PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

बेइमानी कायमै छ, ओलीले अध्यक्ष बनाएर हुँदैन : माधव नेपाल



प्रकाश भण्डारी

बेइमानी कायमै छ, ओलीले अध्यक्ष बनाएर हुँदैन : माधव नेपाल

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले अझै पनि बेइमानी कायमै राखेको आरोप लगाएका छन्।

आफ्ना समूहका सांसदहरुको भेलामा नेपालले ओलीले इमान्दार रुपमा एकताको प्रयास नगरेकाले तत्काल सहमतिको सम्भावना नभएको बताएका हुन्। बानेश्वरमा भएको नेपाल पक्षीय सांसदहरुको भेलामा पछिल्लो राजनीतिक परिस्थितिका बारेमा पनि छलफल भएको सांसद विरोध खतिवडाले जानकारी दिए। उनले ओलीको बेइमानी कायमै रहेको भन्दै नेपालले सांसदलाहरुला ब्रिफिङ गरेको बताए।

'ओलीको बेइमानी, जाल झेल कायमै छ। एकताको परिस्थिति बनिसकेको छैन भन्नुभयो,' नेपालको भनाई उद्धृत गर्दै खतिवडाले भने।

नेपाल समूह सरकारमा भने तत्काल सहभागिताको सम्भावना नभएको खतिवडाको भनाई थियो। 'बाहिर आएका कुरामा कसले के भने भन्ने कुरा व्यक्तिगत हुन्। सामुहिक रुपमा हाम्रो कुरा केहो भने तत्काल त्यो सम्भावना छैन्,' उनले भने।

ओलीले गरेको दोस्रो अध्यक्षको प्रस्तावप्रति पनि नेता नेपालले चर्को असन्तुष्टि व्यक्त गरेका छन्। उनले ओलीले चाहँदैमा कोही अध्यक्ष नहुने भन्दै ओलीको षड्यन्त्र मात्रै गरेको बैठकमा बताएका थिए।

'ओलीले कसलाई अध्यक्षको पद बाड्न बाँकी राख्नु भएको छ र? उहाँ अध्यक्ष बनाउने को हो? अध्यक्ष त्यत्तिकै बाँडेर दिने कुरा हो र?,' नेपालले बैठकमा भनेका थिए।

यस्तै, नेपाल समूहका केन्द्रीय सदस्य डा. विजय पौडेलले पनि अध्यक्षको प्रस्ताव नेता नेपालले अस्वीकार गरिसकेको बताएका छन्। पौडेलले नेपालले ओलीको प्रस्ताव अस्वीकार गरेको जानकारी दिँदै अध्यक्ष हुन रुची देखाउने नेताहरुलाई भने नेपालले नरोक्ने बताए।

'अध्यक्षको प्रस्ताव पनि जालझेल हो। कसैलाई अध्यक्ष हुन मन छ भने दोस्रो तहबाट भए पनि हुन्छ भनेर त उहाँले प्रष्ट भनिसक्नु भएको छ,' उनले भने।

आजै बालुवाटारमा बसेको सत्तारुढ ५ दलीय गठबन्धनको बैठकमा पनि नेता नेपाल समूहले तत्काल सरकारमा सहभागी हुने सम्भावना नभएको बताएको थियो। न्युनतम साझा कार्यक्रम बनाएर लागू गर्नुपर्ने, कोभिड नियन्त्रणमा सरकारले प्रभावकारी काम गर्नुपर्ने लगायतका सुझाव नेपाल पक्षले दिएको थियो।

साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले लिएको विश्वासको मतमा देउवाको पक्षमा उभिएका २२ सांसदहरुसँग पछिल्लो समय नेपालले छलफल  गर्दै आएका छन्। यस्तै, नेपाल र अध्यक्ष ओली समूहका गरी ३० जना सांसदहरुले एकतका लागि पहल गरिहेका छन्। उनीहरुले एमालेको दोस्रो तहलाई सहमति गराउन शीर्ष नेतृत्वलाई हस्तक्षप गर्न सुझाव दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell