PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

नखुलेका क्षेत्रलाई के? उपत्यकाभित्रको निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने अन्योल



पहिलोपोस्ट

नखुलेका क्षेत्रलाई के? उपत्यकाभित्रको निषेधाज्ञाको मोडालिटी कस्तो बनाउने भन्ने अन्योल

काठमाडौं : जिल्ला प्रशासन कार्यालययले शुक्रवार सूचना जारी गर्दै लामो तथा मध्यम दुरीका सार्वजनिक सवारी सञ्चालन गर्ने यातायात व्यवसायीलाई अनुरोध गरेको छ। प्रशासनको अनुरोधपछि केही यातायात व्यवसायीले सार्वजनिक सवारी चलाउन थालेका छन्। तर, यात्रु भने कमै छन्। 

देशभर कोरोनाको दोस्रो लहर देखिएपछि ७५ वटा जिल्लामा निषेधाज्ञा लागू भयो। केही समय सबै क्षेत्र ठप्प नै भयो। तर, अहिले धेरै जिल्लामा निषेधाज्ञा हट्दै गएको छ। निषेधाज्ञा भएका जिल्लाहरूमा पनि त्यो शब्दमा मात्र सीमित देखिन्छ।

काठमाडौं उपत्यकाभित्र अहिले अधिकांश क्षेत्र खुलेका छन्। त्रिभुवन विश्वविद्यालय लगायतले लिने परीक्षा समेत सञ्चालन हुन थालेको छ। सार्वजनिक सवारीमा मापदण्डबिना नै दौडिएको देख्न सकिन्छ। जसको परिणाम फेरि कोरोना सङ्क्रमित बढ्न थालेको छ। काठमाडौंमा घटेर ३ सयसम्म पुगेको संक्रमितको सङ्ख्या अहिले फेरि उकालो लागिसकेको छ। दैनिक ७ सय संक्रमित थपिन थालेका छन्। काठमाडौंमा मात्र होइन देशभरकै संक्रमितको सङख्या १५ सयबाट बढेर अहिले दैनिक ३ हजार छुन लागेको छ। त्यसैले स्वास्थ्य मन्त्रालयले संक्रमण बढ्ने देखिएको भन्दै सचेत रहन अनुरोध गरेको छ।

यसरी संक्रमण थपिँदै जाँदा खुकुलो बनाएको क्षेत्रलाई फेरि कडाइ गर्ने वा कस्तो मोडालिटीमा जाने भने अन्यौलता देखिएको छ। काठमाडौं उपत्यकाभित्र पछिल्लो पटक थपिएको निषेधाज्ञाको समय भोलि रातिबाट सकिँदैछ। त्यसैले अब के गर्ने भन्ने अन्यौलता देखिएको छ।

'अहिले नै के गर्ने भन्ने निर्णय भएको छैन। भोलि फेरि सम्बन्धित निकायका पदाधिकारीहरूसँग बसेर निषेधाज्ञाको मोडालिटी तयार पार्छौं,' काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भने।

सरकारले संक्रमण रोक्न कोरोना विरुद्ध खोप दिइरहेको छ। तर, पर्याप्त खोप नहुँदा मानिस घण्टौँ लाइनमा बसेर फर्किन बाध्य छन्। सरकारले खोप सबैलाई लगाउने घोषणा गरे पनि कहिलेसम्म मानिसले खोप पाएर अवस्था सामान्य तर्फ फर्केन भन्ने टुङ्गो छैन। त्यसो त केही दिन अघिमात्र सरकार परिवर्तन भएको छ। सबै मन्त्रालयमा मन्त्रीहरू समेत छैनन्। कोरोना सङ्क्रमणको यस्तो अवस्थामा स्वास्थ्य मन्त्रालय नै मन्त्रीविहीन छ। जसले गर्दा पनि केही नीतिगत र कानुनी कुराहरू मार्फत स्वास्थ्य सम्बन्धी काम गर्न समस्या देखिएको छ।

काठमाडौं उपत्यकाभित्र संक्रमित थपिँदै जाँदा स्थानीय प्रशासनले भने निषेधाज्ञा थप गर्ने देखिएको छ। तर, अहिलेकै अवस्थामा निषेधाज्ञाको समय थप गर्नुले यो पनि शब्दमा मात्र सीमित निषेधाज्ञा हुने देखिएको छ।

'निषेधाज्ञा थप गर्ने कुरा भएको छ। तर कस्तो मोडालिटीमा गर्ने भन्ने छलफल हुँदै छ,' सीडीओ पराजुलीले भने। निषेधाज्ञा मात्र कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको विकल्प होइन। सबैलाई खोप र संक्रमण भइसकेपछि उपलब्ध स्वास्थ्य सेवाको सहज पहुँच नहुँदासम्म भने निषेधाज्ञा नै रोकथामको विकल्प भने बन्न सक्छ। तर त्यसको प्रभावकारी कार्यान्वयन झनै आवश्यक देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell