PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

वर्षभरि औशतमा दैनिक ७ जनाको बलात्कार, संगठित अपराधमा कमी आए पनि हत्याका केस ह्वात्तै माथि



पहिलोपोस्ट

वर्षभरि औशतमा दैनिक ७ जनाको बलात्कार, संगठित अपराधमा कमी आए पनि हत्याका केस ह्वात्तै माथि

काठमाडौं : समग्र अपराधका घटना सामान्य हिसाबले घटेको र संगठित अपराधमा उल्लेख्य कमी आएको भए पनि गएको आर्थिक वर्षमा हत्याको संख्या भने बढेको छ।

नेपाल प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धानको तथ्याङ्कअनुसार कर्तव्य ज्यानमा अघिल्लो वर्षको तुलनामा २५.५८ प्रतिशतले वृद्धि भएको देखिएको छ। कर्तब्य ज्यानमा ६ सय ९७ केस दर्ता भएका छन्। त्यसैगरी ज्यान मार्ने उद्योगमा २१ प्रतिशतको वृद्धि देखिन्छ। 

आर्थिक वर्ष २०७७/७८ मा ४० हजार १ सय २० अपराधिक गतिविधि भएको प्रहरीको तथ्याङ्क छ। प्रहरी प्रधान कार्यालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार वार्षिक अपराधमा यो ४.२४ प्रतिशतको कमी हो। यद्यपि, दर्ता भएका घटनाको औशत निकाल्दा प्रति दिन १ सय १० घटना हुने गरेको देखिएको छ। 

संगठित अपराध अघिल्लो वर्षको तुलनामा ४६ प्रतिशतले कमी आउनुलाई उल्लेख्य मान्न सकिन्छ। लगातार भएका लकडाउनहरुका कारण अन्य गतिविधिजस्तै संगठित अपराधका घटना कम भएको हुनसक्छ। 

एक वर्षमा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जबरजस्ती करणी उल्लेख्य मात्रामा बढेको देखिएको छ। एक वर्षमा जबरजस्ती करणीका २ हजार ५ सय ३४ केस रहेको प्रहरीको तथ्याङ्कले देखाएको छ। यस अर्थमा दैनिक ७ जनाको बलात्कार भएको देखिन्छ। यो तथ्याङ्क प्रहरीसम्म पुगेका घटनाको मात्र हो। बलात्कारको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा १८.१९ प्रतिशतले बढेको हो। जबरजस्ती करणी उद्योगका ७ सय ३५ केस गत आर्थिक वर्षमा दर्ता भए। लागू औषधका केस ४.४४ प्रतिशतले बढेको छ।

सीमा नाकासमेत बन्द हुने गरी लकडाउन र निषेधाज्ञा जारी भएका कारण गत आर्थिक वर्षमा मानव बेचविखन तथा ओसार पसारका केस भने केही कम भयो। यस्ता घटनामा २५.६ प्रतिशतले कमी आएको देखिएको छ।

आत्महत्याको संख्या भने गत आर्थिक वर्षमा माथितिर नै चढेको छ। ७ हजार १ सय १७ जना मानिसले आत्महत्या गरेका छन्। यो तथ्याङ्कका आधारमा औशत दैनिक १९ जनाभन्दा धेरैले आत्महत्या गरेको देखिन्छ। यो अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले बढी हो। लकडाउनका कारण धेरैमा मानसिक समस्या देखिएको थियो। आत्महत्याको संख्या बढ्नुमा त्यसको पनि प्रभाव हुनसक्छ। बैंकिङ कसुर भने २८ प्रतिशतले घटेको देखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell