PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

देउवालाई सुवास नेम्वाङको प्रश्न : पहिले प्रधानमन्त्री बन्न जनादेश छैन भन्ने, अहिले एक्कासी कहाँबाट आयो जनादेश?



पहिलोपोस्ट

देउवालाई सुवास नेम्वाङको प्रश्न : पहिले प्रधानमन्त्री बन्न जनादेश छैन भन्ने, अहिले एक्कासी कहाँबाट आयो जनादेश?

काठमाडौं :  नेकपा(एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालतको फैसलाले राज्यका अंगहरुबिचको शक्ति सन्तुलन खल्बलिएको बताएका छन्।

शुक्रवार प्रतिनिधि सभाको बैठकमा नेम्वाङले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश दिनुले राज्यका अंगहरु बिचको नियन्त्रण र सन्तुलनको सिद्धान्त अन्तर्गत नभएकाले राज्यका अंगहरुबिचको सन्तुलन गुमेको बताएका हुन्।

‘हामीले भनेका छौँ सर्वोच्च अदालतले संविधानको अक्षर, बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक शासन प्रणाली, शक्तिपृथकिकरण एवम् नियन्त्रण र सन्तुलनको सिद्धान्त, सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको संविधानको आधारभुत प्रस्तावना हो,’ उनले भने, ‘यो मूलभुत कुराहरुमा आउने दिनहरुले निर्धारित गर्नेछन्, यसमा सम्मानित सर्वोच्च अदालतको फैसलाले त्यसलाई कमजोर तुल्याएको छ। नियन्त्रण र सन्तुलनको सिद्धान्त बमोजिम सबै अंगबिच समन्वय हुन सक्नुपर्छ। सन्तुलन हुन सक्नुपर्छ। राज्यका यी तीन अंगहरुको बिचमा सर्वोच्च अदालतको यो फैसलाबाट कताकता सन्तुलन अलि खल्बल्लिन पुगेको छ कि भन्ने हाम्रो बुझाई छ।’

उनले वर्तमान सरकार जनादेशबाट नभई परमादेशबाट आएको बताउँदै प्रधानमन्त्री देउवाले यसअघि आफुलाई सरकारमा जाने जनादेश नभएकाले सरकारमा जाँदैनौँ भन्ने अभिव्यक्ति दिएको स्मरण गराउँदै प्रश्न गरे, ‘सरकार गठनको प्रसंगमा हामीलाई यसपटक जनताले जनादेश दिएका छैनन्। त्यसकारणले म सरकारमा जानेवाला छैन भनेको। अहिले त बधाई दिनुपर्ने पो अवस्था आयो,’ उनले अगाडि भने, ‘यो कहिले जनादेश प्राप्त भएछ थाहा छैन। तर म त बधाई दिनका लागि उभिएको छु। खाली मैले उहाँको कोट मात्रै गरेको हो।‘

उनले पहिलो पटक निर्वाचन मार्फत नभई परमादेशबाट प्रधानमन्त्री पाएको टिप्पणी गरे। ‘यसरी संविधानले एउटा त निर्वाचनमार्फत् प्रधानमन्त्री आउँछ, सोचेको छ। निर्वाचित प्रतिनिधिहरु रहेको संसदबाट देशले प्रधानमन्त्री पाउँछ,’ उनले अगाडि भने, ‘यो पहिलो पटक हो, संसदबाट होईन, जनताको जनादेशबाट होईन, तर सर्वोच्च अदालतको परमादेशबाट हामीले प्रधानमन्त्री प्राप्त गरेका छौँ।’

उनले विश्वासको मत दिने सम्बन्धमा नेपाली कांग्रेस लगायतका दलमा चाहिँ ह्वीप लाग्ने तर नेकपा(एमाले)लाई ह्वीप नलाग्ने अवस्था बनाइएको भन्दै कांग्रेसलाई अनुशासन लाग्ने आफुहरुलाई नलाग्ने भनेर प्रश्न गरेका थिए। नेम्वाङले सरकारलाई छिट्टै पूर्णता दिनुपर्ने भन्दै विगतका सरकारले गरेका कामहरुलाई निरन्तरता दिन समेत प्रधानमन्त्रीलाई आग्रह गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell