PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भीम रावलले किन फिर्ता लिए राजीनामा? टोखामा सुदूर पश्चिमको थियो चर्को दवाव



पहिलोपोस्ट

भीम रावलले किन फिर्ता लिए राजीनामा? टोखामा सुदूर पश्चिमको थियो चर्को दवाव
राजीनामा दिन संसद भवनभित्र जाँदै गरेका रावल।

काठमाडौं : सुदूर पश्चिमका सांसदहरुको चर्को दवावपछि नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिने निर्णय गरेका छन्। उनको राजीनामा फिर्ता नभए आफूहरुले पनि राजीनामा गर्ने भन्दै सुदूर पश्चिम प्रदेशससभाका १७ एमाले सांसदहरुले दवाव दिएका थिए।

तीन दिनदेखि काठमाडौं आएका दर्जन बढी सुदूर पश्चिम प्रदेशका सांसद तथा मन्त्रीहरु, सुदूर पश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद तथा कार्यकर्ताले रावललाई चर्को दवाव दिएका थिए।

'म जनताको तहबाट आएको मान्छे। जनताको मत कदर गर्ने भएकाले, जनता र कार्यकर्ताको व्यापक दवावलाई मायाका रुपमा ग्रहण गरेर जनताको भावना र चाहनाअनुसार चलेको छु,' रावलले आफ्नै निवासमा भने, 'जनताको चाहना फिर्ता गर भन्ने छ। म त्यो चाहनाबाट भाग्न सकिन।'

प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा नेकपा एमालेको माधवकुमार नेपाल समूहभित्र मतभिन्नता देखिएपछि रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका थिए। उनलाई नेता नेपाल समूहका सांसदहरुले राजीनामा दिनबाट रोक्न खोज्दा उनले कसैलाई टेरेका थिएनन्।

रावलको राजीनामा रोक्न सुदूर पश्चिम प्रदेश सरकारका मन्त्रीहरुसहित सांसदहरुको टोली नै गएको ५ गते काठमाडौं आएको थियो। उनीहरुले नेता रावल र वरिष्ठ नेता माधवकुमार नेपालसँग यसबारे लामो छलफल गरेका थिए। उनीहरुको दवावकै कारण रावलले आज राजीनामा फिर्ता लिने जनाएका हुन्।

'हामी राजीनामा फिर्ता गराउनका लागि सांसद र मन्त्रीहरुको टोली नै यहाँ आएका हौं,' सुदूर पश्चिम प्रदेशसभा सदस्य अमर साउदले पहिलोपोस्टसँग भने, 'हामीले अधिकांश समय नेताको निर्देशन मान्यौं। यसपाला उहाँलाई फिर्ता लिनका लागि हामीले मनायौं।'

सांसद साउदका अनुसार उनीहरुले भीम रावलको निवास टोखामा धर्नासहित दवाव दिएका थिए। 'माधव नेपाललाई पनि पहलका लागि दवाव दियौं। हामी पूरै टीम यहाँ बस्यौं,' साउदले भने।

प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई समर्थन गर्दै राष्ट्रपति कार्यालयमा पठाइएको सूचीमा रहेका उनी सर्वोच्च अदालतमा उनैलाई समर्थन गर्दै हस्ताक्षर गर्ने अभियानमा पनि सक्रिय थिए। पछिल्लो समय उनी पार्टी एकताका लागि गठित कार्यदलका सदस्य समेत थिए। 

'राजनीतिक तहमा अनैतिक घृणित काम भइरहेकाले तिनलाई रोक्नका लागि मैले अधिकतम प्रयास गरेँ,' रावलले राजीनमा दिन जानुअघि भनेका थिए, 'उच्च राजनीतिक तहमा देखिएको अराजनीतिक व्यवहार देख्दा देश जनतालाई खेद हुन्छ। अराजनीतिक गतिविधिको मतियार नबन्नका लागि मैले प्रतिनिधिसभाबाट राजीनामा दिएको छु।' 

 

सुदूर पश्चिमका संघीय सांसद, सुदूर पश्चिम प्रदेश सांसद, नेता र मन्त्री समेत आएर दवाव दिएपछि रावलले आफ्नो निर्णय फिर्ता लिएका हुन्। उनलाई मनाउन वरिष्ठ नेता नेपाल हिजो उनको निवासमा पुगेका थिए।

'मेरो चाहना त होइन। म अडानबाट ब्याक हुने थिइन्। चारैतिरबाट दवाव आएपछि पुनर्विचार गर्छु भन्नुभयो,' साउदले भने, 'हाम्रो कुरा सुन्नुभयो। हामीले पनि धन्यवाद दियौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell