PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नयाँ जीवनको पर्खाइमा पल्पसा, आर्थिक सहयोग संकलन नगर्न अस्पतालबाटै आग्रह



लक्ष्मी बलायर

नयाँ जीवनको पर्खाइमा पल्पसा, आर्थिक सहयोग संकलन नगर्न अस्पतालबाटै आग्रह

कहिले मञ्चमा कम्मर मर्काइरहेको या हाँस्य टेलिश्रृङ्खलाको दृश्यमा दर्शक हसाइरहेकी हुन्थिन् हाँस्यकलाकार पल्पसा डंगोल। दर्शकले चम्सुरी भनेर चिन्ने उनी अहिले भने फरक अवस्थामा भेटिन्छिन्। मनोरञ्जन र रमाइलो भन्दा फरक अवस्था।

शिक्षण अस्पताल, महाराजगंज। नेफ्रो वार्डको क्याबिन नम्बर ३०६। फुस्रो मुहारमा पनि मुस्कान बोकेर आगन्तुकलाई स्वागत गर्दै थिइन् उनी। आडैमा बसेकी थिइन् कलाकार दीपा श्री निरौला। आफूलाई अभियान्ता भनेर चिनाउने ज्वाला संग्रौला पल्पसातिरै हेरेर बोलिरहेकी थिइन्,’हामी त सानै देखि हजुरको प्रोगाम हेरेर हुर्केको। बिरामी भएको सुन्दा साह्रै पिर लाग्यो।'

हाँस्न खोजे पनि पल्पसाका सुन्निएका आँखामा आँशु प्रष्ट देखिन्थ्यो। बोल्न सक्ने अवस्थामा भने थिइनन्। साथी विद्या बज्राचार्यले घरी उनलाई पानी खुवाउथिन् त घरी खुट्टा मालिस गरिदिन्थिन्। टिलपिल आँखा लिएर बसेकीदीपाश्रीले पनिउनलाईचाँडै ठीक हुने सान्त्वना दिइहरेकी थिइन्।

त्यसैबेला ज्वाला बोलिन्, 'केपी ओलीले पनि त ६८ वर्षको उमेरमा मिर्गौला प्रत्यारोपण गर्नुभएको हो नी। हजुरलाई पनि ठीक हुन्छ केही हुँदैन दिदी।'

विहीवार साँझ मात्र उनको डायलासिसभएको रहेछ। भर्ना भएदेखि कति पटक डायलासिस गरियो? भन्ने प्रश्नमा पल्पसाकी साथी विद्या बज्राचार्य द्वविधामा परिन्। पल्पसाले हामीतर्फ हेर्दै इशारा गरिन् ‘पाँच।’

पाँच वर्षअघि पहिलोपटक मिर्गौलाको समस्या देखिएको हो उनलाई। तर, परिवारका कसैलाई पनि उनले यसबारे जानकारी दिइनन्। दुई छोरीहरू समेत उनको समस्याबारे अनभिज्ञ थिए।

साह्रै मिल्ने साथी विद्याले पनि पल्पसाको अस्वस्थताबारे एक महिनाअघि मात्र थाहा पाएकी रहेछिन्।

'सास फेर्न गाह्रो भएपछि अस्पताल ल्यायौं। त्यसपछि समस्या लुकाएको थाहा भयो।‍ औषिधले ठीक पार्छु भनेर संघर्ष गिररिहन्। तर अन्त्यमा दुबै मिर्गौला फेल भए,' विद्याले सुनाइन्।

एकमहिना अघि टिचिङ अस्पताल भर्ना गरिएको थियो पल्पसालाई। करिब दुई हप्ताको उपचारपछि डिस्चार्जपनि भइन्। ठीक दुई दिन पछि उनलाई समस्याले च्याप्यो। र, फेरि अस्पताल भर्ना हुनुपर्‍यो। दुई साता भयो उनी सबैले थाहा पाउने गरी पीडासँग जुँधिरहेको। यो सबै एक्लै गर्नुपर्दा कस्तो भयो होला?

आमाको दुबै मिर्गौला फेल भएको खबर सुनेपछि जेठी छोरी लुनिधाले आफ्नो एउटा मिर्गौला दिन खोजेकी थिइन्। तर, उनी उमेरले १९ वर्षकी मात्र भइन्। उमेर हद्का कारण पाइनन्। नेपालमा कानूनत: २० वर्ष पुगेपछि मात्रै मिर्गौला दान गर्न मिल्छ। परिवारका अन्य सदस्यमा कसैलाई प्रेसर, कसैलाई सुगरको समस्या। त्यसैले उनका आमाबुबा अनि भाइले पनि मिर्गौला दिन पाएनन्।

अरु धेरैले मिर्गौला दिन चाहेको बिद्याले सुनाइन्। भन्छिन्,'बाहिरबाट धेरैले म किड्नी दिन्छु भनिरहेका छन्। तर, कानुनले त्यो पनि छेक्यो। परिवारबाहेकका अरुले मिर्गौला दिन मिल्दैन। उसलाई त दर्शकले धेरै माया गर्ने रहेछन्। जुन कुराले उनको आत्मविश्वासभने बढेको छ।'

हाल भने परिवारका तीन जनाको प्रत्यारोपणका लागि स्वास्थ्य परीक्षण भइरहेको छ। उनीहरू मध्ये कोही मिर्गौला दिन योग्य ठहरिए पल्पसाको प्रत्यारोपणलाई पहिलो प्राथमिकतामा राखिने डाक्टरले बताएका छन्।

पल्पसाले पहिलोपटक दीपा श्री निरौलालगायत अन्य कलाकारहरुलाई आफ्नो अवस्था बारे सुनाएकी थिइन्। त्यसपछि दिपाले भेट्न गएको फोटो फेसबुकमा राखेर पल्पसाको अवस्थाबारे जानकारी दिइन्। पल्पसाको किड्नी फेल भएको खबर बाहिरिएसँगै कतिले उनका लागि आर्थिक सहयोगसमेत माग्न थाले। तर पल्पसालेभने आफ्नो लागि आर्थिक रकम नउठाउन आग्रह गरेको दीपाले सुनाइन्।

'सुरुमा दिदी निकै डराउनु भएको थियो। तर अहिले सबैको माया र साथले उहाँलाई निको हुन्छुर बाँच्छु भन्ने आत्मबल बढेको छ। नेपालमै उपचार गर्नको लागि उहाँसँग पैसा छँदैछ। त्यो भन्दा बढी लागेमा आफै आह्वान गर्ने भन्नु भएको छ', दीपाले भनिन्।

हाँस्य सिरियल ‘मेरी बास्सै’मा अभिनय गरेपछि पल्पसालाई दर्शकले ‘चम्सुरी’ नामले चिन्दै आएका छन्। विभिन्न फिल्म र टेलिसिरियलमा अभिनय गरिसकेकी डंगोलले टेलिसिरियल ‘दृष्टी’  पनि निर्माण गरेकी थिइन्।

सानैदेखि नृत्यमा रुचि राख्ने डंगोलले म्युजिक भिडियोहरू पनि अभिनय गरेकी छन्।साथै उनले नेपालको दोस्रो मिस नेपालमा उत्कृष्ट पहिरनको अवार्ड जितेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell