PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

द्रुतमार्गको पहिलो प्याकेजको ठेक्का पाएको चिनियाँ कम्पनीको प्राविधिक टोली सुरुङमार्गको डिजाइनमा ‘फोकस’



दिनेश खड्का

द्रुतमार्गको पहिलो प्याकेजको ठेक्का पाएको चिनियाँ कम्पनीको प्राविधिक टोली सुरुङमार्गको डिजाइनमा ‘फोकस’

काठमाडौं : काठमाडौं-तराई द्रुतमार्ग आयोजना अन्तर्गत सुरुङमार्ग सहित पहिलो प्याकेजको ठेक्का पाएको चिनियाँ कम्पनीको टोलीले सुरुङमार्गको डिजाइन तयार गर्ने काम शुरु गरेको छ।

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडको २३ जना प्राविधिक सहितको टोली साउन ६ गते बिहान आइपुगेको हो।

टोलीमा हाइवे इन्जिनियर, टनेल इन्जिनियर, जियोलोजिष्ट सहित आवश्यक सबै प्राविधिक छन्। सुरुङमार्गको डिजाइनलाई फोकस गरेर टोली आएको नेपाली सेनाले जनाएको छ।

पहिलो प्याकेजमा महादेवडाँडामा निर्माण हुने ३.३०० किलोमिटर सुरुङमार्गसहित मोटरेबल पुल र सडकको सेक्सन निर्माण गर्नुपर्नेछ।

करिब दुई महिना अघि कम्पनी र नेपाली सेनाबीच सम्झौता भएको हो। एक महिना अघि नै कार्यादेश र मोबिलाइजेसन पाएपनि कोरोनाका कारण उनीहरु आउन सकेका थिएनन्।

नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले टोलीले ६ महिनामा डिजाइन सक्नुपर्ने भएकाले त्यसैमा फोकस हुने बताए। उनका अनुसार सेनाले ३ वर्ष ६ महिनामा सक्ने गरी इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) अनुसार ठेक्का लगाएको छ।

६ महिना डिजाइन र ३ वर्ष निर्माणका लागि समय राखिएको छ। ६ महिना डिजाइन सकेर निर्माण काम थाल्नुपर्ने चुनौती छ। सोही कारण टोली हतार हतार गरी आएको हो। करिब २१ अर्ब ६१ करोड रुपैयाँमा  निर्माण गर्ने गरी जिम्मा दिइएको छ।

करिब दुई महिना पहिले दोस्रो प्याकेजको ठेक्का पाएको पोली च्याङदा इन्जिनियरिङ कर्पोरेसनका १४ जना प्राविधिक पनि चार्टर जहाज मार्फत आएर काम शुरु गरिसकेका छन्।

दोस्रो प्याकेजमा मकवानपुरको धेद्रेस्थित सिम्पानीदेखि चालिसे खोल्सीसम्म १.३७ किलोमिटर र लेनडाँडास्थित घट्टेपाखादेखि बाँदरेखोल्सीसम्म १.४ किलोमिटर गरी दुई सुरुङमार्ग र पुल निर्माण गर्नु पर्नेछ।

सेनाले निकालेको ठेक्कामा आवेदन दिएका २२ कम्पनीमध्ये दोस्रो प्याकेजमा एउटा चिनियाँ कम्पनी मात्रै प्री-क्वालिफिकेसनमा छनोट भएको थियो। सोही कम्पनीसँग करिब २८ अर्ब ५३ करोड रुपैयाँमा सम्झौता भएको थियो।

एउटा मात्रै कम्पनी सर्ट लिष्टिङ गरिएको भन्दै यो ठेक्का विवादमा समेत परेको थियो। सार्वजनिक लेखा समितिले समेत ठेक्का रोकेर पुन: नयाँ प्रक्रियाबाट शुरु गर्न निर्देशन दिएको थियो। सेनाले सार्वजनिक खरिद ऐन र नियम अनुसार नै रहेको भन्दै चौतर्फी दबाबका बीच पेलेरै काम अघि बढायो।

आफैंले निर्माण गर्न नसक्ने भएपछि द्रुतमार्गमा बन्ने तीन वटा (करिब ६ किमी) सुरुङमार्ग चिनियाँ निर्माण कम्पनीबाट गराउन दुई कम्पनीसँग सेनाले सम्झौता गरेको हो।

सुरुङमार्गसहित केही विशेष प्रकृतिका पुलको ठेक्का दुई प्याकेज बनाएर चिनियाँ कम्पनीलाई दिएको छ। सेनाले माइलस्टोन मानिएका दुवै प्याकेजका निर्माण व्यवसायीहरु आएकाले कामले गति लिने अपेक्षा गरेको छ।

‘एउटा कम्पनीले दुई महिनादेखि काम नै शुरु गरिसकेको छ। अर्को कम्पनी आइपुगेको छ’, सहायकरथी पौडेलले भने, ‘सेनाले काम लगाउन सक्ने रहेछ भन्ने प्रमाणित पनि भयो नी! अब दुवैले डिजाइनमा फोकस भएर काम गर्छन्।’

सेनाको व्यवस्थापनमा निर्माण भैरहेको आयोजनाको कुल भौतिक प्रगति बल्ल १६.१० प्रतिशत पुगेको छ। आयोजनाको माइलस्टोन मानिएको तीनवटै सुरुङमार्ग ठेक्का लगाएर काम शुरु भएको सेनाको दाबी छ। २०८१ मा सक्ने लक्ष्य राखिएको आयोजनामा प्रगति कमजोर रहेका कारण समय सक्न गार्ह्रो पर्ने देखिन्छ।

गत आवमा २०७७/७८ मा ८ अर्ब ९६ करोड ८८ लाख रुपैयाँ विनियोजन भएकोमा ९७.३४ प्रतिशत खर्च भएको छ। गत आवमा आयोजनाको कुल अंशको थप ५.१० प्रतिशत काम सम्पन्न भई आयोजनाको कुल कार्यको १६.२१ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य प्रक्षेपण गरिएकोमा समष्टिगत भौतिक प्रगतितर्फ १६.१० प्रतिशत र वित्तिय तर्फ १४.५१ प्रतिशत लक्ष्य हासिल भएको सेनाले जनाएको छ।

सडक आयोजनाको डिजाईन तथा कन्स्ट्रक्सन सुपरभिजनको लागि अन्तर्राष्ट्रिय परामर्शदाता तथा स्थानिय विषय विज्ञहरु छनौट गरी सर्भे लगायतका कार्यहरु सञ्चालन गरिएको जनाएको छ।

हाल उक्त परामर्शदाताबाट टिम लिडर, ब्रिज इन्जिनियर, सडक तथा सुरक्षा विज्ञ, सिनियर जियोलोजिष्ट, जियोटेक्नीकल इन्जिनियरहरुले काम प्रारम्भ गरेका छन्।

हालसम्म ९१.५ प्रतिशत जग्गा अधिकरण तथा मुआब्जा वितरण सम्बन्धी कार्य सम्पन्न गरिएको आयोजनाले जनाएको छ। खोकना-बुङमती ईलाकामा रहेको जग्गा विवाद समाधान गर्न श्री राष्ट्रिय योजना आयोगको संयोजकत्वमा समन्वय उप-समिति गठन गरी आवश्यक समन्वय तथा पहल भइरहेको जनाएको छ। सेनाले महामारीका बीच पनि समयमा काम सक्न कामलाई जारी राखेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell