PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

ओलीको ब्यानर छोपेर कम्युनिस्ट नेताको जमघट, माधव नेपालकै पालामा बिजुली गएपछि कार्यकर्ताले सोधे : कतै षड्यन्त्र त भएन कमरेड?



प्रकाश भण्डारी

ओलीको ब्यानर छोपेर कम्युनिस्ट नेताको जमघट, माधव नेपालकै पालामा बिजुली गएपछि कार्यकर्ताले सोधे : कतै षड्यन्त्र त भएन कमरेड?

काठमाडौं : च्यासलको तुल्सिलाल प्रतिष्ठानमा यो हप्ताभरी राजनीतिक गतिविधि भए। नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आइतवार बस्यो भने सोमवारबाट शुरु भएको केन्द्रीय कमिटी बिहीवार सकियो। लगालग एमालेको बैठक बसेको च्यासलमा शुक्रवार कम्युनिस्ट नेताहरुको जमघट थियो।

जमघटको अवसर जुराएका थिए माधव नेपाल पक्षीय नेता तथा पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले। नेताहरुको जमघटमा तर्क वितर्क मात्रै भएन कार्यकर्ताको बाक्लो उपस्थितिले दिउँसोको माहोल निकै भिडभाड पूर्ण रह्यो।

एमालेका अध्यक्ष केपी शर्मा ओली बाहेकका अधिकांश कम्युनिस्ट नेताहरुलाई बोलाइएको भए पनि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ भने अनुपस्थित रहे। वर्तमान राजनीतिबारे विमर्श गरिएको भेलाका केही दृश्य भने रोचक थिए।

ओलीको ब्यानर छोपेर कम्युनिस्ट भेला!

एमालेको पार्टी कार्यालय थापाथलीमा भएपनि यो हप्ताभर पार्टीको गतिविधि च्यासलमा भएका थिए। जहाँ नेपाल पक्षका नेताहरु बैठकमै गएनन् भने ओलीले एकल रुपमा कारबाही गर्ने निर्णय देखि माफीको घोषणा प्रतिष्ठानको हलबाटै गरे।

आइतवार नेपालमाथि खनिएका ओली बिहीवार एक कदमपछि हटेर माफी दिने मुडमा देखिएका थिए। नेपालले बहिस्कार गरेको र ओलीले हप्ताभरी अड्डा जमाएको प्रतिष्ठानको हलमा शुक्रवार नेपाल समूहको बाक्लो उपस्थिति थियो।

आफ्नो समूहका बैठकका लागि ओलीले टाँगेको ब्यानर समेत निकालिएको थिएन शुक्रवार सम्म। ओली समूहका नेताहरुले नहटाएको ब्यानर नेपाल पक्षका नेताले पनि हटाउन आवश्यक देखेनन्। बरु उनीहरुले एमालेको ब्यानर छोपेर पुष्पलाल मित्रता केन्द्रको ब्यानर राखे। र, कम्युनिस्ट नेताको भेला गराए।

प्रचण्ड किन आएनन्? विप्लवको भएन खोजी

विप्लव, प्रचण्ड, नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्य किरण एउटै मञ्चमा देखिने भएपछि उनीहरुको तर्क वितर्क सुन्न कार्यकर्ता उत्साहित थिए। तर, प्रचण्ड र विप्लव आफ्ना प्रतिनिधि पठाएर अनुपस्थित भए।

प्रचण्ड किन आएनन् भनेर गाइगुइ चल्न थालेपछि आयोजकले स्वास्थ्यमा समस्या देखिएको बताएका थिए। तर, माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश शाहले प्रचण्डलाई भाषण गर्न फुर्सद नभएको भन्दै संसद्मा व्यस्त रहेको जानकारी गराए।

सहभागी माझ प्रचण्डबारे चर्चा भए पनि विप्लवबारे भने कुरा उठेन। आयोजकले पनि किन विप्लव अनुपस्थित रहे भन्नेबारे जानकारी गराउन उपयुक्त देखेनन्।

नेपालकै पालोमा गयो बिजुली, कार्यकर्ताले सोधे : कतै षड्यन्त्र त भएन?

कार्यक्रममा साउण्ड सिस्टम राम्रो थिएन। आवाज राम्रो नसुनिएपछि बेलाबेलामा सहभागीले आवाज मिलाउन अनुरोध गरिरहेका थिए। तर, अन्तिमसम्म पनि माइकमा गडबडी आइरह्यो।

अनौठो त के भने कार्यक्रममा सबै नेताले भाषण गरेर सकेपछि अन्तिममा बोलेका माधव नेपाल मञ्चमा नपुग्दै माइक काटियो। आवाज नै नआएपछि केही बेर खैलाबैला भयो।

बिजुली गएर अवरोध भएको माइक त्यतिकै बन्नेवाला थिएन। त्यसैले सहभागीको सबैभन्दा अघिल्लो लहरमा बसेकी एक महिलाले भनिनन्-सबैले बोल्ने बेलामा बिजुली हुने माधव कमरेड बोल्दा नहुने? कतै षड्यन्त्र त भएन?

विप्लवका नेताको भाषण उग्र, वैद्यले पढाए पाठ

कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कदमको अधिकांश नेताले चर्को आलोचना गरे। तर, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले भने ओलीको आलोचनाको लागि कुनै शब्द नै खर्चेनन्।

बरु उनले संसदीय व्यवस्था नै काम नलाग्ने भएको भन्दै प्रश्न उठाए। संसदीय व्यवस्थाको खारेज नभएसम्म अहिलेको संकट दोहोरिरहने उनको भनाइ थियो।

ओलीको कदमको समर्थन गरेका बास्तोलाले भने, ‘संसदीय व्यवस्थाका कारण यो सबै भयो। नेपाली राजनीतिक प्रणाली नेपाली जनताको हातमा रहेन। यो भ्रष्टचारी व्यवस्था हो। यस्तो ढाँट व्यवस्था लोकतान्त्रिक हुन्छ?’

बास्तोलाको उक्त भाषणलाई भने नेपालले उग्रवाद भएको टिप्पणी गरे। बन्दुकको बलले मात्रै नहुने भन्दै बास्तोलालाई सम्झाउन खोजेका नेपालको भाषण नसुनेरै बास्तोला भने बाहिरिसकेका थिए।

क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यको भाषण भने अरु नेताको भन्दा अलि फरक रह्यो। अरु नेतालाई घोचपेच गर्ने भन्दा पनि उनको भाषण नेपाली कम्युनिस्ट आन्दोलनको विश्लेषणमा केन्द्रित थियो। उनले क्रान्ति सफल बनाउन सडक र सत्तामा भएका नेताहरुको सहकार्य हुनु जरुरी भएको तर्क गरे।

नेपालको अडानलाई कम्युनिस्ट नेताको सलाम

नेपालले संसद्मा ओलीका विरुद्ध उभिएका सांसद्हरुलाई साथमै लिएर कार्यक्रममा सहभागी भएका थिए। आफ्नो अडानले व्यवस्था जोगिएको दावी गरेका नेपालले त्यसअघि नै कम्युनिस्ट नेताहरुको प्रशंसा थापिसकेका थिए।

नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशीले त प्रशंसा गर्ने क्रममा नेपालको अडानलाई बलिदानको संज्ञा दिँदै जीवन दाउमा राखेर व्यवस्था बचाएको तर्क गरे। ओलीको आलोचना र नेपालको प्रशंसा त्यतिमा रोकिएन। ओलीले कम्युनिस्ट आन्दोलनको बिसर्जन चाहेको र नेपाल त्यागी नेता भएको भन्न समेत भ्याए-पुराना नेताहरुले।

जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालको निर्णयका कारण आफूहरुले सहकार्य गरेको बताएका थिए। अरु नेताहरुले नेपालको प्रशंसा गरिरहँदा नेपालले भने आफ्ना पक्षमा उभिएका सांसद्हरुको गुणगान गाए। उनले मत दिने र प्रक्रियामा नै सहभागी नहुने सांसद्हरु धन्यवादका पात्र भएको बताए।

‘महाराजबाट आममाफी आयो हामी गदगद भयौँ’

एमालेको विवादका बारेमा खासै नबोलेका नेपालले अन्त्यतिर भने विवादको प्रसंग निकालेका थिए। उनले ओलीले बिहीवार घोषणा गरेको आम माफीलाई कटाक्ष गरेका थिए।

नेपालले ओलीलाई महाराजको संज्ञा दिँदै भने, ‘राजा महाराजाको शैलीमा माधव नेपालसहितलाई आममाफी दिइन्छ भनेको सुनेँ। महाराजाधिराजबाट आदेश आयो, आममाफीको हामी खुसी भयौँ, गदगद भयौँ।’

नेपालले एमालेको एकतालाई ख्याल गरेरै बोलेको भए पनि ओलीको प्रवृति भने नबदलिएको आरोप लगाए।

‘डोरी जल्यो तर गाँठो उस्ताको उस्तै छ’, भने जस्तै म त मान्छे सुध्रिएलान् भनेर बस्छु, प्रवृत्ति उही छ। हिजो पनि ख्याल गर्दै मिठो मिठो बोलेँ जिब्रो हाडले छेकेको हुँदैन। जिब्रोले बोल्दिहाल्ला भन्यो, एउटा शब्द पनि तलमाथि नहोस् है भनेँ। तर उताबाट उही राजा महाराजाको शैलीमा आदेश आएछ,’ नेपालले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell