काठमाडौं: २०१९ को डिसेम्बर अन्त्यतिर चीनको हुपेई प्रान्तको वुहानमा पहिलोपटक पुष्टि भएको कोभिड-१९ को संक्रमण विश्वभर फैलिरहेको छ। कतिपय देशमा कोभिड-१९ को तेस्रो लहर चलिरहेको छ भने कतिपय देश तेस्रो लहरको त्रासमा छन्।
कोभिड-१९ को संक्रमण स्रोत तथा सुरुवाती स्थान कुन ठाउँ हो भन्ने वैज्ञानिक रुपमा पुष्टि भएको छैन। यद्यपि वुहानलाई कोभिड-१९ को ‘आउटब्रेक इपिसेन्टर’ मानिँदै आएको छ। वुहानको सी फुड मार्केटबाट भाइरस मानवमा सरेको मानिँदै आए पनि त्यसको वैज्ञानिक पुष्टि भइसकेको छैन। अर्कोतिर अमेरिकालगायतका पश्चिमा राष्ट्रहरु कोभिड-१९ वुहानस्थित वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट बाहिरिएको आरोप लगाउँदै आएका छन्।
अमेरिका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनको प्रशासनले यसलाई कन्स्पिरेसी थ्योरीका रुपमा स्थापित गर्दै चीनमाथि आक्रमण गर्दै आएका थिए। उनको प्रशासनले कोभिड-१९ लाई ‘फरेन भाइरस’, ‘चाइना भाइरस’, ‘वुहान भाइरस’ जस्ता नाम दिँदै आएका थिए।
अहिले चीनले कोभिड-१९ को उत्पत्ति का विषयमा अमेरिकामाथि आक्रमण गर्न थालेको छ। अमेरिकी सेनाको फ्युचर कमाण्ड म्यारिल्याण्ड राज्यको फ्रेडेरिकमा रहेको प्रयोगशाला ‘फोर्ट डेट्रिक’बाट कोभिड-१९ बाहिरिएको हुन सक्ने भन्दै अनुसन्धान गर्न चीनले माग गरेको छ। अहिलेसम्म ५० लाख चिनियाँ नागरिकले विश्व स्वास्थ्य संगठन डब्लुएचओलाई खुला पत्र लेख्दै कोभिड-१९ को विषयमा फोर्ट डेट्रिकमाथि छानविन गर्न माग गरेका छन्।
चिनियाँ विदेश मन्त्रालयले पनि विश्वभरबाट फोर्ट डेट्रिकमाथि छानविन गर्न आवाज उठिरहेको भन्दै अमेरिकाले यसको जवाफ दिनुपर्ने बताएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियनले बुधबारको प्रेस ब्रिफिङमा ५० लाख चिनियाँले पाँच दिनमा खुला पत्रमा हस्ताक्षर गरिसकेको भन्दै अमेरिकाले कोभिड-१९ को विषयमा देखाएको राजनीतिक पूर्वाग्रहको परिणाम भएको बताएका थिए।
उनले अमेरिका यस विषयमा पारदर्शी बन्दै उनीहरुको देशमा कोभिड-१९ को स्रोतको बारेमा अनुसन्धान गर्नुपर्ने बताएका छन्। साथै उनीहरुले फोर्ट डेट्रिकसहितका अमेरिकी २०० बढी जैविक प्रयोगशालामाथि अनुसन्धान हुनुपर्ने बताएका छन्।
प्रवक्ता चाओले पछिल्लो एक सातायता पटक-पटक ट्वीट गर्दै फोर्ट डेट्रिकको विषयमा कुरा अमेरिकामाथि प्रश्न उठाइरहेका छन्। २०२० को मार्चमा नै फोर्ट डेट्रिक ल्याबको विषयमा पारदर्शी सूचना माग गरिएको थियो। त्यति बेलै अमेरिकासँग ल्याब र कोरोना भाइरस (सार्स सीओभी-२) सँग सम्बन्ध छ वा छैन भन्ने विषयमा स्पष्ट सूचना माग भएको थियो।
के हो फोर्ट डेट्रिक?
फोर्ट डेट्रिक अमेरिकी सेनाले सञ्चालन गरेको जैविक प्रयोगशाला हो। सुरुवातमा यो अमेरिकी जैविक हतियातर कार्यक्रमको केन्द्र थियो- सन् १९४३-१९६९ सम्म। यो कार्यक्रम रोकिएपछि यो प्रयोगशालाले अमेरिकी जैविक सुरक्षा कार्यक्रमको अंग रुपमा रहेको थियो।
यो प्रयोगशालामा विश्वका घातक भाइरसहरुको बारेमा अध्ययन भएको छ। २०१० को सुरुवातमै फोर्ट डेट्रिकको १३, हजार एकर क्याम्पसले बहुसरकारी समुदायलाई वायोमेडिकल अध्ययन तथा विकासका लागि उपलब्ध गराएको थियो। साथै यस ल्याबमा विदेशी प्याथोजनको बारेमा अध्ययन भएका थिए। यो प्रयोगशाला इबोला, स्मल पक्सलगायतका प्याथोजनको रिसर्चमा चिनिएको थियो।
फोर्ट डेट्रिकमा अमेरिकी सेनाको मेडिकल रिसर्च एण्ड डेभलभ्मेन्ट कमाण्ड र उसको बायो डिफेसन्स एन्जेन्सी, अमेरिकी सेनाको मेडिकल रिसर्च इन्स्टिच्युट अफ इन्फेक्सियस डिजिज, नेशनल क्यान्सर इन्स्टिच्युट- फ्रेडेरिक, नेशनल इन्टरएजेन्सी कन्फेड्रेसन अफ बायोलोजिकल रिसर्च र नेशनल इन्टरएजेन्सी बायो डिफेन्स क्याम्पस सञ्चालित थिए।
दोस्रो विश्वयुद्ध, शीतयुद्ध लगायत युद्धकालीन समयमा क्पाम्प डेट्रिट सक्रिय हुँदै आएको थियो। त्यहाँ जैविक हतियारको अध्ययनका लागि विभिन्न प्राणघातक हतियारको अध्ययन हुँदै आएको थियो। यस प्रयोगशालामा काम गर्ने क्रममा त्यहाँ काम गर्नेहरुको पटक-पटक मृत्युसमेत भएको छ।
सन् २००९ मा एचपी अल्बारेलीले ‘अ टेरिवल मिस्टेक: दि मडर अफ फ्रांक ओल्सन एण्ड सिआईएस सेक्रेट कोल्ड वार एक्सपेरिमेन्ट’ नामक पुस्तकमा प्रयोगका क्रममा फ्रांक ओल्सनको मृत्युको विषयमा उल्लेख छ।
यो प्रयोगशाला विभिन्न कन्स्पिरेसी थ्योरीमा घेरिँदै आएको छ। त्यस्तै सन् ९० को दशमा जर्मनीका वैज्ञानिकले फोर्ट डेट्रिकबाट अमेरिकाले एचआईभीको विकास गरेको आरोप लगाएका थिए।
किन बन्द गरियो प्रयोगशाला?
अगस्ट २०१९ मा यो प्रयोगशालालाई बन्द गरियो। सीडीसीले अमेरिकी सैन्य प्रयोगशालालाई अस्थायी रुपमा बन्द गरेको थियो। सीडीसीले बन्द गर्नुको कारण नखुलाए पनि ल्याबको तर्फबाट पूर्वाधारसम्बन्धी समस्याका कारण बन्द गरिएको बताएको थियो। जसमा प्रदूषित पानी प्रशोधनको समस्या देखाइएको थियो।
त्यतिबेला सीडीसी प्रयोगशाला अनुमनका क्रममा मापदण्ड उल्लंघन भएको र कतिपय गम्भीर समेत भएको जनाइएको थियो।
त्यसको एक वर्ष अगाडि अमेरिकी सेनाको मेडिकल रिसर्च इन्स्टिच्युटले फोर्ड डेट्रिक ल्याबमा इबोला भाइरसबाट सक्रिय संक्रमित बाँदरहरुलाई लिएर अध्ययन गर्ने घोषणा गरेको थियो।
सीडीसीले गरेको अनुगमनमा स्वास्थ्य सतर्कतासम्बन्धी मापदण्डहरु पालना नभएको, प्रयोगशालामा काम गर्ने कर्मचारीलाई प्रशिक्षण नदिएको, अमेरिकी सेनाको मेडिकल रिसर्च इन्स्टिच्युटले प्रणालीगत रुपमा बायोसेफ्टी र सुरक्षका सावधानी अपनाउन असफल भएका जस्ता गम्भीर कमजोरी देखाएको थियो।
शीतयुद्धताकादेखि नै अमेरिकी जैविक युद्ध तथा हतियारसम्बन्धी केन्द्रको रुपमा फोर्ट डेट्रिकमा अनुसन्धान गर्ने क्रममा प्राणघातक भाइरस तथा प्याथोजन बाहिरिने डरले बन्द गरिएको थियो।
पछि सन् २०२० को अप्रिलमा सीडीसीले प्रयोगशाला सञ्चालनमा लगाइएको प्रतिबन्धलाई हटाएको थियो।
किन तानियो फर्ट डेट्रिट कोभिड-१९ मा?
कोभिड-१९ को पहिलो लहरले विश्व आक्रान्त बनिरहेका बेला चीन आफ्नो देशमा संक्रमण नियन्त्रणका लागि एकोहोरो रुपमा लागिरहेको थियो। अमेरिका चीनलाई आरोप लगाउँदै गर्दा संक्रमण नियन्त्रणमा असफल हुँदै गयो। अमेरिकामा अहिले कोभिड-१९ को तेस्रो लहरसँगै डेल्टा प्लस भेरियन्ट संक्रमण फैलिरहेको छ। चीन हेल्थ डिप्लोमेसीमा अगाडि बढिरहेको छ।
यस्तोमा गत मे १६ मा अमेरिकी राष्ट्रपति जो बाइडेनले सीडीसीलाई कोभिड-१९ को उत्पत्ति को बारेमा अनुसन्धान गर्न र यसको सम्बन्ध अमेरिकी प्रयोगशालामा भए नभएको अध्ययन गरी ९० दिनभित्र रिपोर्ट पेस गर्न निर्देशन दिए।
यसको भोलिपल्ट नै चीनले त्यसको खण्डन गर्यो। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियनले अमेरिकालाई प्रतिप्रश्न गरेका- शंकास्पद रुपमा लुकाइएको फोर्ट डेट्रिक र विश्वका विभिन्न अस्थानमा रहेका अमेरिकी २०० बढी बायो ल्याबभित्रको रहस्य के हो?
त्यसयता अमेरिकी कूटनीतिज्ञ, अधिकारी तथा चिनियाँ सरकारी सञ्चार माध्यमहरुले यसलाई उठाइरहेका छन्। प्रवक्ताको प्रेस ब्रिफिङ यता अमेरिकी ३५ प्रमुख अधिकारी र सरकारी मिडिया आउटलेटहरुले ११५ ट्वीट गर्दै फोर्ट डेट्रिक उल्लेख गरेका छन्।
अमेरिकाले पटक-पटक वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको अध्ययन गर्न माग गर्दै गर्दा चिनियाँ अधिकारीहरुले दोहोर्याएका छन्- ‘तिमीले तिम्रो देखाउ र हामी हाम्रो देखाउने छौँ।’
यही अभियान स्वरुप अहिले फोर्ट डेट्रिकविरुद्ध चिनियाँहरु आवाज उठाइरहेका छन्।
सन् २०१९ को अक्टोबरमा भएको वर्ल्ड मिलिटरी गेममा सहभागी अमेरिकी डेलिगट्सबाट वुहानमा भाइरस आएको हुन सक्ने भन्दै ती खेलाडीको स्वास्थ्य रिपोर्ट मागिएको थियो। अमेरिकी सैन्य खेलाडी कोभिड-१९ को ‘पेसेन्ट जिरो’ हुन सक्ने भन्दै ग्लोबल टाइम्समा २०२० को मार्चमा नै समाचार प्रकाशित गरेको थियो। त्यतिबेला सैन्य कूटनीतिज्ञ तथा खेलाडी मात्जे बेनास्सी वुहानमा खेलका क्रममा पुगेका थिए। उनलाई पहिलो संक्रमित हुन सक्ने दाबी गरिएको थियो।
यतिबेला फोर्ट डेट्रिक र वुहान इन्स्टिच्युट अफ भाइरोलोजी एक अर्काविरुद्ध कोभिड-१९ को उत्पत्ति सम्बन्धी न्यारेटिभ बनाउन लागि परेका छन्।
यसमा अलिक आश्चर्य के भने अधिकांश अमेरिकी जनताहरुलाई वासिङटनबाट एक घण्टाको यात्रामा पुगिने फोर्ट डेट्रिक सुनेका छैनन् र अमेरिकाको जैविक हतियार कार्यक्रमको बारेमा अनविज्ञ छन्। तर, लाखौँ चिनियाँ नेटिजनहरु यसको बारेमा जानकार भएका छन् र यस बारेमा अमेरिकामाथि प्रहार गर्ने लडाकु कूटनीतिज्ञको रुपमा काम गरिरहेका छन्।
अमेरिकाले वुहान ल्याब कन्स्पिरेसी थ्योरीलाई अगाडि बढाउँदा चीनले पनि फोर्ट डेट्रिकको कन्स्पिरेसी थ्योरी निर्माण गरेर अगाडि बढेको छ।
चिनियाँ सामाजिक सञ्जाल विवोमा फोर्ट डेट्रिकको चिनियाँ नाममा ह्यासट्यागसहित २७ करोड बढी पोस्ट भएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
जस्तालाई त्यस्तै नीति अनुरुप चीनले प्रतिकार तथा प्रतिप्रश्न गरेको हङकङको बाप्तिस्ट विश्वविद्यालयका प्रध्यापक जिन पिइरे काबास्टनले भनेका छन्।
यसअघि डब्लुएचओको टोली वुहान पुगेर अध्ययन गरी वुहान ल्याबबाट भाइरस बाहिरिएको कुनै संकेत फेला नपरेको रिपोर्ट सार्वजनिक गरेको थियो।
फेरि पनि डब्लुएचओले वुहानमा अध्ययन गर्ने बताउँदा चीनले त्यसलाई अस्वीकार गर्दै अमेरिकी प्रयोगशालामा पनि अनुसन्धान गर्नुपर्ने बताएको छ।