PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

एमाले विवाद : ओली-नेपालको ध्यान झगडामा, दोस्रो तहका नेता समाधान खोज्दै



प्रकाश भण्डारी

एमाले विवाद : ओली-नेपालको ध्यान झगडामा, दोस्रो तहका नेता समाधान खोज्दै

काठमाडौं : नेकपा (एमाले)को शीर्ष तहमा चर्काचर्की हुँदा दोस्रो तहका नेताहरु संवादमा जुटेका छन्। विवाद समाधानका लागि गठन भएको कार्यदलले १० बुँदे सहमति तयार पारे पनि एमालेको किचलो कम हुन सकेको छैन्। उक्त सहमतिलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक मार्फत अनुमोदन गराउँदा वरिष्ठ नेता माधवकुमार नेपालले असहमति जनाए।

बिहीवार ओलीले 'आममाफी' दिने घोषणा गर्दा पनि नेपाल भने वार्ताका लागि तयार भएका छैनन्। तर, दोस्रो तहका नेताहरु भने फेरि पनि संवादमार्फत विवाद मिलाउन सकिने भन्दै अनौपचारिक भेटवार्तामा जुटिरहेका छन्।

ओलीले यसकारण भने : आममाफी

प्रधानमन्त्री शेरबहादुर देउवालाई साउन ३ गते एमालेका २२ सांसदले विश्वासको मत दिएका थिए। ओली पक्षका ८ र नेपाल पक्षका १४ जना सांसदहरु एमालेको संसदीय दलको निर्देशन विपरित गएका थिए। प्रतिनिधिसभामा साउन ३ गतेको उक्त घटनापछि ओली आक्रोशित हुनुको सट्टा झनै नेपाल समूहप्रति नरम देखिका छन्।

बिहीवार च्यासलमा सम्पन्न भएको केन्द्रीय कमिटीको बैठकले पनि संवादका लागि पहल गर्ने निर्णय गरेको थियो। ओलीले केन्द्रीय कमिटीमार्फत २२ जनालाई कारवाही गर्ने निर्णय गरेर स्पष्टीकरण सोधेको भए पनि ओली कारवाहीबाट भने पछि हटेका छन्। बैठकमा उनी निकट नेताहरुले तत्काल पार्टीबाट निकाल्न माग गरेका थिए। तर, ओली भने नेपाल समूहलाई फकाउने पक्षमा छन्।

एमालेका दोस्रो तहका नेताहरु सुवास नेम्वाङ, भीम रावल लगायतका नेता बिहीवार बिहान ओली निवास बालकोटमा पुगेका थिए। उनीहरुको दबाबका कारण ओलीले बिहीवार  दिउँसो पुष्पलाल स्मृति सभामा 'आममाफी'को घोषणा गरेका थिए। एमाले एकतका लागि दुवै तिरका नेता सक्रिय भएको स्थायी कमिटी सदस्य सुवास नेम्बाङले बताए।

'हामी दुबै तिरका थुप्रै नेताहरु लागिरहेका छौ। हिजो बिहानै बालकोटमा संवाद भएको थियो। माधव कमरेडसँगका साथीहरु पनि लगातार उहासँग कुराकानी गरिरहनुभएको छ,' उनले भने।

हुनै लागेको कारवाही रोकियो

'फ्लोर क्रस' गर्ने २२ जनालाई ओलीले अदालतको फैसला छल्दै स्पष्टीकरण सोधेका थिए। अदालतले संविधानको धारा ७६ (५)अनुसारको प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा कारवाही नहुने निर्देशन दिएको थियो। स्पष्टीकरणमा ओलीले आफूले प्रधानमन्त्री हुँदा वैशाख २७ गते अनुपस्थित भएको र समानान्तर गतिविधि गरेको भन्दै बुधवार २४ घण्टे अल्टिमेटम सहिमतको पत्र पठाएका थिए। तर सहमतिका लागि पहल हुनथाले पछि भने कारवाहीको प्रक्रिया रोकिएको छ। बिहीवार नेपाल पक्षका सांसदरुहले जवाफ लेखेर ठिक्क पारेको पत्र ओलीलाई बुझाएका छैनन्। नेम्बाङले अब कारवाही नहुने ओलीले घोषणा गरेकाले जवाफ दिनु नपरेको बताए।

'अध्यक्षले कारवाही नहुने भन्नुभएको हो। त्यसो भएपछि जवाफ दिइरहुनपरेन,' उनले भने।

दोस्रो अध्यक्षको प्रस्तावले गरेन काम

ओलीले बुधवारको केन्द्रीय कमिटीको बैठकमा नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार रहेको बताएका थिए। तर, उक्त प्रस्ताव नयाँ नभएर पुरानो भएको एमाले विवाद समाधानका लागि संवादमा सक्रिय नेताहरुले बताएका छन्। उनीहरुका अनुसार नेपालले ओलीको उक्त प्रस्तावमा असहमति जनाएका थिए। बिहीवार पनि नेता नेपालले अपमान सहरे पार्टीमा बस्न नसकिने बताएका थिए। पुष्पलाल स्मृतिका अवसरमा कीर्तिपुरको चम्पादेवीमा आयोजित कार्यक्रममा ओलीको प्रस्तावको अर्थ नभएको नेपालको भनाई थियो।

नेपाललाई विपक्षी गठबन्धनबाट अलग गर्न ओलीले आफू सम्झौता गर्न तयार भएको सन्देश दिइरहेका छन्। तर, नेपाल भने ओलीको प्रस्तावप्रति इच्छुक देखिँदैन।

ओली नेपालको भेट गराउन कसरत

बिहीवार दुवै पक्षका दोस्रो तहका नेताहरुले ओली र नेपालबिच एक्ला एक्लै संवाद गराउन पहल गरेका थिए। तर, नेपालले सहमतिको वातावरण नबनेको भन्दै ओली पक्षको भेटको निम्तोलाई अस्वीकार गरे।

ओली पक्षबाट भेट हुन लागेको भन्दै चर्चा हुनथालेपछि नेपालको सचिवालयले साँझ खण्डन गरेको थियो। भेटको लागि समय तय नभएको नेपालको सचिवालयले बताएको थियो। नेम्बाङका अनुसार शुक्रवार पनि दोस्रो तहका नेताहरु ओली-नेपालको भेट गराउन गृहकार्यमा छन्। तर, नेपाल अझै सकारात्मक भइनसकेकाले भेट निश्चित भएको छैन्। यसअघिका ओली नेपालका भेट पनि दोस्रो तहका नेताहरुको पहलका कारण सम्भव भएका थिए।

१० बुँदे पछि पनि बल्झियो विवाद

कार्यदलका नेताहरुले असार २७ गते १० बुँदे सहमति गरेपछि एमालेमा सहमति भएको दाबी गरिएको थियो। तर, नेपालले उक्त सहमतिमा असहमति जनाएपछि सहमति कार्यान्वन हुन पाएन।

असार २८ गते अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि आदेश दिएपछि एमालेको विवाद फेरि चर्किएको थियो। १० बुँदे सहमति कार्यान्वन हुन नसकेपछि २२ सांसदले फ्लोर क्रस गरेका थिए। देउवालाई विश्वासको मत दिन नहुने दोस्रो तहका नेताहरुको दवावका बावजुत २२ जनाले फ्लोर क्रस गरेपछि एमालको विवाद झनै बढेको थियो।

त्यसअघि ओलीले बालुवाटार छाडेर बालकोट पुगेको दिन असार ३० गते नेपाललाई 'गद्दार' घोषणा गरेका थिए। तर, असार ७ ओली आफै 'यु टर्न' भएर ओलीले माफीको चर्चा गरे। नेपालले राखेको लागातरको अडान र दोस्रो तहको दबावले नै ओली सम्झौता गर्नुपर्ने ठाउँमा पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell