पोखरा : उसै पनि महिलामाथि हुने हिंसा हाम्रो समाजका लागि नयाँ होइन। अनेक बहानामा महिलामाथि हिंस्रक बनि रहन्छ समाज। सोच्नुस्, ९ वर्षीय बालिका बलात्कारको घटनाबारे गृहमन्त्रीको ध्यानाकर्षण गराउन मन्त्रालय पुग्छिन् भने समाजको लागि त्यो भन्दा ठूलो प्रश्न अर्को के हुन सक्ला? के कारण हुन् सक्ला त्यस्तो जसले ९ वर्षीया बालिकालाई गृहमन्त्री कहाँ ध्यानाकर्षण गराउन बाध्य बनाएको हो। बलात्कार घटनामा गृहमन्त्रीको ध्यानकर्षण गराउँदा ९ वर्षीया बालिका मन्त्रालय पुगेपछि धेरैलाई सोच्न बाध्य बनायो। प्रेन्सा साउन २ गते गृहमन्त्री बालकृष्ण खाण कहाँ पुगेकी थिइन्। गृहमन्त्रीलाई बुझाएको १० बुँदे पत्रमा बालिकालाई विभिन्न समस्याबाट बचाउन 'सेल्फ डिफेन्स'को कार्यक्रमसमेत माग गरेकी छिन् प्रेन्साले। राष्ट्रिय स्तरका मिडियादेखि सामाजिक सन्जालमा उनले गृहमन्त्री खाणलाई महिलामाथि हुने हिंसा र बलात्कारबारे ध्यानाकर्षण गराएपछि धेरैले उनको प्रंशसा गरे।
प्रेन्सा यसरी समाजका विषयवस्तु र समस्या लिएर सम्बन्धित व्यक्ति कहाँ पुगेको पहिलो पटक भने होइन। कोरोना महाव्याधि सुरु भए यता मास्क नलगाई हिड्नेलाई मास्क लगाउन आग्रह गर्नेदेखि सचेतना फैलाई रहेको भिडियो सामाजिक सञ्जालमा आई रहेका छन्। उनको कामलाई धेरैले तारिफ पनि गरेका छन्। कान्छी अभियन्ता भनेर पनि चिनिने प्रेन्सालाई नेपाल सरकारले भर्खरै मात्र सिर्जनशील बाल प्रतिभा प्रोत्साहन पुरस्कार–०७७ बाट पनि सम्मानित गरेको छ।
यसरी सुरु भयो प्रेन्साको सामाजिक कर्म
प्रेन्सा सामाजिक कार्यमा लागेको धेरै समय भएको छैन। सामाजिक काममा प्रेन्साको यात्रा एक वर्ष अघिदेखि सुरु भएको हो। जतिबेला पहिलो लकडाउन सुरु भएको थियो। जतिबेला मान्छेहरु घरभित्रै थुनिएर बस्नुपर्ने बाध्यात्मक परिस्थिति थियो। मजुदरी गरेर खानेलाई छाक टार्न धौंधौं थियो। त्यो समय स्वास्थ्यलाई ख्याल गर्दै मास्कको अनिवार्य प्रयोग गर्ने नियम लागू गरिएको थियो। अहिले पनि मास्क लगाउनु त अनिवार्य नै छ।
नियम लागू भए पनि कतिपय बिना मास्क हिड्थे। यो दृश्यले ८ वर्षीया बालिकाको दिमागमा प्रभाव पारेको थियो। यो बाहेक उनको मस्तिष्कमा अर्को घटनाले बढी जोड पुर्यायो। लकडाउनका समय विरौटाको आफ्नै स्टेसनरी पसलमा बसिरहेकी थिइन् उनी। त्यत्तिकैमा आफ्नै उमेरका साथी कापी किन्न आए। सुरुमा महंगो कापी देखाइन् उनले पछि त्यो भन्दा सस्तो। तर आएका दूई जनाले खरिद गर्न सकेनन्। त्यसपछि प्रेन्साले अभिभावकले के गर्नुहुन्छ? भनेर प्रश्न गरिन्! जवाफमा अभिभावक नभएको उत्तर पाइछन्। कापी नलिई फर्किएको त्यो घटना उनको मानसपटलमा स्मरण रहिरहयो। अन्तत आवश्यकलाई केही सहयोग गर्नुपर्ने मनशाय बनाइन्। बुवा आमालाई सुनाइन्। अनि सुरु भयो उनको सामाजिक कर्म।
म्याग्दी मंगला गाउँपालिका स्थायी घरभएकी प्रेन्सा अहिले पोखरा महानगरपालिका विरौटा १७ मा बस्छिन्। आमा र बाबासँग बस्दै आएकी प्रेन्सा त्यो घटनापछि समाजलाई केही गर्नुपर्छ भन्ने लागेको बताउँछिन्। माया गरेर आफन्त बुवा आमाले दिएको पैसा बचत गरेर राखेकी थिइन्। त्यही पैसा बाबालाई मास्क ल्याइदिन आग्रह गरिन्। अनि त्यही मास्कको बन्डल लिएर आफ्नै टोलबाट सुरु गरिन् सामाजिक अभियानको थालनी।
‘मसँग दक्षिणा संकलन गरेको केही रकम थियो। सुरुमा पैसा सहयोग गर्न चाहे तर आजलाई मात्र नभई म भोलिका लागि गर्न चाहान्थे,’ प्रेन्साले भनिन्, ‘यसका लागि व्यापार गर्ने सोच बनाएँ।’
लकडाउनको समय कोरोनाको महामारी सुरुआतमा परिवारले मन्जुरी दिने कुरै भएन। तर ९ वर्षीया बालिकाको सकरात्मक धारणामा अभिभावकले प्रेरणदायी भूमिका निर्वाह गर्ने निर्णय गरे।
मास्क बेचेर आएको पैसाले विपन्न बालबालिकालाई सहयोग गरिन्। कम शूल्कमा मास्क वितरण गर्ने र विपन्नलाई बिना शूल्कमा पनि उपलब्ध गराइन् उनले मास्क। अभिभावकको साथ र सहयोगले उनलाई थप हौसला मिल्यो। वृक्षरोपण, सरसफाई, फुड बैंक, क्लोथ बैंक, बुक बैंक अभियान चलाइन्।
आफ्नो पुरानो किताब विपन्न साथीहरुलाई सहयोग गरिन्। सोही अनुसार अरुलाई पनि सहयोग गर्न आह्वान गरिन्। अहिले जारी निषेधाज्ञा पनि उनले रोटी बैंक संचालन गरेकी थिइन्। निषेधाज्ञामा मजदुरी गरेर खाने मजदुरलाई राहत दिन उनले रोटी बैंक संचालन गरेकी थिइन्।
‘तपाईँको घरमा २ वटा रोटी बढी पकाए खेरा जाँदैन। त्यसले अरुको पेट भर्छ,’ उनले भनिन्, ‘हाम्रो लागि जम्मा २ वटा लाग्न सक्छ। त्यो त बासी रहेर फालिन पनि सक्छ। तर त्यसले कसैको खाली पेट भर्न पनि सक्छ।’
अहिले प्रेन्साले बुक बैंक अभियानलाई भने निरन्तरता दिइरहेकी छन्। यस्तै बाबाको स्टेसनरीको एक कुनामा ‘प्रेन्सुको स्टल’ राखिएको छ। सेवा नै धर्म लेखिएको त्यो नोटिस वरपरका र्याक प्रेन्साले निशूल्क उपलब्ध गराउने साम्रागीले भरिएको छ। उनले उक्त सामान विपन्न बालबालिकालाई निशूल्क वितरण गर्छिन्।
गण्डकी बोर्डिङ स्कुलमा कक्षा ४ मा पढ्दै गरेकी उनी पढाई र समाजसेवालाई सहज रुपमा अगाडि लैजान सकिने बताउँछिन्। दिनको खाली समय वा १ मिनेट समाजका लागि दिन सकिने उनको विचार रहेछ।
आफू भविष्यमा वैज्ञानिक बन्ने सपना राखेकी उनले सामाजिक सेवालाई भने कहिल्यै नछाड्ने बताउँछिन्। मानव समुदाय कोरोना महामारीसँग जुधिरहेको देखिकी उनको सपना निरोगी हुने भ्याक्सिन बनाउने छ। उनी भन्छिन्, ‘वैज्ञानिक बन्ने सपना छ। त्यसरी मैले समाजसेवा गर्नसक्छु महामारीसँग जुधेको संसारमा स्वास्थ्यको महत्व बुझे सम्भव होला नहोला निरोगी हुने भ्याक्सिन बनाउने सपना छ।’
स्वास्थ्य रहनु सबैको अधिकार रहेकाले विपन्न र पहुँच नभएका व्यक्तिले पनि भ्याक्सिन पाउनुपर्ने उनी बताउँछिन्। समाजसेवा बाहेक अन्य क्रियाकलापमा पनि उनको रुचि छ। आफ्नो व्यक्तिगत युटुब च्याल मार्फत विभिन्न सन्देशमुलक सामाग्री बेलाबेला अपलोड गरि रहेकी हुन्छिन् प्रेन्सा।
बाबा रामकृष्ण रेग्मीले छोरीको कामदेखि सन्तुष्ट र गर्व महसुस गरेका छन्। छोरीले सानैबाट आफ्नो उमेरभन्दा बौद्धिक कुरा गर्दा आफू अचम्ममा परेको उनीहरु बताउँछन्। ‘उ ३, ४ वर्ष हुँदा नै बौद्धिक कुरा गर्थ्यो, मलाई यस्तो बच्चाले के भन्छन् जस्तो लाग्थ्यो। नढाँटी भन्नुपर्दा मैले उसलाई समय पनि दिइनँ,’ बुवा रामकृष्णले भने, ‘तर लकडाउन भएपछि उसँग समय व्यतित गर्न थालें। उसको कुरा सुनें। बुझें। अभिभावक भएर साथ दिने निर्णय गरेका हो।’
सुरुआतमा त उनले छोरीको काममा साथ दिन चाहेनन्। सामान्य अभिभावकले हप्काउने जसरी हप्काए तर छोरीको कुराका अगाडि उनको केही जोर चलेन। ‘सुरुमा मैले पनि गाली गरे, कोरोनाको समय त्यसमाथि बच्चा छ तर उसैले सम्झाइन् हामी मात्र बाँचेर के गर्ने अरुलाई नि बचाउनुपर्छ भनिन् उनको कुरा सुनेर साथ दिएको हो,’ रेग्मीले भने। प्रेन्साकी आमाबुवाको विरौटामा स्टेसनरी पसल छ। प्रेन्साका दाई पनि छन्।
प्रेन्साको सामाजिक कर्मले चिनिएका बुवाआमालाई अन्तिममा हाम्रो प्रश्न थियो, सानै उमेरमा छोरी सामाजिक अभियन्ताका रुपमा चिनिदा कस्तो लाग्छ? ‘परिवारको सपोर्ट पाए छोराले भन्दा पनि धेरै राम्रो छोरीले गर्न सक्छन्। मैले त अरुलाई पनि भनेको छु, छोराछोरी दुबैलाई उत्तिकै अवसर दिनुस्,’ रामकृष्णको जवाफ थियो।