PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रतिबन्धित 'रसिया'का खेलाडी ओलम्पिकमा मौन छन्, तर जताततै रसिया छ



पहिलोपोस्ट

प्रतिबन्धित 'रसिया'का खेलाडी ओलम्पिकमा मौन छन्, तर जताततै रसिया छ
Photo : Kai Pfaffenbach/Reuters

शुक्रबार टोकियो ओलम्पिकको उद्घाटन खेलमा सन मारिनोको पछाडि र सिएरा लिओनको अगाडि मार्च थियो रसियन खेलाडीहरुको। उनीहरुको ब्यानरमा राष्ट्रको मात्रै नाम नभएर 'आरओसी' अर्थात रसियन ओलम्पिक कमिटी लेखिएको थियो। 'आरओसी'कै ब्यानरमा ३३० भन्दा बढी खेलाडीहरु प्रतियोगिताका लागि टोकियो पुगेका छन्।

राष्ट्रको नामको सट्टा फरक नाममा प्रतिस्पर्धा गर्नुपर्ने बाध्यताको कारण हो 'डोपिङ स्क्यान्डल'। र, त्यसका कारण भोग्नुपरेको कारवाही।

यद्यपि, रसियन खेलाडीले टोकियो ओलम्पिकमा फरक ब्यानरबाट नै सही रसियन झण्डाको रंग प्रयोग गर्दै सहभागिता जनाइरहेका छन्। उद्घाटनको २४ घण्टा नबित्दै रसियाले पहिलो स्वर्ण हात पार्‍यो र स्वर्ण जित्ने क्रम जारी छ।

'यस्तो लाग्दैन कि हामी प्रतिबन्धित छौं,' टोकियो पुगेका एक रसियन खेल पत्रकारले सीएनएनसँग भने।

इतिहासकै कहाली लाग्दो 'डोपिङ केस'पछि रसियाले व्यहोरेको सजाय सत्य हो। तर यो अब 'कभर' हुँदै आएको देखिन्छ।

रसियाका हजार बढी खेलाडीले प्रतियोगिताहरुमा सहभागिता जनाइरहेका छन् र सयौं प्रशिक्षक र अफिसियलहरुले पनि। तर, यसका लागि रसियाले धेरै पापड बेल्न पर्‍यो।

खासगरि, डिसेम्बर महिनामा कोर्ट अफ आर्बिटेसन फर स्पोर्ट्सबाट रसियालाई आंशिक सफलता मिल्यो। उसले वर्ल्ड एन्टी डोपिङ एजेन्सी (वाडा)को लादेको भन्दा सजाय कम गर्न सफल भयो। र, ओलम्पिकका लागि पनि बाटो खुल्यो। यद्यपि डोपिङ प्रकरणबाट मुक्त हुन रसिया सकिरहेको छैन र यस प्रकरणबाट भोगेको बेइजती आफ्नो ठाउँमा छँदैछ।

टोकियो ओलम्पिकमा सहभागी रसियन खेलाडीको संख्या यसअघि रियो दी जेनेरियो ओलम्पिकमा भन्दा धेरै छ। 'आरओसी'को सहभागिताका लागि दुईपेज लामो गाइड लाइन्स पनि त्यतिकै कडा छ। जसमा भनिएको छ: सहभागितामा सबैले देखिने स्थानमा  छोटकरीमा आरओसी लेखिनु पर्नेछ, पुरा नाम रसियन ओलम्पिक कमिटी लेख्न पाइने छैन। तर प्रतियोगितामा पटकपटक यो नियम तोडिएको देख्न सकिन्छ। चाहे त्यो आयोजकले होस या नाम उच्चारण गर्ने क्रममा होस्। उदाहरणका लागि उद्घाटन सत्रमै रसियाको नाम पटक पटक इङ्ग्लिस, फ्रेन्च र जापानिज भाषामा पढिएको थियो।

अर्को दिन नेपाली खेलाडी सोनिया भट्ट रसियन खेलाडी इरिना डोलगोभासँग जुडोमा भिडिन्। डोलगोभाको सहभागितामा 'आरओसी' भनेरै उच्चारण गरिएको थियो यद्यपि, त्यसको केही घन्टापछि रातो जर्सीमा उत्रिएका रसियन खेलाडीलाई रसियन ओलम्पिक कमिटीबाट भनेरै सम्बोधित गरिएको थियो।

बाहिरबाट हेर्दा 'प्रतिबन्ध' व्यहोरेको देशबाट प्रतिनिधित्व गरेको भन्ने थोरैमात्र भान हुन्थ्यो। अझ त्यहाँ बसेका एक जना केन्याका पत्रकार अन्योलमा थिए : रसियन टिमको नाममा किन 'आरओसी' लेखिएको छ?

यो अन्‍योलता लगभग सबैजस्तो खेल स्‍थलहरुमा चल्यो। जस्तोकी युरोपको जिम्न्यास्टिक फेडेरेसनले टिमको नाम रसिया लेखेकै कारण ट्वीट डिलिट गर्नुपर्‍यो।

'नियमहरु मानिनु पर्छ। र, केही कुरा अवस्थाले पनि निर्धारण गर्छ,'अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका प्रवक्ता मार्क आडम्सले भने 'हाम्रो व्याख्यामा भने सही व्याख्या नै गरिएको छ।'

उनले पुरै नाम भन्न खास 'रोक' नभए पनि नाम 'डिस्प्ले' गर्न भने नमिल्ने बताए।

त्यस्तै रसियाको उपस्थितिलाई लिएर असहज मान्नेहरु पनि छन्।

'तपाई स्पष्ट देख्न सक्नुहुन्छ, हामीले के मागेका थियौं र के पाएका छौं,' वाडाका डिरेक्टर जेनरल ओलिभर निग्गीले भनेका छन्, 'हामीले के मागेका थियौ तपाईं यदि हेर्नुहुन्छ भने हामीले त्यो पाएका छैनौं। खास गरी पोसाकको सन्दर्भमा हामीले यो चाहेकै होइन।'

त्यस्तै रसियन खेलाडीलाई बाहिर बोल्नका लागि प्रतियोगिता अगावै तयार गरिएको थियो। खासगरि राजनीतिक, सामाजिक र डोपिङको बारेमा बोल्नपरेको अवस्थाका लागि गाइडलाइन नै तयार भएको एकजना रसियन पत्रकारले बताए। गाइडलाइन्स अनुसार यस्तो प्रश्नको उत्तर हो त्यसलाई 'इग्नोर' गर्ने। त्यसैले टोकियो ओलम्पिकमा सबैभन्दा चुपचाप देखिन्छन् रसियन खेलाडी।

तर, अझै पनि सबैकुरा रसियाको आफ्नो अनुकुलतामा छैन। धेरै खेलाडी र अफिसियलहरु रसियाको झण्डामाथि लगाइएको प्रतिबन्धसँग खुशी छैनन्। उनीहरु अर्को झण्डामा जाँदा आफूहरु खुशी नभएको बताउछन्। त्यसैले रग्बी टीमकी कप्तान एलेना टिरोन आफूलाई रसियन भएको देखाउन सम्भव प्रयास गरिरहेकी छिन्।

'यदि झण्डा प्रतिबन्धित छ भने हामी आँफै आफ्नो झण्डा बन्नेछौं,' उनी भन्छिन्, 'हामीलाई थाहा छ, हामी कुन देशका हौं।'

न्युयोर्क टाइम्सबाट भावानुवाद



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell