PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

किन दाँतले टोक्छन् खेलाडीले मेडल?



पहिलोपोस्ट

किन दाँतले टोक्छन् खेलाडीले मेडल?

आफ्नो विधामा माथिल्लो पदक जितेपछि हर्षित खेलाडीहरु पोडियममा गएर मेडल ग्रहण गर्छन् र दाँतको बिचमा टोकेर राख्छन्। टोकियो ओलम्पिक होस् या अरु कुनै प्रतियोगिता, यस्ता दृश्य सबैले देखिरहेकै हुन्छन्। तर किन टोक्छन् भन्नेमा चाहिँ खासै चासो देखिन्न।

अहिले जारी टोकियो ओलम्पिकमा चाहिँ यसको सन्दर्भ अलि फरक छ। त्यसैले त केही दिन अघि टोकियो ओलम्पिकको अफिसियल पेजमा एउटा ट्वीट आयो - खेलाडीले प्राप्त गरेको मेडल टोक्न योग्य छैन।

'हामी आधिकारिक रुपमा पुष्टि गर्न चाहन्छौं कि टोकियो ओलम्पिकका मेडलहरु खान योग्य छैनन्,' ट्वीटमा भनिएको छ, 'हाम्रा मेडलहरु जापानी जनताले डोनेट गरेका विद्युतीय सामाग्री रिसाइकल गरेर बनाइएका हुन्। त्यसैल यसलाई टोक्न उचित हुँदैन।'

तर, यस्तो चेतावनी हुँदाहुँदै पनि खेलाडीहरुले मेडल टोक्ने विश्वास गरिएको छ ट्वीटमा।

यहाँ सबैभन्दा महत्वपूर्ण प्रश्न भनेको किन खेलाडीहरु मेडल टोकेर आफ्नो जितको खुशीयाली मनाउन चाहन्छन्?

इन्टरनेशनल सोसाइटी अफ ओलम्पिक हिस्ट्रोरियनका कार्यकारी सदस्य डेभिड वालेचिन्स्की यसरी टोक्नुको अन्दाज गर्छन् - सायद यो मिडियाका लागि गरिएको हो।

'यसमा फोटोग्राफरहरुको पनि एउटा 'जुनुन' बनिसकेको छ,' वालेन्चिस्कीले भने, 'मलाई लाग्छ उनीहरुले यसलाई एउटा आइकोनिक सटका रुपमा मान्छन्। सायद, त्यस्तो फोटो सट जसलाई बेच्न सकिन्छ। मलाई लाग्दैन यो त्यस्तो कुनै महत्वपूर्ण कुरा हो जसलाई खेलाडीले गर्नैपर्छ।' वालेन्चिस्की तिनै हुन् जसले 'द कम्प्लिट बुक अफ दी ओलम्पिक्स' पुस्तकका सह लेखन गरेका थिए।

यो प्रसंग ओलम्पिकको मात्र होइन, टेनिसका सुपरस्टार राफेल नाडालले फ्रेन्च ओपनमा सिंगल्स तर्फ उपाधि जित्दा ट्रफीकै एकछेउ टोकेको तस्बिरले निकै चर्चा पाएको थियो।

मेडल जोगाउने कुरा

ओलम्पिकमा रहँदा जितेको मेडललाई खेलाडीले सुरक्षित राख्नुपर्ने हुन्छ। कसरी मेडललाई सुरक्षित राख्छन् त खेलाडीले?

जारी ओलम्पिकमा १० मिटर डाबिङमा स्वर्ण पदक जितेका इङ्ग्लिस खेलाडी टम डेलेले इन्स्टाग्रामा एउटा भिडियो पोस्ट गरे। जसमा उनले मेडल स्क्र्याच हुन नदिन एउटा बुनेको थैली नै देखाएका छन्। 

स्लोभेनियन साइक्लिस्ट प्रिमोज रोग्लिक, पुरुष सिंगलतर्फ गोल्ड मेडल जितेका उनले मेडलले आफूलाई अचम्मित पारेको बताउँछन्।

'खासमा यो अलि गरुङ्गो हुने रहेछ। तर, धेरै सुन्दर छ। म एकदमै गौरवान्वित र खुशी छु,' उनले मिडियासँग भने।

२००८ मा संयुक्त राज्य अमेरिकाकी फुटबलर क्रिस्टी रेम्पोनले ट्याम्पाबेटाइम्सँग आफूले मेडलहरु भाँडाहरुबिच राखेको बताएकी थिइन्। यसको पछाडिको कारण उनले भनेकी थिइन् - त्यो ठाउँ नै अन्तिम हुनेछ ताकि कसैले खोजेर भेटाओस्।

त्यस्तै, ओलम्पिकका सुरुवाती दिनहरुमा मेडल राख्ने अझ नविन तरिकाको प्रयोग गरेको अमेरिकी पौडिबाज मिचेल फिलिप्सले बताएका छन्। '६० मिनेट'मा एन्डर्सन कुपरसँगको अन्तर्वार्तामा बेइजिङ ओलम्पिकमा जितेको ८ वटा गोल्ड मेडल एउटा टिसर्टमा पोको पारेर मेकअप बक्समा हालेर ल्याएको सुनाउँछन्।

तर, यसको मतलब यो होइन कि सबै एथलेटहरुले मेडल सुरक्षित राखेका हुन्छन्।

सुपरस्टार बक्सर भ्लादिमिर क्लितस्छकोले सीएनएनसँगको कुराकानीमा सन १९९६ मा एटलान्टामा सम्पन्न खेलमा जितेको स्वर्ण मेडल १ मिलियन डलरमा बेचेको र आएको रकम च्यारिटीमा दिएको बताएका छन्।

त्यस्तै, अमेरिकी पौडिबाज एन्थोनी एर्भिनले २००० मा ओलम्पिक मेडल अक्सनमा राखेर सन् २००४ को इण्डियन ओसन सुनामीमा परेकाहरुलाई दान गरेका थिए।

(यो सीएनएनमा प्रकाशित सामग्रीको भावानुवाद हो।)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell