काठमाडौं : जनता समाजवादी पार्टीको आधिकारिताका लागि आज उपेन्द्र यादव र महन्थ ठाकुर पक्षका नेता तथा सांसदहरु निर्वाचन आयोग पुगे। आयोगले पार्टीको आधिकारिकता सम्बन्धी विवाद सुल्ट्याउन जसपाको केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको थियो।
सनाखतको लागि नेता रेशम चौधरी पनि आयोग पुगेका थिए। डिल्लीबजार कारागारमा आयोगले सनाखत गराउन खोजे पनि चौधरीले मानेनन्। उनले अड्डी कसे - निर्वाचन आयोगमा नै गएर म हस्ताक्षर गर्छु, यहाँ गर्दिनँ।
सरकारी प्रकृया सबै पूरा गरेर हस्ताक्षर गर्नका लागि निर्वाचन आयोग पुगेका रेशमले अन्तिममा कतैतिर पनि सनाखत नगर्ने र तटस्थ बस्ने निर्णय गरे।
लामो समय महन्थ ठाकुर, राजेन्द्र महतोको पक्षमा खुलेका मनिष सुमनले अध्यक्ष उपेन्द्र यादवतिर हस्ताक्षर गरे। आफूले महतोलाई फोन गरेरै यता आएकोसमेत सुमनले बताए।
निर्वाचन आयोग पुगेका नेता राजेन्द्र महतोले आयोगले कहिल्यै दल नबनाउने तर सधैँ फुटाउने गरेको अभिव्यक्ति दिए।
ठाकुर पक्षका नेता शरतसिंह भण्डारीले हिजोसम्म आफ्नो समूहमा रहेका सदस्यहरु आज अर्को समूहमा गएको विषयलाई इतिहासले मूल्यांकन गर्ने चेतावनी समेत दिए।
आयोगमा यादव पक्षमा ३४ जना सदस्यले हस्ताक्षर गर्दा अर्का अध्यक्ष रहेका ठाकुरको पक्षमा १६ जनाले हस्ताक्षर गरे। आयोगले यादव पक्षलाई आधिकारिकता दियो।
यादव पक्षले आधिकारिकता पाएसँगै अब जसपाको चुनाव चिन्ह, नाम, झण्डा यादव पक्षले पाउने छ। साथै यादव पक्षको कार्यकारिणी समितिको बैठकले जसपाका एक अध्यक्ष ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लामाथि गरेको कारवाहीले पनि आधिकारिकता पायो।
त्यसअघि, महन्थ ठाकुर पक्षले हेड काउन्ट रोक्न आयोगमा निवेदन दिएको थियो। तर, उक्त निवेदनलाई आयोगले अस्वीकार गरिदियो।