PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

प्रहरीलाई धम्क्याएर विवादमा परेका कांग्रेस सांसद सहित ६ जनाले लिए मन्त्रीको सपथ



पहिलोपोस्ट

प्रहरीलाई धम्क्याएर विवादमा परेका कांग्रेस सांसद सहित ६ जनाले लिए मन्त्रीको सपथ

पोखरा : गण्डकी प्रदेशका नवनियुक्त छ जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका  छन्। आज शुक्रवार प्रदेश प्रमुख सीताकुमारी पौडेलले नवनियुक्त मन्त्रीहरूलाई सपथ ग्रहण गराइन्। 

आज सपथ लिएका मन्त्रीमा सत्तारूढ नेपाली कांग्रेसका तर्फबाट मणिभद्र शर्मा पर्यटन, उद्योगमा, मेखलाल श्रेष्ठ, शिक्षा संस्कृति र विज्ञान र विन्दुकुमार थापाले कानुन, सञ्चार मन्त्रालयको जिम्मा पाएका छन्।  

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रबाट सांसद  रामजी बरालले अर्थ मन्त्रालय, चन्द्रबहादुर बुढाले भूमि व्यवस्था मन्त्रालय र दीपक थापाले वन मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

यसअघि कांग्रेसबाट कुमार खड्काले भौतिक पूर्वाधार मन्त्रालय, माओवादीबाट मधुमाया गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जनता समाजवादी पार्टीबाट हरिशरण आचार्यले ऊर्जा  र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले खेलकुद मन्त्रालयको जिम्मेवारी पाइसकेका थिए। 

प्रहरी निरीक्षकलाई धम्की दिने सांसदलाई शिक्षा मन्त्रालय! 
ड्युटीमा रहेका कास्की प्रहरीका इन्स्पेक्टर श्याम थापा मगरलाई धम्काएर भाइरल भएका एक सांसदले पनि मन्त्रीपद पाएका छन्। नेपाली कांग्रेसका गण्डकी प्रदेश सभा सदस्य मेखलाल श्रेष्ठले शिक्षा मन्त्रालयको जिम्मेवारी पाएका हुन्। उनले कास्कीका प्रहरीलाई दिएको धम्की सोसल मिडियामा चर्चित बनेको थियो।

स्याङ्जाबाट समानुपातिक सांसद रहेका उनले  गत जेठ २९ गत प्रहरीलाई अभद्र व्यवहार गरेका थिए। त्यस समय सांसद श्रेष्ठले प्रहरीलाई धम्काउँदै 'नाम के हो, हिसाब किताब हुन्छ' भनेको भिडियोले उनलाई विवादित बनाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell