PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

स्वर्णिम रहस्य : आध्यात्म र नैतिकताका सुत्रहरु



पहिलोपोस्ट

स्वर्णिम रहस्य : आध्यात्म र नैतिकताका सुत्रहरु

  • डा. राजिव घिमिरे -

अहिले मानिसले भुल्दै गएको भनेको आध्यात्म र नैतिकता हो। हरेक मानिस धन र प्रतिष्ठा कमाउन उद्धत छ। तर, अनुशासित जीवनप्रति गंभीर छैन। विना संवेदना अघि बढिरहेको अहिलेका अधिकांश मानिसहरु पढेका त छन् तर ज्ञानी छैनन्। उनीहरुले सर्टिफिकेट त हासिल गरे तर चेतनाको स्तर बढाउन सकेनन्। जसका कारण सिंगो समाज प्रताडित छ। समाज संवेदनाहिन बन्दै गएको छ। मानिसहरु एकअर्कालाई भेट्दा आत्मियताभन्दा ज्यादा आरिस मुखरित हुन थालेको छ।

सबैलाई आफ्नो जीवन निरस र अरुको प्रिय लाग्न थालेको छ। आफू भित्रभित्रै खोक्रिँदै मानिस रित्तो र एकांकी बाँचिरहेको छ। सबथोक भएर पनि किन मानिस खाली र खिन्न छ? किन उ खुशी हुन सकिरहेको छैन? यी र यस्तै प्रश्नहरुका जवाफ खोजिरहेको अहिलेको समयमा पठनीय कृति आएको छ — स्वर्णिम रहस्य।

लेखक खेम शर्माले आफ्ना अनुभवहरु र अध्ययनलाई गहिरो जीवन दर्शनमा ढालेका छन्। यो किताव आधुनिक समयको महत्वपूर्ण आध्यात्मिक पुस्तक हो। यसले हतार र चटारोमा आफ्नो जीवन दर्शन भुलिरहेकाहरुका लागि समयको महत्व बुझाउँछ। आफुलाई चिन्न र आफुभित्रको एक्लोपनालाई सहि रुपमा स्वीकार्न सिकाउँछ। हरेक सम्वन्धको मिठास र सामाजिक जीवन दायित्वभन्दा पर आफूप्रतिको प्रेम र आफूलाई गर्नुपर्ने सम्मान सिकाउँछ।

लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका खेम शर्माले मन र मस्तिष्क बिचको सन्तुलन र त्यसले व्यक्तिमा उत्पन्न हुने सकारात्मक उर्जालाई सम्वोधन गरेका छन्।

सफल र सार्थक जीवनको मापन मानिस अनुसार फरक हुन्छ। उसले बुझेको जीवनकै आधारमा हरेकले फरक फरक जीवनलाई मानक मानिरहेका हुन्छन्। जुन अज्ञानता र अबुझभन्दा बढ्दा केही होइन। पैसा कमाउनु र मान प्रतिष्ठा हासिल गर्नु मात्रै जीवनको सफलता होइन। सफल मानिसका मानक कुराहरु भन्नु नै उसको खुशी र सन्तुष्टी हुन्। हरसमय भागदौडमा व्यस्त मानिस शान्त र सन्तुष्ट बन्ने नाममा झन बढी व्यस्त भएको छ। लेखक खेमले स्वर्णिम रहस्यमा मानिसहरुका असन्तुष्टी र अप्ठ्याराहरुलाई व्यवहारिक रुपमा केलाएका छन्। उनले कितावमा सहज जीवनका सुत्रहरु समेटेका छन्। युवादेखि वृद्धसम्मका लागि उपयोगी र प्रभावकारी यो कितावले मन, बुद्धि, दृश्य, वाणी र श्रवण बिचको सन्तुलनलाई जीवन भनेको छ। कर्मन्द्रीय र ज्ञानेन्द्रीय बिचको सन्तुलनबाट मात्रै मानिसले सन्तोष र सुख भेट्छ भन्ने लेखकको ठहर छ।

यदि कोही आफूलाई आध्यात्मिक मार्गमा अगाडि बढ्न चाहन्छ भने यो पुस्तक व्यवहारिक आध्यात्मको पहिलो खुट्किलो हो। पुस्तक पढ्दै र सुत्रहरु लागू गर्दै गएमा जो कोहीले आफुलाई आध्यात्मको बाटोमा पाउने छ। भौतिक सुख सुविधाभन्दा पर मनको सन्तोष र शान्ति प्राथमिकतामा छ। त्यही कुरा खेमले कितावको मुल आधार बनाएका छन्। र, त्यसैमाथि जीवनका उपलब्धि र सार्थकताहरुलाई सहज बनाउन आवश्यक सुत्रहरु लेखेका छन्।

आजकालका मानिसमा व्यस्थता बढेको छ। पुग्ने कहाँ हो थाहा छैन तै पनि हिँडिरहेछ मानिस। सूचना प्रविधिको बढ्दो प्रयोग र आधुनिक बन्ने होडबाजीले मानिसमा नैतिकता र अनुशासन हराउँदै गएको छ। हरकोही सफल हुन चाहान्छ। तर, उसले अनुशासन बिर्सेको छ। उसले नैतिकता भूलेको छ। अहिलेका मानिस जसरी पनि धनी हुनुछ। प्रतिष्ठित हुनुछ। उसँग ज्ञान र असलपना होस् नहोस् तर सबैले मान्ने हुनुछ। यस्तो क्रियाकलापले हरेकलाई अस्वभाविक र अव्यवहारिक बनाउँदै लगेको छ। यही अवस्थामा मानिसले भुल्दै गएको नैतिकता पढाउन यो किताव सफल छ।

अहिलेको यो व्यस्त समाजमा धैर्यवान मानिस पाउनु निकै मुस्किल छ। हो, यही हतारोमा रहेका मानिसहरुलाई सम्वोधन गरेर खेम शर्माले स्वर्णिम रहस्य लेखेका हुन्। उनले जीवन शैलीमा गरिएको सामान्य सुधारले सहज जीवन जिउन सकिन्छ र त्यसका लागि थोरै प्रयासहरु नै पर्याप्त हुन सक्छ भन्ने लेखेका छन्।

पछिल्लो दुई वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले मानिसको दैनिकी बदलिएको छ। सोच्ने तरिका फेरिएको छ। मानिसले आफ्नो महत्व बुझेको छ। परिवार र समाजको महत्व र भूमिका बुझेको छ। स्वास्थ्यभन्दा ठुलो धन अरु केही छैन भन्नेमा मानिस प्रष्ट भएको छ। त्यसो त कोभिड कालले विश्वभरि समस्या ल्यायो। दुःख र हैरानी ल्यायो। तर यही हैरानीका बिच घरमा सीमित रहेका मानिसहरुले केही महत्वपूर्ण सृजनशील कामहरु गरे। त्यसैमध्येको एक महत्वपूर्ण उपलब्धि हो – स्वर्णिम रहस्य’ सफल र सन्तुष्ट जीवनका लागि। कोभिडकालमा घरको चार दिवारीभित्र सीमित रहेका बेला खेम शर्माले जीवनको गहिराईलाई अनुभूत गरे र कितावमा उतारे।

उनले कितावमा जीवनको रहस्यलाई लेखेका छन्। मानिसका असीम इच्छा र रहरहरुलाई सम्वोधन गरेका छन्। आध्यात्मवाद र भौतिकवादको दोबाटोमा उभिएर अनुशासित, सुखी र सफल बन्न उत्पे्ररणा दिएका छन्। आध्यात्मलाई बैज्ञानिक र व्यवहारिक रुपमा लेखेका छन्। विदेशी भूमिमा रहेर कोरोना कालमा खेमले चेतनाको यात्रा गरे। त्यही चेतनाको यात्रामा उनले लेखेको अनुपम कृति हो यो। यसभित्र खेमले सफल जीवनका सरल विधिलाई २५ बुँदामा सुत्रबद्ध गरेका छन्। उनले काम र विश्राम बिचको सन्तुलन, समय र परिस्थिति बिचको तालमेल तथा मनोविज्ञान र शरीर बिचको सम्वन्धलाई सजिलोसँग लेखेका छन्। ज्ञान र चेतनाको अन्तर्य नबुझेर दुःखी भएका मानिसहरुलाई खेमले सुखउन्मुख जीवनका सुत्रहरु सिकाएका छन्। उनले मानिसलाई आफैभित्र निहाल्न अभिप्रेरित गरेका छन्। आफैलाई प्रेम गर्न जान्नेले मात्र दुनियालाई प्रेम गर्न सक्छ भन्ने लेखेका छन्।

स्वर्णिम रहस्य भित्रका हरेक हरफ धार्मिक र आध्यात्मिक कितावका सुक्तिजस्ता छन्। कति लाइनहरु त् अण्डरलाइन गर्दै पढ्न मनलाग्छ। कति बुँदाहरु जीवनको नियमिततामा अपनाउन मन लाग्छ। साच्चै हरेकको जीवन बदल्न यसका सुत्रहरुले अभिप्रेरित गरिरहेका छन्। अब किताव पढ्ने तपाई हामी कसरी आफूलाई आफूमा केन्द्रीत गर्न सक्छौं भन्ने कुरा महत्वपूर्ण हो। खेम त हामीलाई बदल्न प्रयासरत छन्। अव तपाईँ हाम्रो प्रयासको मात्र खाँचो छ।

किताबले आफ्नो बारे सोच्न सिकाउँछ। आफूभित्र नपसी संसार बुझिदैन भनेर बताउँछ। हरेकलाई आफ्नो जीवनबारे सोच्ने र आफ्नो समयलाई सम्मान गर्ने बनाउँछ।

व्यवहारिक शिक्षा र अनुशासनले भरिएको यस कितावले आत्मअनुशासन सिकाउँछ। यहाँभित्रका २५ सुत्रलाई अनुशरण गरेर जो कोही पनि सहज जीवन बाँच्न सक्छन्। हरेक मानिसका लागि यो किताव निकै उपयोगी छ।

पुस्तक : स्वर्णिम रहस्य

विधा : दर्शन

प्रकाशक : प्रिती दाहाल शर्मा

संस्करण : २०७८ पहिलो

पृष्ठ : १६०

मूल्य : ४०० रुपैयाँ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell