PahiloPost

Jan 23, 2025 | १० माघ २०८१

गण्डकी प्रदेशको ११ सदस्यीय मन्त्रीमण्डलमा १ जना मात्रै महिला मन्त्री, महिला नेतृहरुको यस्तो छ प्रतिकृया



रिना थापा

गण्डकी प्रदेशको ११ सदस्यीय मन्त्रीमण्डलमा १ जना मात्रै महिला मन्त्री, महिला नेतृहरुको यस्तो छ प्रतिकृया

पोखरा : गण्डकी प्रदेशमा शुक्रवार थप ६ जना मन्त्रीले सपथ लिएपछि सरकारले पूर्णता पाएको छ। शुक्रवार सपथ लिनेमा नेपाली कांग्रेसका तर्फबाट मणिभद्र शर्मा, मेखलाल श्रेष्ठ र विन्दुकुमार थापा छन्।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)बाट रामजी बराल, चन्द्रबहादुर बुढा र दीपक थापाले पनि मन्त्री पदमा सपथ लिए। यसअघि कांग्रेसका कुमार खड्का, जनता समाजवादीका हरिशरण आचार्य, माओवादीकी मधुमाया गुरुङ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले सपथ खाएका थिए।

मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीको नेतृत्वमा गण्डकी प्रदेशमा १० मन्त्रालय छन्। प्रदेशमा रहेको १० मन्त्रालयमा महिलाबाट १ जना मात्र मन्त्री छन्। संविधानतः महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत कोटाको व्यवस्था गरिएपनि गण्डकी प्रदेशमा भने उक्त आरक्षण प्रणालीको धज्जी उडाइएको छ। शुक्रवार विस्तारित प्रदेशको मन्त्रीमण्डलमा महिला समावेशितालाई किनारा लगाइएको छ।

मन्त्रीको सपथलगत्तै जनमोर्चाकी प्रदेश सांसद तथा संसदीय दलकी नेता पियारी थापाले सामाजिक सञ्जाल फेसबुकमा मन्त्रीमण्डल विस्तारमा महिलालाई सहभागिता नगराइएको बारे गुनासो पोखिन्। उनले ‘महिलाप्रति राजनीतिक दलले देखाएको हेयको दृष्टिकोण बदल्नुपर्ने’ लेखेकी छन्। यस विषयमा कुराकानी गर्दा थापाले राजनीतिक दलले समेत पित्तृसतात्मक सोँच पालेको भन्दै महिलाको क्षमतामा विश्वास नगरेको जनाइन्।

‘केन्द्रसम्म महिला अधिकार र पहुँचका कुरा आएपनि क्षमतामा विश्वास गरिएन’, थापाले भनिन्, ‘गण्डकी प्रदेशमा आज विस्तारित मन्त्रीमण्डलबाट दुखी छु।’

कांग्रेसले मन्त्रीमा महिलालाई समावेश गर्न नखोजेको प्रष्ट देखिएको उनको बुझाइ छ। कांग्रेसले महिलालाई समावेश गर्न नखोजेको भन्दै उनले ५ जनामा एकजना महिलालाई समेट्न नसकेको बताइन्।

आन्दोलनको अग्रभागमा महिला सहभागिता आवश्यक मानिए पनि सत्ता साझेदारीमा सँधै पछि पारिने गरेको उनको आरोप छ।

‘महिलालाई अवसर दिन नखोज्ने अनि क्षमता छैन भन्ने यो कस्तो तरिको हो?’ उनको प्रश्न छ।

माओवादीबाट मधु अधिकारी गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएकी छन्। गठबन्धन सरकारमा माओवादी महिला समावेश गराउनुपर्ने पक्षमा रहँदै आएको थियो। मन्त्रीमण्डलमा महिला समावेश नगराएकोबारे कांग्रेसकै महिला सांसद रुष्ट देखिन्छन्। तर, औपचारिक रुपमा खुलेरै प्रतिक्रिया भने कसैले दिन चाहेनन्।

कांग्रेसकी महिला सांसद ओमकला गौतमका अनुसार प्रदेशमा मन्त्री हैन मुख्यमन्त्री नै चलाउन सक्ने महिला सांसद रहेका छन्।

‘वास्तवमा यो विषयमा तत्काल बोल्न चाहन्न’, सांसद गौतम भन्छिन्, ‘यो विषयमा मुख्यमन्त्रीसँग सोध्नुहोस्, नियुक्त गर्नुभाको उहाँले हो, के देख्नु भयो, के देख्नु भएन उहाँलाई थाहा होला।’

नेपाल कम्युनिस्ट पार्टी (एमाले) सांसद जुनादेवी नेपालीले गण्डकी प्रदेश सरकारले महिला सांसदलाई अवसर नदिएको गुनासो पोखेकी छिन्। निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सरकारमा पनि महिला सांसदलाई अवसर नदिइएको भन्दै उनले त्यतिबेला ६ मन्त्रालयमा सामाजिक विकास मन्त्रालयको जिम्मा एमाले सांसद नरदेवी पुन मगरले पाएको स्मरण गराइन्। महिला कोटासहित दलित महिला, समावेशीतालाई पनि सरकारले लत्याएको उनको गुनासो छ।

उनले भनिन्, ‘अहिलेपनि घुमाउरो पाराले राजनीतिमा महिलामाथि विभेद भएको छ।’

प्रदेशमा जसपाका दुई सांसद छन्। गठबन्धन सरकारले जसपालाई दुई मन्त्रालय दिने लिखित सम्झौता गरेको थियो। सम्झौता अनुसार हरिशरण आचार्यले उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्। तर, जसपाकी सांसद धनमाया पोखरेल लामा भने सम्झौता भएपनि मन्त्री बन्न पाइनन्। राजनीतिमा महिलाको सक्रिय भूमिका रहेपनि दलले कदर नगरेको उनको गुनासो छ।

६० सदस्यीय प्रदेश सभामा ५९ जना प्रदेश सभा सदस्य छन्। जसमध्ये उपसभामुख सृजना शर्मासहित २० महिला सांसद छन्। प्रदेशमा एमालेबाट सृजना शर्मा, जुनादेवी नेपाली, दिलमाया रोका मगर, नरदेवी पुन मगर, पुस्पा केसी भण्डारी, प्रभा कोइराला, मित्रकुमारी गुरुङ सुवेदी, मिना गुरुङ, लक्ष्मी सुनार र सावित्रा राना छन्।

माओवादीबाट आशा कोइराला, गायत्री गुरुङ र मधुमाया अधिकारी गुरुङ रहेकी छन्। त्यस्तै, कांग्रेसबाट ओमकला गौतम, कोपिला बोहोरा, मनकुमारी गुरुङ, ललितकला गुरुङ, सरिता गुरुङ सांसद छन्। जसपाबाट धनमाया पोखरेल लामा र जनमोर्चाबाट पियारी थापा रहेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell