PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

गुरु पूर्णिमा विशेष : स्वजागरण अर्थात् सेल्फ अवेकनिंगको राजमार्ग



पहिलोपोस्ट

गुरु पूर्णिमा विशेष : स्वजागरण अर्थात् सेल्फ अवेकनिंगको राजमार्ग

  • लिलाराज खतिवडा -

आत्मवोधका लागि कुनै आध्यात्मिक गुरु खोज्ने चक्करमा हुनुहुन्छ?

गुरु खोजेर भट्किनु भएको छ?

गुरु खोजेर थाकिसक्नु भयो?

कसलाई भन्ने गुरु?

को हो सही गुरु?

कसरी फेला पार्ने सही गुरु?

गेरु वष्त्र लगाएका वा नलगाएका गुरुप्रति भरोसा हरायो?

के तपाईंलाई वर्तमानकालका आध्यात्मिक डिपार्टमेण्ट स्टोरहरूको कामप्रति शंका छ?

मानवहरूको यो वा त्यो अनकण्टार भिडमा सुतिरहेको चेतना जागृत गर्न के गुरु नै चाहिन्छ?

आत्मवोधको लक्ष्यमा अन्यौलग्रस्त पो हुनुहुन्छ कि?

वा आत्मवोधका विषयमा तपाईं विल्कूलै बेखबर हुनुहुन्छ?

त्यसो भए यो लेख तपाईंका लागि उपयुक्त हुनसक्छ।

थालनी

यहाँ स्वजागरण अर्थात् सेल्फ अवेकनिंगका नितान्त प्राविधिक पक्षबारे क्रमैसँग छलफल गरिनेछ जो यसप्रकार छन् : टेलिपेथी, क्लेयरभोएन्स र एस्ट्रल ट्राभल; तेस्रो नेत्र, आज्ञा शक्ति, र सम्मोहन; सपना, निद्रा रहस्य र योग निद्रा तथा विचार व्यवस्थापन, स्वासप्रस्वास साधना र निर्विकार आयाम।

त्यसो त खोज र प्रयोगहरूका निचोडले माथिका सबै विषय एक आपसमा परस्पर गाँसिएका छन्। कतिपय अवस्थामा यी एक अर्काका पूरक पनि हुन्। एकबिना अर्को अधूरै। यी विषयहरू एकआपसमा अन्योन्याश्रित तरिकाले गाँसिएकाले सबैलाई समेटेर एउटा सारांश–लेख तयार पार्ने जमर्को यहाँ गरिएको छ।

भूमिकास्वरुप सबैभन्दा पुछारका विषयहरू माथि सर्वप्रथम चर्चा गर्नुपर्ने हुन्छ। त्यसपछि सोहि क्रमले माथिका अरु।

विचार व्यवस्थापन, स्वासप्रस्वास साधना, निर्विकार आयाम

शरीर, मन र चेतनाको वोधका लागि स्वासप्रस्वासमा ध्यान गर्नुपर्ने हुन्छ। होसमा प्रत्येक प्राकृतिक र नैसर्गिक सासको हेक्का राख्नाले बिस्तारै एकाग्रता प्राप्त हुन्छ। एकाग्रता प्राप्त भएपछि स्वासप्रस्वासलाई अनेक तरहले तोडमरोड पनि गर्न सकिन्छ। यो प्राणायाम वा तत्संबन्धि कुनै पनि अभ्यास हुनसक्छ।

स्वासप्रस्वासमा ध्यान गर्नाले प्राण शक्तिको बढोत्तरीसँगै अनेक फाइदा हात लाग्छन्। स्वासप्रस्वास उपर तटस्थ ध्यान साधनाले विचारहरूबाट क्रमशः मुक्त भइन्छ। जीवनमा विचार अथवा चित्तले नै मानवलाई अत्याधिक सताएको छ। यदि चित्तलाई आफ्नो वशमा पार्न चाहनुहुन्छ भने स्वासप्रस्वास माथि ध्यान गर्नैपर्ने हुन्छ। अन्य उपाय छैन। किनभने, हामी हाम्रा विचारहरूलाई कदापि मेटाउन सक्दैनौँ। विचारले विचार काट्न सकिँदैन। तर, हामी विचारलाई व्यवस्थापन गर्नसक्छौँ। वा तिनलाई वशमा लिन सक्छौँ।

विचार बादल हो। हाम्रो चेतना वा आत्मा भनेको अनन्त आकाश हो। स्वासप्रस्वासको ध्यान गर्नाले बादलरुपी विचारको तह छिचोलेर अनन्त आकाशमा डुबुल्की लगाउन सकिन्छ। हवाइजहाजले आकाशमा निश्चित उचाइ लिएपछि बादलहरू तलतल पर्दै जान्छन्। निश्चित उचाइबाट हेर्दा बादलहरू तलतल पर्दै गएजस्तै ध्यान गर्दा विचारहरू पनि तलतल पर्छन्। अनि साधक निर्विचार अवस्थामा पुग्छ। निर्विचार, अर्थात् अब त्यहाँ कुनै विचार छैन। शान्त र अनन्त सगर जस्तै छ हामीभित्रको निर्विचार आयाम पनि। निर्विचार अवस्थामा रहेर अनेक उचित र कठोर साधना गरेर भित्री विकारहरूलाई मेटाएपछिको आयाम भने निर्विकार हो। त्यसैले हामीले निर्विचार अवस्थामा पुगेर मात्रै हुँदैन। त्यस अवस्थामा रहेर अनेक घोर, अघोर वा भक्ति साधनाले स्नान गर्दै निर्विकार आयाम चुम्नु जरुरी छ। त्यसपछि व्यक्ति स्वतः निर्वाणतर्फ प्रस्थान गर्दछ। निर्वाण कुनै काल्पनिक वा पौराणिक शब्द होइन। खिया परेको फलामले आगोमा पोलिएपछि घनका कैयन चोटहरू खाएर पुनर्ताजगी र निश्चित आकार समेत प्राप्त गर्न सक्षम भए जस्तै व्यक्ति पनि साधनाको अग्निमा त्यसैगरी होमिएर रुपान्तरित हुन सक्छ। त्यही रुपान्तरण हो, निर्वाण।

आफ्नो प्राकृतिक स्वासको निरन्तर आरोहअवरोहलाई साक्षीभावले निरीक्षण गर्दै यस महान कार्यको थालनी गर्न सकिन्छ। सुत्दा, उठ्दा, खाँदा, शौच गर्दा, क्रोधमा, वासनामा वा समग्र दैनन्दिन जीवनका क्रियाकलापहरूमा नाकका पोराहरूमा सारा ध्यान खिँचेर सासको आवागमन र प्रत्यागमनमाथि होश बढाउँदै लैजानुपर्ने हुन्छ।

सपना, निद्रा रहस्य, योग निद्रा

जागृत साधनामा एकसाथ कैयौँ कामहरू गर्नुपर्ने अनिवार्यता छ। स्वासप्रस्वासको हेक्कासँगै जब एकाग्रता बढ्न थाल्छ तब निद्रा वा सपनाप्रति पनि सजग रहन थाल्नुपर्दछ। सपनामा हामी असमय आयाममा पुगेका हुन्छौँ। नसुतेका बेलाको समय र निद्राको समयमा आकाश र जमिनको जस्तै अन्तर छ। चार घण्टाको सुताइमध्ये पलभर मात्रै देखिएको सपनामा पनि कुनै अज्ञात स्थानमा जन्मिएर, हुर्किएर, बिहे गरेर, बच्चा जन्माएर, बच्चा हुर्काएर, बुढो भएर मृत्युको मुखमा पुगेको पनि देख्न सकिन्छ। त्यहाँ लगभग सत्तरी वर्ष बितेको होला। तर, आँखा खुल्दा मात्रै थाहा हुन्छ कि त्यो सब त केवल एक सपना थियो र व्यक्ति चार घण्टाअघि मात्रै खाना खाएर सुतेको थियो।

एक रातको सपनामा हजारौँ वर्ष पनि बित्न सक्छ। त्यसैले यदि हामी नियमित आठ घण्टा सुत्छौँ भने, त्यसलाई आठ घण्टामा सीमित राख्न कदापि सकिँदैन। निद्राको समयलाई जीएमटीले नाप्न मिल्दैन। त्यो असमय हो। समयको काँटाले त्यसलाई नापजोख गर्नु असंभव छ। र, त्यसो गर्ने प्रयास फगत मुर्खता हो।

त्यसैले हामी जहाँ आफ्नो उमेर गन्छौँ त्यहाँ ठूलो गडबढी छ। मानौँ म चालिसौँ जन्मदिवस मनाइरहेको छु भने, त्यो उमेर गलत पनि हुनसक्छ। निद्राको समयलाई पनि गन्ने हो भने, चालिस वर्षको मान्छेको वास्तविक उमेर कति होला? अनन्त? तर, निद्रा आफैँमा समयविहीन अथवा टाइमलेस छ। निद्रामा असमय छ।

हिसाब किताबमा बाँच्नेहरू अकालमै मारिन्छन्। क्यालेण्डर पल्टाइरहनेहरूको आयु छोटो हुन्छ भने असमय अर्थात् टाइमलेस आयामलाई वोध गर्न सक्नेहरू शाश्वत अर्थात् इटर्नल जीवन ज्यूँन समर्थ हुन्छन्। किनभने, जीवन शाश्वत छ। त्यसैले आफ्नो उमेरको गिन्ती गर्न छाडिदिनुहोस्। योग निद्रा सिक्नुहोस र असमयतर्फ फाल हाल्नुहोस्।

योग निद्रा एकदमै सरल विधि हो। सुत्नेबेला माथि वर्णन गरिए जस्तै प्रत्येक स्वासमाथि तटस्थ सचेतना जगाउने। निद्राले कसरी छोपिरहेको छ, त्यसलाई थाहा पाउने कोसिस गर्ने। निदाउनु भन्दा केही पल अगावै हामीलाई सपनाहरू आउन थाल्छन्। आवाजहरू सुनिन थाल्छन् वा विभिन्न दृश्यहरू पनि देखा पर्न थाल्छन्। त्यसबेला पनि आफ्नो स्वासप्रस्वासमा केन्द्रित रहेर सकेसम्म जागा रहने प्रयास गर्नुपर्दछ। निदाउँनु भन्दा केही बेरअघिको त्यस्तो बेलालाई जागरणको क्षेत्रमा निकै महत्वका साथ हेरिन्छ। यो बेला ब्यक्तिले भविष्य पनि थाहा पाउन सक्छ। सयौँ वा हजारौँ वर्ष अघिको बिगतमा छलाङ लगाउन पनि सक्छ। र, यो नै मानव हुनुको सबैभन्दा उच्चतम् अतिरेक पनि हो।

स्मरण रहोस्, यदि तपाईंलाई निद्राको बारेमा थाहा छैन भने, तपाईंलाई जागरणको पनि जानकारी छैन। र, जे जति छ सब उधार र भ्रमपूर्ण मात्रै छ। किनभने हाम्रो जिन्दगीका सारा रहस्य र खजानाहरू केवल निद्राको गर्भमा अवस्थित छन्। सासको कोदालो लिएर निद्राको अन्धकार र अनकण्टार भूमिमा तिनलाई उत्खनन् गर्न सक्नुपर्छ। अझ निदाउँने बेलामा आत्मसुझाव दिएर हामी अकल्पनीय कार्यहरू पनि गर्न सक्छौँ। वा चाहेको लक्ष्य चुम्न सक्छौँ।

निदाउँने बेलामा हठात टप्किएको प्रज्ञा प्रयोग गरेर कैयौँ व्यक्तिहरूले आफ्ना जटिलतम् समस्याहरूलाई हल गरेका छन्। बडेबडे आविस्कार गरेका छन्। महत्वपूर्ण ग्रन्थ लेखेका छन्। र, विषम वा पराजयको अवस्थामा पनि विजय हासिल गरेका दृष्टान्तहरू जताततै भेटिन्छन्।

तसर्थ हामीले कुकुरको जस्तो निद्रा सुत्न सिक्नुपर्छ। अथवा यस्तो निद्रा सुत्न सिक्नुपर्छ जहाँ हामीले आफ्नो सपना थाहा पाउँदै गर्दा बाहिर कुकुर भुकेको पनि थाहा पाउन सकौँ। यो नै योग निद्रा हो।

तेस्रो नेत्र, आज्ञा शक्ति, सम्मोहन

यति अभ्यास गरेपछि साधकलाई बिस्तारै आफूमा विभिन्न उर्जा प्रष्फुटन भएको आभाष हुन थाल्छ। निधारको मध्य, जहाँ हामी तिलक लगाउँछौँ त्यहाँ अनौठो कुत्कुती महसुस पनि हुन सक्छ। किनभने, स्वासप्रस्वासको एकाग्रता बढाएर निदाउने बेला चनाखो रहँदा हाम्रो आज्ञाचक्र आफसेआफ सक्रिय हुनथाल्छ। आज्ञा चक्र अर्थात् तेस्रो नेत्र। जो हाम्रा दुवै आँखीभौँका बिचको अन्तसमा विद्यमान हुने गर्दछ। एकातर्फ सासको ध्यान गर्न थाल्दा नै आज्ञा चक्र अर्थात् तेस्रो नेत्र चलमलाउन थालिसकेको हुन्छ। निद्रालाई नियन्त्रणमा राख्न सके वा होसमा निद्राको प्रणालीलाई अवलोकन गरेको खण्डमा हाम्रो सारा एकाग्रता निधारको मध्यमा हुन पुग्छ। जहाँ चोट, त्यहाँ जागरण।

त्राटक साधनाले पनि तेस्रो नेत्र जागृत गराउन भयंकर मद्दत गर्दछ। त्राटक विभिन्न किसिमका हुन्छन्। कुनै एउटा बिन्दुमा आँखालाई टिकाएर लामो समय नियाल्नु, आकाश, चन्द्रमा, सूर्य र ताराहरूमा एकटक लगाउनु, वा शान्त र अँध्यारो कोठामा मैनबत्तिको शिखामा अपलक हेरिरहनु त्राटकका उदाहरण हुन्।

हाम्रा बाहिरी आँखाहरू सिधै तेस्रो नेत्रसँग गाँसिएका हुन्छन्। तसर्थ बाहिरी आँखाहरूलाई कडी वा माध्यम बनाएर हामी हाम्रो तेस्रो नेत्रलाई जगाउन सक्छौं। वा जाग्ने मार्गमा अभिप्रेरित गर्न सक्छौं।

रह्यो कुरा सम्मोहनको। जो ब्यक्तिमाथि वर्णन गरिएका आयामहरूमा प्रवेश गर्दछ, सर्वप्रथम ऊ आफैँलाई सम्मोहन गरेर अकल्पनीय कार्यहरू गर्न थालिसकेको हुन्छ। र, जसले आफूलाई सम्मोहन गर्न जानेको छ, त्यसले अरुलाई पनि सम्मोहन गर्नसक्छ। आत्मसुझावलाई आत्मसम्मोहन पनि भनिन्छ। तर, यो जादुटोना वा कालाजादु बिल्कुलै होइन।

सावधानी अपनाउनु पर्ने कुरा के हो भने, शक्ति सतहमा आउँन थाल्दा यदि व्यक्तिले त्यसलाई विनासतर्फ लैजान चाह्यो वा शक्तिको दुरुपयोग गर्न थाल्यो भने उसको विनास पक्का छ। साधना गरेपछि सिद्धि प्राप्त हुन सक्छ। तर हामीले त्यता ध्यान नदिएर साधना र सत्कर्मलाई नै जारी राख्दा त्यस्तो शक्ति अरु बढेर जान्छ। प्रकृतिले हामीलाई दिन्छ भने खोस्छ पनि। साधनाको मार्गमा सदा यस कुरालाई मनन गर्नुपर्ने हुन्छ।

यथार्थमा साधनाले फलामलाई चुम्बक बनाउँछ। चुम्बकले फलाम तान्छ। तर काठलाई तान्दैन। त्यसैले आध्यात्मिक आयामतर्फ सर्किन खोज्नेहरू फलाम अर्थात् साधक हुन् भने काठ भनेका भौतिक दलदलमा भासिनुलाई नै जीवन ठान्नेहरू हुन्। चुम्बक अर्थात् गुरुतर्फ फलाम अर्थात् साधकहरू स्वतः आकर्षित हुन्छन् र संसर्गले स्वयं पनि चुम्बक बन्छन्। सम्मोहन फलाम चुम्बक हुने प्रकृयासँग समानान्तर छ।

सम्मोहन शक्तिमात्रै होइन, साधना गर्नाले हामीलाई अनेकानेक सिद्धिहरू प्राप्त हुन थाल्दछन् र त्यसलाई केवल जगत कल्याणमा लगाउनु पर्छ।

साधनाले अरु केके शक्ति हासिल हुनसक्छ त?

टेलिपेथी, क्लेयरभोएन्स, एस्ट्रल ट्राभल

ध्यानमा गहिरो जाँदै गर्दा साधकले आफूभित्र अनेक दूरध्वनी सुन्न सक्छ। दूरदर्शन गर्न सक्छ। साधक जहाँ ध्यान लगाउँछ त्यहाँको आवाज सुन्न र दृश्य देख्न पनि सक्छ। खासगरी आज्ञाचक्र सक्रिय भएपछि यस्तो सम्भव हुने गर्दछ। साधकले आफ्नो विचार, आभामण्डल र तरंगलाई अनन्त दुरीमा फैलाउन सक्छ।

टेलिपेथी भनेको कुनै यन्त्र वा शारीरिक अन्तरक्रिया बेगर नै एकबाट अर्को व्यक्तिमा योजनाबद्ध तवरले वा अज्ञातरुपमा जानकारी वा सूचना संप्रेषण गर्नु हो भने क्लेयरभोएन्स भनेको चाहिँ कुनै वस्तु, व्यक्ति, स्थान वा शारीरिक घटनाका बारेमा मानविय विशेष क्षमता मार्फत् टाढैबाट जानकारी प्राप्तगर्नु हो।

केही भूमिका बाँधौँ। तपाईंलाई थाहा छ? मानवको मष्तिस्क आफैँमा एउटा रेडियो हो। रेडियोमात्रै होइन यो टेलिभिजन पनि हो। टेलिभिजन मात्रै होइन यो एक कम्प्युटर पनि हो। कम्प्युटर मात्रै होइन यो त सुपर कम्प्युटर वा कस्मिक कम्प्युटर नै हो।

तर, मार्कोनीले रेडियोको आविश्कार गरेपछि जब दुनियाँमा रेडियो छ्यापछ्याप्ती भयो, तब मानवले आफ्नो मष्तिस्कमा भएको ट्रान्जिस्टर क्षमता गुमायो। अथवा सिधै भन्नुपर्दा रेडियोका कारण मानव मष्तिस्कको न्यूरो ट्रान्स्मिटर कमजोर बन्दै गयो। लुगा धुने मेसिन आएपछि मान्छेका पाखुरा कमजोर भए जस्तै।

दुनियाँमा रेडियो आउनुअघि निश्चय नै कैयौँ व्यक्तिहरू टेलिपेथी मार्फत् सूचनाको आदानप्रदान गर्दथे। क्लेयरभोएन्स मार्फत् सुदूरबाट पनि जानकारी र ज्ञान हासिल गर्ने गर्दथे। वा भनौँ उनीहरूको मष्तिस्कको न्यूरो ट्रान्स्मिटर त्यतिबेला निकै मजबूत थियो।

दोस्रो विश्वयुद्धमा समेत एक मष्तिस्कदेखि अर्को मष्तिस्कसम्म सूचना संप्रेषणका अनेक प्रयोग गरिएको थियो। रुसमा यी विषयहरूमा अत्याधिक खोज र सफल प्रयोग गरिएको छ। तर, कतिपय नविन आविश्कारहरू कुटनीतिक वा अन्य सुरक्षाका कारण गोप्य राखिन्छन्। पछिल्लो पटक अन्तरिक्ष यात्रीलाई अनिवार्य रुपमा टेलिपेथीको अभ्यास गराइन्छ। किनभने, कथंकदाचित् यन्त्रले काम नगरे मान्छेको टाउको त छँदैछ।

पश्चिममा सर्वप्रथम सन् १८८२ मा फ्रेडरिक डब्ल्यूएच माइर्सले टेलिपेथीमाथि ब्यापक खोज गरेका थिए। त्यसपछि पनि पश्चिममा टेलिपेथी र सम्पूर्ण परा मनोविज्ञानमा ब्यापक खोज गरिएको छ। पश्चिममा यी विषयमा अत्याधिक पुस्तकहरू पनि प्रकाशित छन्। पश्चिमका केही नाम चलेका विश्वविध्यालयमा यी विषयमा अध्यापन र शोध पनि गरिन्छ। तर आधुनिक विज्ञानले यी विषयहरूलाई मान्यता दिएको छैन। यसै पनि आधुनिक विज्ञान झन् भन्दा झन् विरोधाभासी हुँदै गइरहेको छ।

किनभने, पश्चिमाहरूले धेरै भन्दा धेरै यस्ता रहस्यदर्शी कुरा पूर्वबाट लगेर अध्ययन, अनुसन्धान गरेता पनि उनीहरू बारबार असफल भए। असफल भएपछि उनीहरूले यी कुराहरूको कुनै तुक छैन भन्ने आरोप पनि लगाए। स्यालले रुखका अंगुर झारेर खान नसकेपछि अंगुर अमिलो छ भनेर हिँडेजस्तै। तर, ठट्टा नगरी भन्नुपर्दा उनीहरूले खोजको शिलशिला भने जारी राखे। पश्चिमाहरू असफल हुँदैमा हामीले यता निराश हुनुपर्ने कुनै कारण चाहिँ छैन।

ज्योतिष भन्ने विषय सदियौँदेखि जगतमा अस्तित्वगत छ। कैयौँ वर्षअघि पनि सूर्य ग्रहण, चन्द्र ग्रहणबारे ठ्याक्कै भविष्यवाणीहरू हुने गर्दथे। ग्रह, नक्षत्र तथा घडीपलाका हिसाबहरू सत् प्रतिशत सत्य सावित हुन्थे। हाम्रा पूर्खाहरू अति ज्ञानी र चमत्कारिक थिए। आदि गुरु शंकराचार्य, कपिल मुनि, बाला गुरु षडानन्दका कथाहरू ताजै नजर आउँछन्। अनि यता बुद्ध त अझै ज्यूँदै रहेको आभाष हामीलाई छ।

ब्रिटिस लेखक तथा न्यायधीश क्रिश्मस हम्फ्रेज लेख्छन्, 'आधुनिक विज्ञानले मानव मष्तिस्कलाई केवल तीन प्रतिशत जानेको छ। जबकि बुद्धले त्यसलाई असी प्रतिशत जानेका थिए।'

बुद्ध र उनको प्रज्ञामाथि ब्यापक अनुसन्धान गरेर अनेक पुस्तक लेखेका हम्फ्रेजको उपरोक्त भनाइले नै हामीलाई आफ्नो रगत र विरासतमा घुलित अवस्थामा रहेको अथाह प्रज्ञा एवम् शक्तिलाई जगाउन प्रेरित गर्दछ। तर, हामी त आफ्ना खजाना र ज्ञानहरूलाई लत्याएर आधुनिक विज्ञानको तलुवा चाट्न बाध्य भएका कारणले आजको युगमा किक्रिक्क परेका हौँ। नत्र हाम्रा पुर्खा जति शक्तिशाली, ज्ञानी र सम्बृद्ध दुनियाँमा अर्को कुनै कौम छैन। पुर्खामा यदि त्यस्तो शक्ति विद्यमान थियो भने, हामीमा पनि त्यो शक्ति कुनै न कुनै रुपमा अन्तर्घुलित छ। सुषुप्त रुपमा छ। त्यसलाई सतहमा ल्याउन सकिन्छ। त्यसको लागि चाहिन्छ, अथक र नियमित साधना।

विचार संप्रेषण र विचार संप्राप्तिलाई आज हामीले टेलिपेथी पढ्नु परेको छ। अनि मष्तिस्कको घ्राँण शक्तिलाई हामी क्लेयरभोएन्स पढिरहेका छौँ। दाबीका साथ भन्छु, यी र अन्य परामनोवैज्ञानिक विषयमा हामीसँग पश्चिमाहरू भन्दा अथाह ज्ञान छ। केवल हामीले त्यसलाई नजरअन्दाज गरेका छौँ। हामी जन्मजात त्यस ज्ञानतत्वले ओतप्रोत छौँ भने उता पल्याँटी कसेर बस्न समेत नजान्ने पश्चिमाहरूको वशमा यो सब छैन। उनीहरूले रकेट बनाउलान्। तर, साधक जन्माउन सक्दैनन्। उनीहरू बौद्धिक होलान्। तर ज्ञानी होइनन्। उनीहरूले अरिमठ्ठे र साइकोप्याथ बैज्ञानिक त जन्माउलान्। तर, उनीहरूबाट बुद्ध जन्माउनु असंभव!

उदाहरणका लागि यो प्रश्न: के हिमालमा विचरण गर्ने डाँफेलाई अफ्रिकामा ओथारा बसाउन सकिएला त?

त्यसैले हामीले आफ्नै खजानातर्फ फर्किनु अत्यावश्यक छ। आफ्नै स्वासप्रस्वास माथि साक्षी भएर विचारका तहहरू छिचोल्दै स्वयंभित्रको असीमित र अनन्त शक्तिलाई उजागर गर्नुपर्दछ। किनभने, हामी जागरणका अभूतपूर्व सम्भावनाहरूले भरिपूर्ण छौँ।

एस्ट्रल ट्राभल अर्थात् अशरीर यात्राका बारेमा केही कुरा।

फेरि निद्रामै आउन कर लाग्यो। निद्रामा व्यक्ति कहाँ जान्छ? सपनामा हाम्रो हंश उडेर कताकता घुम्न जान्छ भन्ने त सुनिएकै कुरा हो। यो सत्य पनि हो।

हामीभित्रको सुक्ष्म शरीरलाई योजनाबद्ध तरिकाले बाहिर प्रक्षेपण गर्न सकिन्छ। माथि भनिए जस्तै यदि निदाउने बेलामा स्वासप्रस्वासको आरोहअवरोहमा जागृत रहन थाल्ने हो भने हामी बिस्तारै हाम्रो सुक्ष्म शरीरलाई महसुस गर्न थाल्छौँ। बिस्तारै यसलाई नियन्त्रणमा लिन पनि सकिन्छ।

भौतिक शरीरलाई एकदिन हामीले यहीँ छाडेर जानुपर्ने हुन्छ। मृत्युमा शरीरलाई यहाँ छाडेर हंश सदाका लागि कतै उडेर जान्छ भने, त्यो अभ्यास जिवित अवस्थामा नै हामी अवश्य गर्न सक्छौँ। र, यस्तो हरेक रात निदाउने बेलामा संभव हुने गर्दछ। निद्रा मृत्युको भाइ हो। निद्रा र मृत्युमा धेरै समानता छन्। फरकचाहिँ के भने, निद्रा केवल केही घण्टाका लागि आउँछ। तर, मृत्यु, पृथ्वीमा रहेर हेर्दा हमेशाका लागि।

सारा ब्रह्माण्डको केन्द्रमा रहेर हेर्ने हो भने, भौतिक शरीरको मृत्यु पनि एउटा लामो निद्रा नै हो। के थाहा यहाँ शरीर छाडेर हामी सुदूरको कुनै अर्को ग्रहमा भ्ल्याट्टै जाग्ने पो हौँ कि?

यी र यस्ता विषयमा बुद्धले सबैभन्दा बढी प्रामाणिक कुरा गरेका छन्। श्री अरोविन्दोले विचारको शक्तिले नै मानव महामानव हुनसक्ने प्रमाण पेश गरिसकेका छन्। बुद्धलाई अत्याधिक अनुशरण गर्ने बीसौँ शताब्दीका गुरु ओशोले पनि यस्ता विषयहरूमा ब्यापक खोज, प्रयोग र मथिंगल गरेका छन्। नत्र आध्यात्मिक शक्ति हासिल नगरी भारतको मध्यप्रदेशका महान योगी ओशोले कसरी पूरै विश्व हल्लाउन सके त?

त्यसो त आफूभित्र सुतिरहेको आध्यात्मिक शक्तिलाई जगाएर पूर्वका कैयौँ महापुरुषहरूले विगतमा चमत्कार नै गरेका छन्। तर, हामी त आफ्ना धरोहरहरूलाई लत्याएर एन्टिबायोटिक खान थाल्यौँ। गोरा छालाहरू देखेर मख्ख पर्न थाल्यौँ। विराटका पगध्वनीहरू सुन्न छाडेर हामी पश्चिमाहरूको तुच्छ जीवनशैलीलाई बिना कुनै लाज आत्मसात र अनुशरण गर्न थाल्यौँ। अनि हामी न पूर्वका रह्यौँ न त पश्चिमका नै भयौँ।

यस्ता विषयमा वादविवाद त्यागेर कम्तिमा तीन हप्ता आफैँ केही प्रयोग गरेर हेर्नुहोस्। निद्रा कसरी आउँछ? र, यसले कसरी छाड्छ? त्यो थाहा पाउने प्रयास गर्नुहोस्। यदि तपाईंलाई निद्रा नै थाहा छैन भने, तपाईं जो भए पनि वा तपाईंसँग जति नै भयंकर सामानहरू थुप्रिएका भए तापनि तपाईं बेहोस हुनुहुन्छ। बेहोसीमै त तपाईंले यो जीवनमा कैयौँ उधुमहरू मच्चाउनु भएको छ भने, होसमा आउँदा त तपाईं पृथ्वीलाई चार इन्च मास्तिर उठाइदिन समर्थ हुनुहुनेछ।

यसमा कुनै शंका?

यदि कुनै शंका उत्पन्न भए, राति निदाउँने बेलामा होसमा रहने प्रयास गर्नुहोस्। अनि बिहान ब्युँझदा याद गर्नुहोस् कि अघिल्लो रात कतिखेर निदाइयो र निद्रा कसरी आयो? निदाउने बेलामा के के विचारहरू आइरहेका थिए? के त्यतिबेला स्वासप्रस्वासमा तपाईंको ध्यान थियो? थियो भने, निदाउँने बेलामा के के आवाज र दृश्यहरू आए त?

मेरो दाबी छ, यदि तपाईंलाई जागरण र निद्राबिचको सेतुबारे थोरै मात्रै पनि हेक्का रहे, तपाईं अब नितान्त फरक व्यक्तित्वले ओतप्रोत भइसक्नु भएको छ। अब तपाईं मानवबाट महामानवको अभूतपूर्व यात्रामा सहभागी हुनुभएको छ।

निस्कर्ष

आज गुरु पूर्णिमा हो।

गुरु वा आध्यात्मिक गुरुबारे हामीले यहाँ अत्यधिक परिभाषाहरू पढिसक्यौँ। अनेक ब्याख्याहरू रटिसक्यौँ। मलाई त के लाग्छ भने, ध्यान केन्द्र वा साधनास्थली वा आध्यात्मिक डिपार्टमेण्ट स्टोरका नाउँमा यहाँ मान्छेहरू केवल स्मृति वा मेमोरीको किनबेच गरिरहेका छन्। ध्यान विचारभन्दा धेरै भित्रको तत्व हो। यसलाई कसरी विचारको ढक तराजुमा जोखेर र अनेक दाम तोकेर किनबेच गर्न सकिन्छ? जो अब्यक्त छ, त्यो कसरी धन्दा बन्न सक्छ?

लाओत्सुको अर्थमा अब्यक्त नै सत्य हो। तर, जो ब्यक्त भयो, त्यो स्वतः असत्य हो। अर्थात् अब्यक्त रहुन्जेल कुनै पनि ज्ञान सत्य हुन्छ। यसको बिपरीत जब त्यो ब्यक्त हुन्छ, तब त्यो असत्य भइसकेको हुन्छ।

तर निरन्तर चलिरहेको तपाईंको सास? अनि सासको आरोहअवरोह? सासका दुई शुक्ष्म अन्तराल? बस् सत्य तपाईंको निरन्तर चलिरहेको स्वासप्रस्वासमै छुपेर रहेको छ। सासभन्दा इतर कुनै सत्य छैन। सास नै आदि सत्य हो। अनि सास नै हो अन्तिम सत्य पनि।

अर्को महत्वपूर्ण सवाल, के हावाको जरुरत पानीले पूरा गर्न सक्छ?

जवाफमा भन्नु पर्ने हुन्छ, अवस्य सक्दैन।

त्यसै गरी ध्यानको जरुरत कसैका थोथा र दार्शनिक वाणी वा अक्षरले कदापि पूरा गर्न सक्दैन। स्मरण रहोस, अरु नाचेको हेर्नु र नाचमा आफू पनि सामेल हुनु नितान्त अलग कुरा हुन्। प्रेमको बारेमा अरुबाट सुन्नु र प्रेममा आफू पनि पर्नु नितान्त फरक कुरा हुन्। ध्यान हाम्रो सासमा छ। सासप्रतिको साक्षीभावमा छ। सास फेरेको हेक्का नराख्दा नै हामी विचारको क्यान्सरले ग्रस्त हुन पुगेका छौँ। सासको ध्यानले विचारहरू पछाडि पछाडि छाडिँदै जान्छन्। वा विचारहरू वशमा आउँछन्। त्यसपछि हाम्रो आध्यात्मिक खजानाको ढोका खुल्ल्छ।

बुद्धले भने, अत्त हि अत्तनो नाथो। अर्थात म नै मेरो गुरु हुँ।

यहाँ निस्कर्ष स्वरुप भन्दछु, हाम्रो स्वासप्रस्वास नै हाम्रो परम गुरु हो। अझ प्रष्ट भन्नुपर्दा, स्वासप्रस्वास उपरको तिक्ष्ण हेक्का नै हाम्रो सबैभन्दा महत्वपूर्ण र शक्तिशाली गुरु हो। यसैले हामीलाई कहीँ पुर्‍याउँछ। अर्थात् पार लगाउँछ।

धेरै खाएर भ्यात्त भुँडी लागेको वा उपवासको बहानामा शरीर सुकाएर सिन्को बनाएको साइकोप्याथ गेरु वष्त्रधारी कुनै मठाधीश वा ठगलाई गुरु देख्ने बानी परेको समाजमा गुरु वा ध्यान वा रुपान्तरणका नितान्त प्राविधिक कुराहरू गौण भएर गएका छन्। तर, पनि नामेट भएका छैनन्। कहिल्यै हुने पनि छैनन्।

खोजे भेटिन्छ, नैसर्गिक प्रज्ञा। तर कहाँ खोज्ने?

आँखा बन्द गर्नुहोस् र प्रत्येक स्वासप्रस्वासमाथि हेक्का राख्नुहोस्।

सास आइरहेछ ...

सास गइरहेछ ...

अनि अहिले भर्खर तपाईंभित्र अचानक एक द्रष्टाको उदय भएको छ।  

भर्खरै उदाएको त्यो द्रष्टा नै तपाईंको गुरु हो।

गुरु पूर्णिमाको उपलक्ष्यमा तपाईंलाई स्वजागरण अर्थात् सेल्फ अवेकनिंगको अथाह शुभकामना!



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell