PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

ए डिभिजन लिग : एन्फा तयार भए पनि केही क्लबको आनाकानी, लिग नसार्न खेलाडीको एकै स्वर



मुकुन्द घिमिरे

ए डिभिजन लिग : एन्फा तयार भए पनि केही क्लबको आनाकानी, लिग नसार्न खेलाडीको एकै स्वर

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)ले असोज तीन गतेबाट शहीद स्मारक ए डिभिजन लिग गराउने घोषणा गरेसँगै अधिकांश क्लबहरु त्यसको तयारीमा जुटेका छन्। यसपटकको लिगमा राम्रो मुल्यमा खेलाडीहरु ट्रान्स्पर भइरहेको चर्चा चलिरहेको छ। एन्फाले स्वास्थ्य मापदण्ड पालना गर्दै बन्द रंगशालामा लिग आयोजना गराउने तयारी थालेको छ।

यस्तोमा केही क्लबहरु लिग खेल्न अनिच्छुक देखिएका छन्। मंगलवार चार वटा क्लबहरुले कोभिड संक्रमण बढ्दो रहेकाले तत्काललाई लिग रोक्नुपर्ने भन्दै एन्फामा निवेदन नै दिएका थिए। थ्री स्टार क्लब, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लबले उपयुक्त समयमा मात्र लिग गराउन भन्दै एन्फामा निवेदन दिएका हुन्। जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा, थ्री स्टार क्लबका महासचिव सञ्जिव सिल्पाकार र ब्रिगेड ब्वाइजका अध्यक्ष डा लालकुमार पुनले एन्फाका महासचिव इन्द्रमान तुलाधरलाई निवेदन दिएका हुन्।

यसअघि असार १४ मा बसेको एन्फा र ए डिभिजन क्लबबिचको बैठकमा मार्केटिङ सम्बन्धीमात्र चर्चा भएको र ३१ गते मेलमार्फत साउन १० भित्र खेलाडी दर्ता सम्पन्न गर्न भनिएको एन्फाको एकतर्फी कुरा रहेको भन्दै निवेदनमा असहमति जनाइएको छ।

'असोज ३ गतेबाट सुरु हुने भनिएको शहीद स्मारक ए डिभिजन लिग कोभिडको भयाभह स्थितिका कारण आयोजना गर्न कुनै पनि हालतमा उपयुक्त नदेखिने हुँदा कम्तीमा पनि संक्रमण दरमा अत्याधिक कमी आइसके पछिमात्र ए डिभिजन लिगलगायत फुटबल गतिविधि गराउन उपयुक्त देखिन्छ,' एन्फामा दर्ता गरिएको निवेदनमा भनिएको छ।

यद्यपि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले भने क्लबसँगै बसेर मिति फाइनल गरेकोले फिफा, एएफसीलगायतको हेल्थ प्रोटोकल मान्दै बिना दर्शक स्वीकृति लिएर लिग सञ्चालन गर्ने बताउँछन्।

'खराब अवस्थामा पनि नेपाली फुटबल तंग्रिनुपर्छ भन्ने हो। दर्शकबिनै पनि खेलाउनु पर्छ भनेर हामी लागेका छौं,' एन्फा अध्यक्ष शेर्पाले भने, 'क्लबहरुले आफ्नो अनुबन्धन सकिसकेका छन्, अब त्यो खर्च कसले ब्यहोर्छ? अब ७२ को जस्तो भूकम्प आयो भने या त कोभिडले अवस्था नाजुक बनायो भने मात्र रोकिने अवस्था छ।'

ती क्लबहरुले नेपाललगायत दक्षिण एसियामा कोभिड फैलिएको, भ्याक्सिनेसनको दर अझै कम रहेको, स्वास्थ विज्ञहरुले अझै गतिविधि नगर्न सुझाएको तर्क गर्दै ए डिभिजन लिग उपयुक्त समय कुरेर गर्न सुझाव दिए।

यस सम्बन्धमा एन्फाले थप केही निर्णय त गरेको छैन तर आइतवार फेरि क्लबहरुसँग बैठक बस्दैछ।

'हामी लिग सञ्चालन गरौं भन्ने पक्षमा छौं। संसारभर यसरी नै चलिरहेको छ,' एन्फाका महासचिव इन्द्रमान तुलाधर भन्छन, 'हामीले पनि सरकारसँग अनुमति लिएर कोभिड १९ सँग सम्बन्धित सबै प्रोटोकललाई पालना गर्दै प्रतियोगिता गराउने हो। यसबारे थप छलफल आइतवार क्लबहरुसँगको बैठकमा हुनेछ।'

एन्फाले सबै खेलाडीलाई भ्याक्सिनेस गराउने, कोभिड भए आइसोलेसनमा राख्ने, म्याचअघि पीसीआर गर्नेलगायतका कुरामा तयार रहेको अध्यक्ष शेर्पाले दाबी गरेका छन्।

लिग चाहन्छन् खेलाडी

पछिल्ला केही दिन यता लिग फेरि अन्योल हुने चर्चा बढेसँग खेलाडी चिन्तित देखिएका छन्।

नेपाली राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ फेसबुकमा लेख्छन् : लिग सबैका लागि आवश्यक छ। बिना लिग खेलाडीले के गर्न सक्छन्? त्यसैले लिग समयमा सुरु हुनुपर्छ, स्थगित हुन हुँदैन।

त्यस्तै त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवासलाई पनि लिगलाई लिएर उत्पन्न भएको अन्योल मन परेको छैन। लिग फुटबलको मेरुदण्ड भएको भन्दै खेलको विकासका लागि लिग समयमै हुनुपर्ने उनको तर्क छ।

'हामी लिग खेल्न धेरै नै उत्साहित र आतुर छौ। ए डिभिजन लिग नेपाली फुटबलको मेरुदण्ड नै हो। खेलकुद साथै खेलाडी विकास साथै प्रत्यक्ष,अप्रत्यक्ष रुपमा खेलकुद सग जोडिनु हुने अनि राष्ट्रिय टोलीका खेलाडी उत्पादन लागि भए पनि लिग समयमै हुन जरुरी छ,' खवासले सामाजिक सञ्जालमा लेखेका छन्, 'यसको लागि सबैजनाले आफ्नो आफ्नो ठाउँबाट गर्न सक्ने साथ सहयोग समर्पण गर्न जरुरी छ। लिगले व्यावसायिक खेलाडी जन्माउने हुनाले पनि स्वयम् खेलाडी र क्लबहरुलाई पनि लिग आफैमा एक आवश्यक महत्त्वपूर्ण तत्व हो।'

त्यस्तै राष्ट्रिय टोलीका नियमित सदस्य अञ्जन विस्टले लिग छोटो समयका लागि मात्रै भएको र त्यो पनि नियमित नभएको भन्दै दुखेसो पोखेका छन्।

'नेपाल जस्तो एक कम विकसित देश त्यहीमाथि कुनै खेलकुदमा लागेर आफ्नो ज्यान पाल्छु, देशलाई विश्वमा चिनाउँछु भनेर लागेका म जस्तै कैयौ फुटबल खेलाडीको लागि ए डिभिजन लिग मेरूदण्ड सरह नै रहिआएको छ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्, 'यसै त वर्षेनी विविध समस्याको कारण लिग नियमित हुन सकिरहेको छैन, त्यही माथि निकै थोरै समयमा पर्याप्त आराम बिना नै लिग खेलिरहनु परेको दुर्भाग्यपूर्ण अवस्था छ।'

त्यसो त कोभिड १९ को महामारीसँग नेपालमात्र जुधिरहेको छैन। विश्वभर ठूला खेल इभन्ट चलिरहेका छन्। आजबाट विश्वखेलकुदको महाकुम्भ ओलम्पिक शुरु भएको छ। अझ दर्शकसहितको युरोकप पनि सम्पन्न भइसकेको छ। कोभिडसँगसँगै खेलकुद भन्ने ट्रेन्ड नै सुरु भइसकेको छ। बिस्टले कोभिडकै बिच लिग चलिरहेको भन्दै नेपालमा पनि लिग चल्नुपर्ने तर्क राखेका छन्।

'विश्व जगत नै कोरोना भाइरसले विगत एक वर्षभन्दा धेरै समयदेखि आतंकित छ तर यस विषम परिस्थितिलाई मध्यनजर राख्दै प्राय राष्ट्रहरूले आफ्नो देशका लिगहरू सफलताका साथ सम्पन्न पनि गरिसकेको अवस्था छ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्,'हाम्रो देशमा पनि सम्पूर्ण स्वास्थ मापदण्ड पुरा गरी तोकिएको समयमा नै सकेसम्म खेलाडीलाई चाहिने आरामलाई समेत ध्यानमा राखी ए डिभिजन लिग सञ्चालन गर्नका निम्ति सम्बन्धित सबै सरोकारवालाहरू लाई विशेष आग्रह गर्न चाहन्छु।'

बिस्ट अगाडि लेख्छन्: नियमित रूपमा लिग सञ्चालन भएमा नेपाली फुटबल चाँडै नै सफलताको शिखर चुम्न सक्छ र फुटबल नै आफ्नो जीवन भनेर लागेका म जस्तै कैयौ खेलाडीको पीडा सम्बोधन हुनेछ भन्ने आशा व्यक्त गर्न चाहन्छु।

त्यस्तै अर्का राष्ट्रिय टोलीका सदस्य विसाल राईले कोभिडको बाहनामा लिग पछि नसार्न अनुरोध गरेका छन्।

'लिगले व्यावसायिक खेलाडी जन्माउने हुनाले पनि स्वयम् खेलाडी र क्लबहरुलाई पनि लिग आफैमा एक आवश्यक महत्त्वपूर्ण तत्व हो। कोभिड १९ ले कारण पछि सार्ने भन्दा सबै मापड्न्ड पुरा गरेर खेल चै तय भएको मितिमा गराउन हुन बिनम्र अनुरोध गर्दछौं,' राईले लेखेका छन्।  

त्यस्तै राष्ट्रिय टोलीका अर्का सदस्य दिनेश राजबंशीले ए डिभिजन सार्दा खेलाडीको मनोबल र मिहिनेत दुबैमा असर पर्ने भन्दै लिग नसार्न आग्रह गरेका छन्।

'कोभिडको विषयलाई लिएर 'ए' डिभिजन लिग लाई सार्ने कुरा जुन छ यसले खेलाडीको मनोबल र मिहिनेत दुबैमा असर पर्ने देखिएको छ,' राजबंशीले लेखेका छन्, 'विश्व जगत नै कोरोनाको महामारीले अछुत छैन त्यस्को बबजुत पनि उचित व्यवस्थापन गरी बिभिन्न मुलुकहरूले सभ्य र भब्य ढंगबाट लिग सञ्चालन गरिसकेको हुँदा लिग सञ्चालन गर्न आवश्यक कुराको ब्यावस्थापन गरेर राष्ट्रिय लिग सही समयममा नै गराउनुपर्छ।' उनले लेखेका छन्।

राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङले पनि लिग सार्नु भनेको खेलाडीको मनोबल गिराउनु भएको उल्लेख गर्दै आवश्यक कुराहरुको व्यवस्थापन गरेर निर्धारित समयमै लिग गराउनु पर्ने बताएका छन्।

'कोभिडको विषयलाई लिएर ए डिभिजन लिग सार्ने कुरा जुन छ, यसले खेलाडीको मनोबल र मिहिनेत दुबैमा असर पर्ने देखिएको छ,' थ्री स्टारका खेलाडी तामाङले लेखेका छन्, 'विश्व जगत नै करोना को महामारी ले अछुत छैन। तेस्क़ो बबजुत पनि उचित व्यवस्थापन गरी बिभिन्न मुलुकहरूले सभ्य र भब्य ढंग बाट लिग सञ्चालन गरिसकेको हुँदा लिग सञ्चालन गर्न आवश्यक कुराको व्यवस्थापन गरेर राष्ट्रिय लिग सही समयममा नै गराउनु पर्छ,' उनले अगाडि लेखेका छन्, 'तयारी बढ़ाऊँ लिग नसारौ।'

त्यस्तै अर्का खेलाडी विशाल श्रेष्ठ आफूहरु लिग नभए बेरोजगारीको अवस्थामा पुग्ने भन्दै लिग निर्धारित समयमा नै गराइदिन अनुरोध गरेका छन्।

'कोभिड-१९ले हामी सबै नेपालीको जीवन अस्तव्यस्त छ। कोभिड-१९ को कारणले हामी बेरोजगारी अवस्थामा रह्यौ,' उनले लेखेका छन्, 'फुटबललाई नै आफ्नो जिन्दगी सोच्ने म जस्तो सयौ खेलाडीलाई रोजगारी र फुटबलको मेरुदण्ड मानिने घरेलु सहिद स्मारक लिग नै हो।'

उनी अगाडि लेख्छन्: कोभिड-१९ हाम्रो लागि ठूलो चुनौती हो, डराएर होइन स्वास्थ मापदण्ड पुरा गरी फुटबल गतिविधि सञ्चालन गरौ। खेलाडीको भविष्यको लागि र नेपाली फुटबल विकासको लागि खेल्ने वातावरण मिलाइदनुस्।

त्यस्तै अघिल्लो लिगका सर्वाधिक गोलकर्ता रहेका आशिष लामा कोभिडकै बीच नेपाल सुपर लिग मापदण्ड पुरा गरेर सम्पन्न भएको उदाहरण दिँदै शहीद स्मारक लिग पनि निर्धारित समयमै गराइदिन अनुरोध गरेका छन्।

'विश्व फुटबलको कुरा गर्ने हो भने सबै राष्ट्रहरुले कोरोनाको निश्चित मापदण्ड प्रयोग गरी गेम सुचारु गरिरहेको देख्न सक्छौ। जस्तै हामीले पनि केही महिनाअघि नेपाल सुपर लिग जस्तो प्रतिष्ठित गेम कोरोनाको मापदण्ड पुरा गरी सञ्चालन गर्न सफल भएका थियो,' उनी अगाडि लेख्छन्, 'हामीले गर्न नसक्ने कुरा केही पनि छैन। आम फुटबल खेलाडीहरूको भविष्य साथै देशकै फुटबल विकासको लागि यस लिग हुन अती नै जरुरी छ। हजुरहरुले, यस लिग तोकिएको समयमा नै गराई दिन हुन म आशिष लामाको बिनम्र अनुरोध छ।'

त्यस्तै आर्मीका गोलकिपरसमेत रहेका विकेश कुथुले पनि खेल व्यवसायिक बनाउँदै लैजानका लागि लिग आवश्यक पर्ने भएकाले समयमै लिग गराउनु पर्नेमा जोड दिएका छन्।

'खेलकुद साथै खेलाडी विकास साथै प्रत्यक्ष,अप्रत्यक्ष रुपमा खेलकुदसँग जोडिनु हुने अनि राष्ट्रिय टोलिका खेलाडी उत्पादन लागि भएपनि लिग समयमै हुन जरुरी छ,' कुथुले अगाडि लेखेका छन्, 'लिगले व्यावसायिक खेलाडी जन्माउने हुनाले पनि स्वयम् खेलाडी र क्लबहरुलाई पनि लिग आफैमा एकआवश्यक महत्त्वपूर्ण तत्व हो।'

त्यस्तै राष्ट्रिय टोलीका पूर्व कप्तानसमेत रहिसकेका अनिल गुरुङले पनि ए डिभिजन लिग पछि सार्नुपर्ने प्रस्ताव अनुचित लागेको बताएका छन्।

'दुई वर्षपछि लिग हुनेभन्दा धेरै घरेलु खेलाडीहरु खुशी भएका थिए। हामीले चुनौतीबाट पछि हट्नेभन्दा चुनौतीको सामना गर्नुपर्ने देखिन्छ,' पूर्वकप्तान गुरुङले लेखेका छन्, 'यदि हामी लिगबाट पछि हट्छौं भने फुटबलको विकास पनि पछि हट्नेछ। लिग तोकिएको मितिमै सुरु हुनैपर्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell