
बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्। प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले केहीदिनमा नै प्रदेशसभामा विश्वासको मत लिने बताएका हुन्।
आर्थिक मामिला तथा योजना मन्त्री समेत रहेका चौधरीले वातावरण बनेपछि प्रदेश सभाबाट विश्वासको मत लिने र प्रतिपक्षीले उठाएको माग अनुसार नै सरकार वैधानिक ढंगले अघि बढ्ने बताए।
जनता समाजवादी पार्टी (जसपा)को विवादमा आयोगले उपेन्द्र यादव समूहलाई आधिकारिक घोषणा गरेपनि लुम्बिनी प्रदेशमा खासै फरक नपर्ने चौधरीको भनाई छ।
‘केन्द्रमा पार्टीका मुद्दाले प्रदेशमा केही प्रभाव त पार्छ। तर हाम्रो प्रदेशमा निर्वाचन आयोग र अदालतको निर्णयले केही फरक पर्दैन,’ उनले भने ‘प्रदेश सरकार आफ्नो गणितको हिसावले अघि बढ्न सक्छ।’
जसपाकी सांसद पुरमती ढेंगामरलाई सत्तापक्षले 'अपहरण' गरेको भन्ने आरोपमा कुनै सत्यता नभएको समेत मन्त्री चौधरीले बताए। उनले सरकार गैरसंसदीय खेलमा नलाग्ने दाबी समेत गरे।
‘यो गैरसंसदीय खेल हामीबाट हुँदैन। सत्तापक्षसँग सरोकारको विषय नै होइन,’ चौधरीले भने ‘आफ्नो माननीयले के हुनुहुन्छ भन्ने कुरा खोजि निती गर्ने सम्बन्धित दलको कुरा हो। फलानाको सरकार आएकाले पानी परेन भन्ने कुरा हुन्छ र?’