काठमाडौंः नेपाल प्रहरीले विभिन्न आपराधिक गतिविधि तथा कारबाहीबाट संकलन गर्ने राजस्व ३३ प्रतिशतले वृद्धि भएको छ।
गएको चाल आर्थिक वर्षमा नेपाल प्रहरी विभिन्न ८ शीर्षक २ अर्ब ९० करोड ९७ लाख १३ हजार ९ सय २३ रकम संकलन गरेको हो। आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब १७ करोड ७६ लाख ४२ हजार ३ सय ५४ रुपैयाँ संकलन गरेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले जानकारी दिए।
प्रहरीले सबैभन्दा धेरै राजस्व संकलन ट्राफिक कारबाहीबाट गरेको छ। ट्राफिक कारबाहीबाट १ अर्ब १६ करोड ३५ लाख १४ हजार ९ सय रुपैयाँ संकलन गरेको हो। आर्थिक वर्ष २०७६/७७ को तुलनामा ट्राफिक कारबाहीबाट संकलन राजस्व ३० प्रतिशतले वृद्धि भएको हो। आर्थिक वर्ष २०७६/७७ मा ८८ करोड ९७ लाख ९५ हजार ९ सय रुपैयाँ मात्र संकलन गरिएको थियो।
अवैध सुन बरामदबाट प्रहरीले राज्यको लागि २७ करोड १५ लाख ९१ हजार ६ सय ८० रुपैयाँ संकलन गरेको छ। यो संकलन रकम आर्थिक वर्ष २०७६/७७ को तुलनामा ३३ प्रतिशत भन्दा बढीले बढेको हो। त्यस्तै अवैध चाँदी बरामदबाट प्रहरीले गएको आर्थिक वर्षमा ७५ लाख २७ हजार ५ सय ९२ रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ। आर्थिक वर्ष २०७६/७७ मा ३७ लाख ४९ हजार ९ सय ७४ हजार रुपैयाँ मात्र संकलन भएको थियो। यो प्रतिशतमा हेर्दा सय प्रतिशत भन्दा बढीले वृद्धि भएको हो।
अवैध सामान, अवैध काठ, अदालती फैसला लगायत शीर्षकमा पनि राजस्व संकलन औसत ३० प्रतिशत भन्दा बढीले वृद्धि भएको छ।
