु गरे। भारतमा पाएको धोकाबाट पाठ सिकेका उनी कसरी ठुलो मान्छे बन्ने होला भनेर घोत्लिन थाले। शब्दहरु कोर्ने थाले। एसएलसी दिएपछि उनी काठमाडौं हानिए।

१५ वर्षअघिको कुरा जतिखेर हाँस्य टेलिसिरियल ‘तितो सत्य’ निकै चर्चामा थियो। कलाकार निर्मल शर्मासँग राम्रै चिनजान थियो कृष्णको। 'दाइ मलाई टेलिभिजनमा देखिन मन छ?’ निर्मललाई सोधेछन्।

‘हुन्छ,’ निर्मलको जवाफ आएपछि कृष्ण निकै खुसी भए। नेपाल टेलिभिजन अनि 'तितो सत्य' बाट देखिनु कम्तीको कुरा थिएन। विना पारिश्रमिक झलकझुलुक भूमिकामा देखिन थाले।

गाउँ फर्कँदा चर्चा चलिसकेछ - कृष्ण तितोसत्यमा खेल्छन्। 'छोटो भूमिका निभाए पनि गाउँ फर्कदा त तितोसत्यमा दीपकदीपासँग काम गरेको भनेर छुट्टै सान हुँदो रहेछ।' काठमाडौं आउजाउ चलिरह्यो।

विसं २०६४ पछि भने उनी संगीतमै करियर बनाउने गरी काठमाडौं बस्न थाले। राष्ट्रिय स्तरमा चिनिनु थियो उनलाई। जगिर गर्दै आफ्नो लक्ष्यतिर अघि बढ्न थाले।

पछि गायनमा जागिरले अप्ठेरो पर्न थाल्यो। कामले सांगीतिक माहोलबाट टाढा भएको महसुस गर्न थाले। संगीतलाई नै बढी समय दिनुपर्छ भन्ने लागेर उनले जागिर छाडे। श्री संगीत पाठशालामा गुरु चण्डिप्रसाद काफ्लेसँग संगीत सिके।

‘तिम्रो पिक्चर हिट’ बाट हिट, देखन चम्पा टर्निङ प्वाइन्ट

'आँशुमा डुबाउन्न भन्थ्यौं' बोलको पहिलो गीत ल्याए २०६५ सालमा। उनी गीत पनि लेख्थे, संगीत पनि भर्थे। कृष्णको शब्द र संगीतमा मनोजराजले 'चोट दिने माया' गीत गाएका थिए। सांगीतिक क्षेत्रमा कृष्णको क्रमश: खोजी हुँदै गयो। सिआरबिटी, पिआरबिटीको समय थियो। उनका गीतहरु टेलिभिजनमा प्रोमो बज्न थाले।

२०६७ सालतिर दयाराम दाहालको फिल्म 'दबाब' मा ‘तिम्रो पावरफूल वैशको झड्काले’ बोलको गीत गाए। 'लभ यु बाबा’को टाइटल गीतसमेत गाएका छन् कृष्णले। जुन फिल्मले विश्वको कान्छो निर्देशन बनाएको फिल्म भनेर गिनिज बुकमा वर्ल्ड रेकर्ड राख्न सफल छ।

गीतसंगीतमा राम्रै अनुभव बटुलिरहेका थिए। पाँच/छ वर्ष बितेपछि भने उनलाई संगीतमा लागेर पछुतो लाग्न थाल्यो। संख्यात्मक हिसाबले उनले डेढ सय गीत निकालिसकेका थिए।

भन्छन्, 'न सोचेको जस्तो हिट गीत दिन सके, न टन्न पैसा नै कमाउन सके। संगीतले जीवन धान्न मुस्किल हुँदो रहेछ भन्ने महशुस हुन थाल्यो। घरबाट पनि विदेश जान दबाव आउन थाल्यो। तर आश भने मारिनँ।'

निर्माता छविराज ओझाले उनलाई फिल्म ‘किस्मत २’ मा गीत गाउन अफर गरे। ‘तिम्रो पिक्चर हिट’ बोलको गीतले निकै चर्चा बटुल्यो। जुन सहकार्यले उनको जीवनको ग्राफ नै परिवर्तन भयो। उनको स्टेजमा डिमान्ड हुन थाल्यो। दर्शकको नजरमा पनि पर्न थाले कृष्ण पनि।

जिन्दगीकै टर्निङ प्वाइन्ट बन्यो छक्कापञ्जाको - देखन चम्पा।

'छक्का पञ्जा' फिल्मको छायाँकन समेत सुरू भइसकेको थियो। 'छक्का पञ्जा' टिमले चित्त बुझ्दो गीत नभेटाएको भनी सुने उनले।

दीपक–दीपालाई कृष्णले फोन गरे। आफूसंग एउटा फरक खालको गीत रहेको सुनाए। अनि विकास आचार्यसँगै दीपा उनको गीत सुन्न आए।

शान्ती प्रियले लेखेको गीतलाई कृष्णले गाउन सुरु गरे….

देखन चम्पा, सुनन चम्पा

तमरा त हमरा बाहेक को छ र

हमरा नि तमरा बाहेक को छ र?

'हो यही गीत हो… फिल्मका लागि हामीले खोजेको गीत यही हो,' दीपाको मुहार उज्यालियो।

कृष्ण एकछिन दंग परे। किनकी यसअघि पनि 'देखन चम्पा' बोलको गीत तीन/चार फिल्मबाट रिजेक्ट भइसकेको उनले सुनेका थिए। कारण गीतको भाषा। फेरि त्यतिबेला देउडा गीतहरु त्यति चलेको अवस्था थिएन। अझ फिल्ममा यस्तो गीत राख्नु त परको कुरा।

ठुलो ब्यानरमा जोडिन पाउँदा कृष्ण औधी खुसी भए। 'देखन चम्पा' स्टोरीका लागि बनेको गीत थियो। प्रमोसनमा 'पुर्व पश्चिम रेल' नै प्राथमिकता दिइएको थियो। तर 'देखन चम्पा' गीत रिलिज भएसँगै छुट्टै माहोल बन्यो। 'पूर्वपश्चिम रेल गीत सुनेर फिल्महरु हेर्न जान्थे। तर देखन चम्पाको फ्यान भएर निस्कन्थे,' खुसी सुनिए कृष्ण।

कृष्ण यो गीतले आफूलाई नसोचेको सफलता दिएको बताउँछन्। 'देखन चम्पा' गीतलाई जिवनकै टर्निङ प्वाइन्ट मान्छन् उनी। 'छक्का पञ्जा' टिमले आफूले पाइरहेको भन्दा दोब्बर पारिश्रमिक दिएको भनाई छ उनको।

त्यसपछि उनले फिल्म 'मंगलम' को 'पर्ख पर्ख मायालु' गीत गाए। जुन गीत पनि निकै हिट भयो। गीत हिट भएसँगै उनको देश विदेशमा हुने कार्यक्रममा डिमाण्ड हुन थाल्यो। स्टेजमा एउटै गीतहरु आठ/दश पटकसमेत गाएको सम्झन्छन् उनी। भन्छन् 'मेरो गीतहरु गीतहरू बच्चादेखि बुढासम्मको रोजाईमा पर्छन्। तिनै गीतहरुले गर्दा मेरो तीन वर्षदेखि मेरो एउटै प्रोफाइल छ। ति गीतहरु गाएर नै मैले स्टेजमा कमाउने गर्छु।’

कृष्ण गतवर्ष मात्रै संविधान दिवसका अवसरमा जनसेवाश्री पञ्चमबाट विभूषित भएका थिए।

चर्चाको हिसाबले पनि मानिसहरु गीतलाई हेर्ने उनको तर्क छ। भन्छन् 'मैले गाएका गीतहरु शब्द, ब्यानर र लोकप्रियताको हिसाबले पनि परफेक्ट छन्। युट्युबमा पनि राम्रो भ्युज छ। जसकारण पनि आफ्ना गीतमा केही फरक टेस्ट छ भन्ने महसुस हुन्छ।'

गीत हिट्, नामको चर्चा कम

गीतभन्दा आफ्नो चर्चा कम हुनुमा सो अफ नगर्ने बानी रहेको स्विकार्छन् उनी। जसलाई उनी आफ्नो कमजोरी मान्छन्। फिल्मका गीतहरू शतप्रतिशत मन पराए पनि गायक भने नोटिस नहुने भएकाले आफू चर्चित हुन नसकेको गुनासो छ उनको। फिल्मका गीतहरूको साटो एल्बमको गीत भएको भए आफूलाई क्रेडिट जाने उनको तर्क छ।

कहिले कही त दर्शकले कस्तो गायकको जस्तै सेम गाएको भन्दा रहेछन्।

‘मेरा हिट गीतहरु बढी फिल्मबाट नै छन्। फिल्ममा गीत गाउने जहिले पनि पर्दा पछाडि हुन्छन्। तर म भने आफूलाई भाग्यमानी नै सोच्छु। मलाई कमसेका डिमान्ड त गर्छन्,' उनले भने, 'आफ्नो नामभन्दा गीत बढी चलेकोमा दु:ख भने लागेको छैन। मेरो नामभन्दा गीत चल्दा आखिर मैले नै गाएको गीत त चलेको हो।'

+++

संगीत क्षेत्र प्रतिस्पर्धात्मक छ। आफैँ लगानी गरेर गायक बन्ने चलन बढ्दो छ। यसरी आफैँ लगानी गरेर गायक बन्नेहरुको आयु निकै छोटो हुने बताउँछन् कृष्ण। भन्छन् 'आफैँ लगानी गरे कति दिनसम्म टिक्न सकिन्छ। जब फर्कने बाटो नै छैन भने कतिवटा गीत निकाल्न सकिन्छ र? एक वर्ष चल्दैमा त्यसलाई चर्चित मानिँदैन। चर्चित हुनलाई केही वर्ष साधना गरेर निरन्तर लागेको हुनुपर्छ।'

कोरोना आउनुअघि विभिन्न देशबाट ३५ वटा स्टेजको कार्यक्रमको निम्तो आएको थियो उनलाई। यही स्टेजबाट आएको आम्दानीबाट काठमाडौंमा घर किन्ने सपनासमेत बुनेका थिए। संक्रमणकाल लाग्दा उनको सपना पुरा हुन सकेन। तर पनि आशावादी छन् उनी। गीतसंगीतमा निरन्तर लागिरहेका कृष्णले २५० भन्दा बढी गीतहरूमा स्वर दिइसकेका छन्।

संगीत क्षेत्रमा यसरी छुट्टै पहिचान बनाएर कसरी टिक्न सकिन्छ?

कृष्णको जवाफ रह्यो- साधना र धैर्यता।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell