_1.jpg)
काठमाडौं : डिल्लीबजार कारागारमा पार्टीको आधिकारिकता सम्बन्धि विवाद सुल्ट्याउन निर्वाचन आयोगले सनाखत गराउन खोजे पनि जनता समाजवादी पार्टीका नेता रेशम चौधरीले मानेनन्। उनले अड्डी कसे - निर्वाचन आयोगमा नै गएर म हस्ताक्षर गर्छु, यहाँ गर्दिन।
उपेन्द्र यादव नेतृत्व निर्धक्क थियो - रेशमले उनीहरुकै पक्षमा आएर हस्ताक्षर गर्नेछन्। ५१ जना नेतामध्ये ३४ जनाले सनाखत गरिसकेकाले यादव रेशमको प्रतीक्षामै बसिरहे केही। तर, उनी आउन समय लाग्यो।
सरकारी प्रकृया सबै पूरा गरेर रेशम अन्तिममा हस्ताक्षर गर्नका लागि निर्वाचन आयोग पुगे। अरुबेलाजस्तै ठाँटिएर अन्तिममा निर्वाचन आयोग पुगेका उनले कसलाई साथ दिन्छन्, सबैको चासोको विषय थियो। उनी पुगेलगत्तै पत्रकारहरु घेरा हाल्दै सोध्न पुगे। जवाफमा रेशमले भने, 'दुवै पक्षका नेताहरुलाई भेटेपछि निर्णय गर्छु।'
सबैभन्दा पहिले उनी उपेन्द्र पक्षधर रहेको कोठमा पुगे। केही समय गफ गरे र निस्किए। त्यसपछि उनी फेरि महन्थ ठाकुर र राजेन्द्र महतो रहेको कोठामा पुगे र कुराकानी गरे।
अन्तिममा उनले निर्णय गरे - कतैतिर पनि सनाखत नगर्ने। १०१ नम्बर कोठामा उपेन्द्र यादव पक्षको सनाखत भएको थियो भने १०४ नम्बर कोठामा महन्थ-राजेन्द्र पक्षको। अन्तिममा उनी सोझिए १०२ नम्बर कोठामा। त्यहाँ पुगेर उनले तटस्थमा हस्ताक्षर गरे।
आखिर किन कतैतिर हस्ताक्षर गर्न उनले चाहेनन् त?
उनले डाक्टर बाबुराम भट्टराई र उपेन्द्र यादवलाई भेट्न नपाउनुलाई तटस्थ बस्नुको कारण रहेको सुनाए। दुवै पक्षलाई भेट्ने भने पनि यादव र भट्टराई बाहिरिसकेकाले रेशमको उनीहरूसँग भेट भएको थिएन। त्यसैलाई कारण देखाउँदै उनले आफ्नै फरक अस्तित्व सिर्जना गरे।