काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका नेताहरुसँगको संवादलाई तीब्र बनाएका छन्।
बिहीवार बिहान बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका प्रचण्डले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि लगत्तै भेटेका छन्। नेता नेपाललाई उनकै निवास कोटेश्वरमा भेटेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
मन्त्रिपरिषद बिस्तारबारे नेपालसँग प्रचण्डले छलफल गरेका थिए। नेपालले छलफलका क्रममा तत्काल सरकारमा सहभागी हुन नसक्ने जवाफ फर्काएको बताइएको छ। पाँच दलीय गठबन्धनका नेताहरुले सरकार बिस्तारलाई लिएर औपचारिक र अनौपचारिक संवाद गरिरहेको भए पनि हालसम्म मन्त्रीहरुबारे टुंगो लगाउन सकेका छैनन्।
नेपाल पक्षका नेताहरुले तत्काल सरकारमा जान नसकिने बताएपछि नेपाल पक्ष सरकारमा नजाने भएको हो। यसअघि बुधवार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा पनि नेपाल समूहले तत्काल सरकारमा सहभागी ब्रिफिङ गरेको थियो।
नेपालले बुधवारै आफ्ना पक्षका २२ जना सांसदहरुसँग गरेको छलफलले पनि सरकारमा सहभागी हुन नसक्ने निष्कर्ष निकालेका थिए। देउवा नेतृत्वको सरकार हाल माओवादी केन्द्रबाट २ र नेपाली कांग्रेसबाट २ जना गरी ५ सदस्यीय छ। मन्त्रिमण्डल बिस्तारका लागि देउवाले गठबन्धनका नेताहरुलाई चाँडो मन्त्रीको नाम पठाउन बुधवार आग्रह गरेका थिए।
