PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

भारतबाट ५ देखि १५ वर्ष उमेरका ४ जना बालबालिकाको उद्धार, हिँडेरै काम खोज्न पुगेका थिए बरेली



पहिलोपोस्ट

भारतबाट ५ देखि १५ वर्ष उमेरका ४ जना बालबालिकाको उद्धार, हिँडेरै काम खोज्न पुगेका थिए बरेली

बुटवल : नेपालबाट भारत पुगेका चार जना बालबालिकाहरुको उद्धार गरिएको छ। प्रवासी नेपाली मित्र मञ्च, भारत तथा मानव कल्याण मित्र मञ्च नेपालले तीनजना बालक र एकजना बालिकाको उद्धार गरेको हो।

बाँकेको कोहलपुर नगरपालिका–४ बेलनपुरका ९ वर्षीय रोशन वादी, ७ वर्षीय विशाल वादी, ५ वर्षीय पूजा वादी र बैतडीको पाटन नगरपालिका–४ वस्तीका १५ वर्षीय प्रकाशसिंह महरा (नरेश) लाई उद्धार गरेर नेपाल ल्याइएको मानव कल्याण मित्र मञ्च तिलोत्तमा–२, रुपन्देहीका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताए।

उद्धार गरिएका कोहलपुरका बालबालिकाहरुलाई जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको रोहबरमा कोहलपुर–४ का वडाअध्यक्ष तिरथराम थारु र बैतडीका बालकलाई अभिभावक नआउँदासम्म तिलोत्तमा–१५ कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रममा राखिने अर्यालले जानकारी दिए।

प्रवासी नेपाली मित्र मञ्च भारतका महासचिव रघुनाथ पाण्डेका अनुसार नेपालबाट भारत गएका बालबालिकाहरुलाई उत्तरप्रदेशको बरेली अनाथ आश्रममा राखिएको थियो। आश्रममा रहेका बालबालिकाबारे आफूले पत्रिकामा समाचार पढेपछि उनीहरुको उद्धार लागेको पाण्डेले बताए।

‘नयाँ दिल्लीस्थित नेपाली राजदूतावासबाट अनुमति लिएर बालबालिकाहरुको उद्धारमा लाग्यौं, बालबालिकाहरुले बेलनपुरबाहेक पूरा ठेगाना बताउन नसकेपछि पूरा ठेगाना र अभिभावकको खोजतलास गर्न प्रवासी नेपाली मित्र मञ्च, भारतको भातृ संगठन मानव कल्याण मित्र मञ्च नेपाललाई भन्यौं,’ पाण्डेले भने। मञ्चले हालसम्म भारतबाट २ हजार बढी अलपत्र नेपाली नागरिकको उद्धार गरिसकेको उनले जानकारी दिए।

प्रवासी नेपाली मित्र मञ्च भारत महिला विभागकी अध्यक्ष अनिता क्षेत्रीले गरीबीको कारण नेपालका बालबालिका रोजगारीको सिलसिलामा भारत पुग्ने गरेको बताइन्। उनले घर तथा अभिभावक छोडेर काम गर्न भनेर जाने बालबालिकालाई काम पाउन त्यति सहज नरहेको बताइन्।

‘घर तथा अभिभावक छोडेर बालबालिका भारत पुग्ने गरेका छन्, उनीहरुलाई त्यसरी जान नदिनका लागि जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्छ,’ उनले भनिन्। भारतमा पुगेका बालबालिकाहरु बेचबिखनमा पर्नसक्ने जोखिम समेत रहेकाले गाउँगाउँमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ छ।

नेपाली बालबालिकाहरुको उद्धार गरेर नेपाल ल्याउनु पुनित कार्य भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए। उद्धार गरिएका बालक प्रकाशसिंह महरा (नरेश)ले काम गर्न भनेर पैदल हिँडेर भारत पुगेको र त्यहाँ पुगेपछि प्रहरीले आफूलाई अनाथ आश्रममा पुर्‍याएको बताए। ‘४/५ महिनादेखि आश्रममा बस्दै आएको थिएँ,’ उनले भने ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell