काठमाडौं: लकडाउन खुकुलो हुँदै जाँदा नेपालमा सक्रिय संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको छ। अघिल्लो सात दिनको तुलनामा पछिल्लो सात दिनमा सक्रिय संक्रमितको वृद्धिदर २२७.२२ प्रतिशतले बढी छ। साउन ७ गते २७ हजार ३७५ सक्रिय सक्रिमत १४ गते आइ पुग्दा ३० हजार ३९० पुगेको छ। यो संख्या साउन १ गते २६ हजार ८२७ थियो।
पछिल्लो सात दिनमा मात्र दुई हजार ७२९ जना सक्रिय संक्रमित थपिएका छन्। जुन अघिल्लो सात दिनमा ८३४ जना थपिएका थिए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा पछिल्लो सात दिनमा दैनिक औसतमा ३८९.७५ जना सक्रिय संक्रमित थपिएका छन्। जुन अघिल्लो सात दिनमा दैनिक औसतमा ११९.१४ थियो।
हाल नेपालमा रहेका सक्रिय संक्रमितमध्ये ९० प्रतिशत होम आइसोलेसनमा रहेका छन्। हाल नेपालमा १७ हजार ३५५ जना सक्रिय संक्रमित होम आइसोलेसनमा रहँदा १० प्रतिशत अर्थत् तीन हजार ३५ जना संस्थागत आइसोलेसनमा रहेका छन्।
सक्रिय संक्रमितको जिल्लागत विवरण
हाल नेपालमा ११ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
२४ जिल्लामा सक्रिय संक्रमितको संख्या २०० बढी रहेको छ।
सक्रिय संक्रमितमध्ये काठमाडौं उपत्यकामा २७.७७ प्रतिशत सक्रिय संक्रमित रहेका छन्। जसमध्ये काठमाडौंमा पाँच हजार ९३८, ललितपुरमा एक हजार ३९४ र भक्तपुरमा एक हजार १०९ सक्रिय संक्रमित रहेका छन्।
त्यस्तै कास्की जिल्लामा एक हजार ८६९ र झापा जिल्लामा एक हजार ८३८ जना सक्रिय संक्रमित रहेका छन्। मोरङ जिल्लामा एक हजार ४९१, सुनसरीमा एक हजार ३५६ र चितवन जिल्लामा एक हजार २८५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
त्यस्तै नवलपरासी पूर्वमा ८४६, रुपन्देहीमा ६०१ र मकवानपुरमा ५८४ जना सक्रिय संक्रमित छन्।
थप भएका संक्रमितको विवरण
पछिल्लो २४ घण्टामा मात्र तीन हजार ३६५ जना सक्रिय संक्रमित थपिएका थिए। जुन २४ घण्टामा भएको परीक्षणको २३.६२ प्रतिशत हो।
थप भएका संक्रमितमध्ये काठमाडौं जिल्लामा ५९७, भक्तपुरमा १०८ र ललितपुरमा १५५ छन्। त्यस्तै झापामा २७२ र कास्कीमा २४८ जना थप संक्रमित पहिचान भएका छन्। त्यस्तै सुनसरीमा १७० संक्रमित थपिँदा चितवनमा ९६ र मोरङमा ७२ जना संक्रमित थपिएका छन्।
