PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

जुन दललाई खारेज गर्न माग गर्दै आयोग पुगेका थिए त्यही दलको सांसद भन्दै सर्वोच्च पुगे पूर्व माओवादी नेता



पहिलोपोस्ट

जुन दललाई खारेज गर्न माग गर्दै आयोग पुगेका थिए त्यही दलको सांसद भन्दै सर्वोच्च पुगे पूर्व माओवादी नेता

काठमाडौं : नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा (एमाले) प्रवेश गरेका नेताहरुले माओवादी नत्यागेको दाबी गरेका छन्। माओवादी केन्द्रका पूर्व नेता टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफू माओवादीमै रहेको दाबी गर्दै सर्वोच्च अदालत पुगेका हुन्।

बुधवार सर्वोच्च अदालतमा रायमाझी सहित चारजना नेताले माओवादी केन्द्रले गरेको कारवाही खारेजीको माग गर्दै आफू उक्त पार्टीको केन्द्रीय सदस्य नै रहेको दाबी गरेका हुन्। आफूहरुले अर्को दल गठन नगरेको र नेकपा एमालेमा पनि प्रवेश नगरेकाले माओवादीकै नेता भएको उनीहरुको जिकिर छ।

'नेकपा एमाले र नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिको प्रमाणित प्रतिलिपि लिएकोमा मिति २०७८/३/२३ को रेकर्ड अनुसार म नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यसमितिमा छु,' रिट निवेदनमा टोपबहादुरले उल्लेख गरेका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको एकल निर्णयले आफूहरुमाथि कारवाही भएको र त्यो पार्टीको विधानसँग मेल नखाने समेत उनीहरुले दाबी गरेका छन्। रिट निवेदनमा मुद्दाको टुंगो नलागेसम्म प्रतिनिधिसभाको सदस्यका रुपमा काम गर्नका लागि अन्तरिम आदेश दिन माग गरिएको छ। पूर्व माओवादी नेताहरुले माओवादी केन्द्रको निर्णय कार्यान्वयन नगरी यथास्थितिमा राख्न आदेश दिन पनि माग गरेका छन्।

माओवादी केन्द्रका पूर्व नेताहरु रामबहादुर थापा बादल सहितका २३ जना नेता पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि ओलीको पक्षमा लागेका थिए। फागुन २३ गते सर्वोच्च अदालतको माओवादी र एमालेलाई पूर्ववत् अवस्थामा फर्काउने निर्णयपछि पनि उनीहरुले ओलीलाई नै रोजेका थिए। आफ्नो पूर्व पार्टीमा नफर्किएपछि माओवादी केन्द्रले बादल सहितका सांसदहरुलाई पदबाट हटाएको थियो।

यसअघि पूर्व माओवादीका नेताहरुले माओवादी केन्द्र खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए। तर, निर्वाचन आयोगले उनीहरुको माग खारेज गरेको थियो।

एमाले भित्र अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको विवाद चर्किएसँगै उनीहरुको राजनीतिक भविष्यमाथि प्रश्न उठेको थियो। एकताका लागि नेपालले ओलीले पूर्व माओवादी नेतालाई एमालेमा प्रवेश गराउने ओलीको २०७७ फागुन २८ गतेको निर्णय नमान्ने अडान राखेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell