महेन्द्रनगर : दिनरात आवतजावत गर्ने घर नजिकैको सडकसँग जोडिएको खोल्सोमा जब पानी भरिएर आउँछ, दुर्गा देवीको मन पनि त्यसैत्यसै भरिन्छ। बोटविरूवाले झ्याम्म छोपिएको खोल्साको दृश्य देख्दा उनी अन्धकार महसुस गर्छिन्।
यो साउन महिना दुर्गादेवी सम्झनै चाहन्नन्। त्यो साउनको झरी उनका लागि पीडाको यादमात्र बोकेर आइरहन्छ। २०७५ साल साउन १० गते दिउँसोदेखि नै पानी परिरहेको थियो। खेतमा पानी टिलपिल। खोल्साहरु सबै भरिभराउ। त्यसै दिन हराइकी छोरी खोज्न यही बाटोमा रातभर भौतारिएकी थिइन् उनी।
भोलिपल्ट बिहान खोल्सोको पारिपट्टी १३ वर्षीया छोरी निर्मला पन्त मृत अवस्थामा फेला परेकी थिइन्। त्यसैले दुर्गादेवीलाई अहिले पनि साउनको यो समय र सधैं हिँड्नुपर्ने बाटोले पीडामात्र सम्झाइरहन्छ।
तीन वर्ष भइसक्यो दुर्गादेवीले 'छोरीको हत्यारा खोइ' भन्दै न्याय मागेको। यी तीन वर्षमा दुर्गादेवीको घरका भित्ताका रङ्ग फेरियो तर मनमा जमेको पीडाको तुवालो हट्ने संकेतसमेत पाएकी छैनन्। छोरीको हत्यारा पत्ता नलागेसम्म त्यो हटोस् पनि कसरी?
त्यसैले, प्रश्नहरू केवल सोध्नका लागिमात्रै बनेका हुन जस्तो लाग्न थालेको छ, जबसम्म तिनबाट कुनै जवाफ मिल्दैन भने। जवाफ नपाए पनि दुर्गादेवी पन्त प्रश्नमा अडिग छिन् - न्याय खोइ?
त्यसो त न्यायका लागि उनीप्रति समानुभूति गर्दै घरमा पुग्नेहरु फाट्टफुट्ट आउजाउ गरिरहेकै छन्। यसरी आउनेहरुका जिज्ञासामा जवाफ दिन्छिन् उनी। तर, आफैँ अनुत्तरित छिन् - किन मारिइन् छोरी? अपराधी कहिले पर्छन् जेलमा?
+++
निर्मलाको हत्या भएको तीन वर्षपछि उनको घरमा पुग्दा प्लास्टिकका तिनै पुराना कुर्सी थिए। घरका भित्ताका रङ्ग भने फेरिएको रहेछ। उज्यालिएको भित्ताका रङले दुर्गादेवीको मुहार किन चहकिन सक्थ्यो र?
आशा र निराशाले दोमन बनाएको छ उनलाई। खुशी भइहाल्नुपर्ने ठाउँ छैन। 'केके सोध्नुहुने हो सोध्नुस्। मैले त प्रश्नको उत्तर दिनुपर्ने मात्रै हुने भयो,' उनले भनिन्।
गएको तीन वर्षमा दुर्गादेवीको जीवनमा आशा गरेर कुर्नुबाहेक केही भएन। छोरीको न्याय र अपराधी परको कुरा जस्तो लाग्न थालिसेको छ उनलाई। किनकि निर्मलाको बलात्कारपछि हत्या भएको तीन वर्ष पुग्यो। यी तीन वर्षको अवधिमा निर्मलालाई न्याय दिन्छौँ भनेर सुरक्षा संयन्त्रका उच्च अधिकारीमात्रै होइनन्, प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीले समेत दुर्गादेवीलाई भेटे। आश्वासन दिए। अनि फर्किए। सायद आश्वासन दिनेले नै भुलिसके कि!
प्रहरीको अनुसन्धानदेखि र लैंगिक हिंसासम्म जोडेर अनुसन्धानमा उत्रिनेहरुले उनीसँगै बारम्बार सोधखोज गरिरहे। विवरण लिइरहे। तर, उनले दिएका जानकारीबाट प्रतिफल के त? न्याय नपाई आश्वासनका शब्दहरुले सन्तोष देवस् कसरी?
त्यसैले दुर्गादेवी पन्तलाई यस्ता प्रश्नले पनि अर्थ राख्न छाडेको छ। र, दुखद् के हो भने - न्याय पाइएला भन्ने आशाको राप बिस्तारै फितलो हुँदै गएको अनुभूति गरिरहेकी छिन्। घटनाको अनुसन्धानमा आउनेहरु होस् वा राज्यसत्ता सञ्चालन र निर्णायक तहको नयाँ नेतृत्व, उनलाई भेट्न आउँदा झिनो नै सही न्यायको भीख मागिरहन्छिन्। तर, जबजब त्यस्ता मानिसको बोली र व्यवहारमा फरक देख्छिन्, डेरा जमाउन फर्किन्छ उही निराशा। गएका तीन वर्ष दुर्गादेवीको यसैगरी बित्यो।
'प्राय एउटै खालका प्रश्नले मन शान्त होइन झन् अशान्त त बनाउँदो रहेछ,' बारम्बारको अनुसन्धानका प्रश्नहरुबाट आजित भइसकेकी छिन् उनी। तै पनि हरेक पटक उत्तर खोज्न आउनेबाट पो केही भइहाल्छ कि! आशाको मुहान रसाइहाल्छ उनमा। सयौंले आश्वासन बाड्दै गए तर केही भएन।
घरपरिवार, समाज, छोरीहरू र अहिलेको दैनिकीका विषयमा सोधिने प्रश्न झिँझोलाग्दो भइसक्यो उनलाई। तर, नबोलेर पनि के गर्ने?
'अनुसन्धान गर्न नयाँ मान्छे आउँछन्। उनै पुरानै प्रश्नहरू दोहोर्याउँछन्, जान्छन्,' उनले सुनाइन्, ‘यो तीन वर्षको अवधिमा छोरीलाई न्याय मिल्ला भनेर मेरो जति प्रश्नहरूको जवाफ त कसले दियो हो र? तर नयाँ मानिस आउँछन्, उनै मन दुखाउने प्रश्न मात्रै दोहरिइरहन्छन्। अब न्याय पाउने दिन आउला भनेर त मनमा लाग्न छोडिसक्यो।’
प्रहरीहरु आएपछि 'हामी अनुसन्धान गरिरहेका छौँ केही न केही त परिणाम दिएर जान्छौँ' भन्दा दुर्गादेवीको मनमा केही आशाका किरण चम्कन थाल्छ।
तर, हप्ता हैन, वर्षौं कुर्दा पनि त्यस्ता आश्वासन पूरा भएका छैनन्। ‘गर्न चाहेपछि त गर्न सक्छन्। अपराधी पत्ता लगाउन सक्छन् भन्ने मलाई लाग्छ। तर हल्लाका पछि लागेकाहरूले मेरो यो चित्कार कहाँ सुनिदिने?,’ दुर्गादेवीले प्रश्न गरिन्।
निर्मलालाई न्याय दिन कसैले नसकेको भए पनि आफ्नो जस्तो पीडा र यस्तो घटना अब कहिल्यै नदोहरियोस् भन्ने चाहन्छिन् उनी।
'मेरो छोरीले त न्याय पाइनन्, तर एउटी आमाले आफ्नै छोरीको यसरी हत्या भएको देख्नु नपरोस्,' उनले भनिन्।
छोरा नजन्माएको भन्दै एक दशकभन्दा लामो समयदेखि भोग्नुपरेको पीडा एकातिर। अर्कातिर छोरीको हत्या। राज्यको अपराधी पहिचानमै अलमल। दुर्गादेवीले तीन वर्षयता समाजको नजरमा सान्त्वना स्वरूप दुई वटा चिज पाएकी छिन् - एउटा राहत र अर्को नगरपालिकामा कार्यालय सहयोगीको काम।
अहिले नगरपालिका कार्यालयबाट उनको जिम्मेवारी वडा नम्बर दुईको कार्यालयको स्वास्थ्य शाखामा सारिएको छ।
‘अब यी दुई छोरीको भविष्यका लागि पनि पहिले जसरी पसल चलाएर बस्न सक्ने स्थिति नभएर यही एउटा काम त गरौँ भनेर गरिरहेकी छु,’ उनले भनिन्, ‘लक डाउनमा पनि स्वास्थ्य शाखामा काम भएकाले घरै बसेर पीडा सम्झँदै बस्नुपरेन। केही समय दु:ख बिर्साउने उपाय यही हो।’
छरछिमेक, आफन्त, श्रीमान् र केही अधिकारकर्मी भनिनेहरु उनको यही मेलोलाई पनि देखिसहँदैनन्। मृत छोरीको नाममा पैसा खान थालिस् भन्ने बचनले नराम्ररी घोच्छ उनलाई। कतिपय छिमेकी त उनीसँग बोल्दैनन् पनि - दिलिपसिंह विष्टमाथि शङ्का गरेको भन्दै।
'घरै बसेर पनि के गर्नु काम? ज्याला मजदुरी गर्न सक्ने अवस्था छैन। जसले जे भने पनि काम त गर्नै पर्यो,’ उनको दुखेसो।
श्रीमान् यज्ञराज र उनकी कान्छी श्रीमती पनि टाढिएका छन् - दुर्गादेवीले राहत बुझिसकेपछि। दुर्गादेवीका श्रीमान् कान्छी श्रीमतीसँगै भाँसीमा बस्दै आएका छन्।
नयाँ अनुसन्धान अधिकारी फेरिएपछि मनमा पलाउने न्यायको आशा जसरी पुर्ख्यौली जिल्ला डडेलधुराकै प्रधानमन्त्री पाउँदा थोरै नै सहि आशा फेरि पलाएको छ।
‘नयाँ आएपछि न्याय दिनसक्ने इच्छाशक्ति त देखाउने हैनन् होला। तर, पनि नयाँ पात्र आउँदा झिनो मसिनो आश त मनमा छ,’ उनले भनिन्, ‘पहिला पनि भेटेर त जानु भएको हो। सहयोग गर्छु भन्नुहुन्थ्यो अहिलेसम्म केही हुन सकेन। अब पनि हुन्छ भनेर विश्वास त कसरी मान्नु? झिनो आशा चाहिँ नयाँ आउँदा पनि मनमा पलाउँछ। चाहेपछि त न्याय दिन सक्छन् होला। कसैले पनि त्यो चाहाना नै राख्दैनन्।’
देउवाले घटनापछि उल्टा खाम घरमै पुगेर न्याय दिने आश्वासन दुर्गादेवीलाई दिएका थिए।
'एउटी छोरीले परिपक्व हुन नपाउँदै यसरी मर्न नपरोस् भन्ने हो। अब काम गर्ने प्रधानमन्त्री हुन् वा जो सुकैलाई मेरो यो बिन्ती सुनिदिन आग्रह गर्दछु,’ उनले भनिन्।
फागुन १७, २०७५ मा दुर्गादेवीलाई भेट्दै देउवा। फाइल फोटो