PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

पार्टीको कारवाहीमा परेका लुम्बिनीका मन्त्री भन्छन् : हामीलाई जसपाले कारवाही गर्नै मिल्दैन



पूजा पन्थी

पार्टीको कारवाहीमा परेका लुम्बिनीका मन्त्री भन्छन् : हामीलाई जसपाले कारवाही गर्नै मिल्दैन

बुटवल : जनता समाजवादी पार्टी(जसपा)ले लुम्बिनी प्रदेशमा सहभागी पार्टीका ३ जना मन्त्रीलाई कारवाही गर्ने निर्णयपछि फरक फरक प्रतिक्रिया आउन थालेको छ। पार्टीको सदस्य नरहने गरी गरेको कारवाहीमा परे पनि सर्वोच्च अदालतबाट अन्तरिम आदेशपछि सांसद पदमा रहेका मन्त्रीहरु सन्तोष पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डे लम्साललाई जसपाले कारवाही गरेको हो। सुमन शर्मा रायमाझी भने सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा नै बसेकी छन्।

पाण्डे, यादव र लम्साललाई पार्टीले पुन कारवाही गरेपछि लुम्बिनी प्रदेश सरकार सोझै अल्पमतमा देखिएको छ।

कारवाहीमा परेका जसपाबाट मन्त्री बनेका सन्तोष पाण्डेले एउटा मान्छेलाई पटक पटक एउटै कारवाही नहुने बताउँछन्। उनी भन्छन्, ‘एउटा मान्छेलाई कति पटक फाँसीको सजाय हुन्छ? जब हामीलाई पार्टीबाट हटाइसकिएको छ फेरी त्यही पार्टीले कारवाही गर्नै मिल्दैन।’

उनले पार्टीले पहिलेदेखि नै कारवाही गरेर सदस्य नरहने भनेकोले फेरी सदस्य नहुने गरी कारवाही गर्नु गलत भएको बताए। उनले आफूहरू अब अदालतले बनाएको सांसद मात्रै रहेकोले पार्टीको कारवाही मान्य नहुने तर्क गरे।

यता कारवाहीमा परेका अर्का मन्त्री विजयबहादुर यादव पनि कारवाही गरेर हटाएको पार्टीले फेरी हटाउँछु भन्नु हास्यास्पद रहेको बताए। उनले अदालतको फैसला नआउँदा सम्म हामीहरु सांसद रहने दाबी गरे। आवश्यक पर्दा कानुनी रुपमा अगाडि बढ्ने बताए।

यता कारवाहीमा परेकी अर्की मन्त्री कल्पना पाण्डे भने उपचारको क्रममा काठमाडौँमा रहेकी छन्।

यता जनता समाजवादी पार्टी जसपाका संसदीय दलका नेता सहश्राम यादवले भने पार्टिको नेता भन्दै गफ लगाउनेले पार्टीको कारवाही भोग्नुपर्ने बताउँछन्। उनले भने, ‘जसपाको नेता भन्दै हिड्ने माननीयले पार्टीले नगर भनेको पनि गर्ने अनि कारवाही गर्दा भोग्दैनौ भन्न पाइदैन।’

उनले भोलि बिहानसम्म पार्टीको कारवाहीको पत्र लुम्बिनी प्रदेश सभा सचिवालयमा पुग्ने र सांसद पदबाट हट्ने उनले बताए।

यसो गर्दा लुम्बिनी प्रदेश सरकार सोझै अल्पमतमा परेको छ। ८३ सदस्यीय लुम्बिनी प्रदेश सरकारमा ३ मन्त्रीलाई कारवाही सँगै ८० सदस्यमा झर्नेछ। शंकर पोखरेलसँग १ स्वतन्त्र सांसद सहित ३८ जना रहेका छन्। प्रदेश सभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुख सहित १९, जसपाका ३ जना र राष्ट्रिय जनमोर्चाका १ जना गरी ४२ जना विपक्षी गठबन्धनमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell