PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'अनुपस्थित तीन’ जो खोज्दैछन् मृत्युपछि अस्तित्व



लक्ष्मी बलायर

'अनुपस्थित तीन’ जो खोज्दैछन् मृत्युपछि अस्तित्व

काठमाडौं : अस्तित्ववादको खोजीमा रहेका यी पात्रहरूमा विरोधाभास छ। विपिन कार्की आजाद् बन्दैछन्, एक क्रान्तीकारी युवक। तर, आन्दोलनको क्रममा उ भाग्छ। भागेर हिँडेकाले उ स्वयंलाई काँतर सम्झन्छ। श्रीमतीले उनकै कारण पाएको दु:ख पनि उस्तै। तर, श्रीमती पात्र प्रतिक्रिया शून्य। त्यसैले मरेर गएपछि पनि आजाद् पात्रमा डर छ, श्रीमतीले मेरो बारेमा के सोचेकी होलिन्? भन्ने। मृत्युपछि मेरो गाथा कस्तो बन्ला?

इच्छाको चरित्र निर्वाह गर्दैछिन् कलाकार उषा रजक। सम्पतिको लागि उमेरले आफूभन्दा धेरै जेठो व्यक्तिसँग बिहे गर्छिन्। तर सन्तान भने विवाह इतर सम्बन्धबाट हुन्छ। जसका कारण उनले हत्या गरिदिन्छिन् आफ्नै बच्चाको। उनको आत्माले झन् मरेपछि कहाँ शान्ति पाउनु?

त्यस्तै पवित्रा खड्का अभिलासा बन्दैछिन्। एक समलिङ्गीको भाव उनीभित्र हुर्किरहेको हुन्छ। नाताले भाइ पर्नेको प्रेमिकासँग उनको सम्बन्ध गासिन्छ। जसकारण उनका काकाको छोराले आत्महत्या गर्छ। त्यहीँ पीडाले अभिलासालाई पिरोल्छ, मरेर गएपछि पनि।

पृथ्वीमा अनुउपस्थित यी तीन पात्रको मनोदशा वरपर घुम्छ 'अनुपस्थित तीन'। गल्तीवोध र आत्मालोचना साट्छन् उनीहरू एकअर्कासँग। मृत्युपछि पनि आफ्नो अस्तित्वको खोजी रहेको भेटिन्छन् उनीहरू।

फ्रान्सेली नाटककार जाँ-पाल सार्त्रको 'नो एक्जिट'को नेपाली अनुवाद हो नाटक 'अनुपस्थित तीन।' जसलाई घिमिरे युवराजले परिकल्पना तथा निर्देशन गरेका हुन्।

‌+++

निर्देशक युवराज घिमिरेले थियटर संस्कृतिलाई जिवन्त राख्न ठप्प रङ्गमञ्चको ढोका खोलेको बताए। शिल्पी थियटरमा नाटक मञ्चन नभएको पाँच/छ महिना भइसकेको थियो। उनको कलाकार मन परिस्थितिलाई बहाना बनाएर हात बाँधि बस्न मानेन। असारको पहिलो साता निषेधाज्ञा खुकुलो भएसँगै थियटरको ताला खोले। नाटकको अभ्यास गर्न थाले।

'कोरोनाको दोस्रो लहर आउनुअघि नै नाटक 'अनुउपस्थित तीन' मञ्चन गर्ने तयारी थालेका थियौँ। तर फेरि कोरोना आयो। यो पटक चाहिँ मञ्चन गर्ने अठोट लिएका छौं,' घिमिरेले बताए।

चार सातायता नाटकको तयारी भइरहेको छ। निषेधाज्ञाबिच पनि भर्चुअल भेट, नाटकको चर्चा र तयारी गरिएको थियो।

कोरोना महामारी र लकडाउनका कारण अत्याधिक प्रभावित बनेको छ। थियटरको आर्थिक पाटोसमेत निकै कमजोर बनेको छ रङ्गमञ्च। निषेधाज्ञा खुला गर्दा पनि दर्शक नाटक हेर्नै भनेर उपस्थित हुने अवस्था छैन। तर, चलायमान बन्ने बाटो खोल्न पनि घिमिरेले जोखिम मोलेका हुन्। अनेक चुनौतिको सामना गर्न तयार भएका हुन्।

‘मलाई आफूले गरेको काम बचाउनु छ। थालेको कामलाई पूर्णता दिनुछ,’ उनले भने।

यस नाटकलाई घिमिरेले परीक्षणको रुपमा लिएका छन्। सोसल मिडियामा आउने नाटकप्रतिको प्रतिक्रियाले भने उनमा केही आशा जगाएको स्वीकार्छन्।

'पहिलेको जस्तो अवस्थामा फर्कन अहिले गाह्रो नै छ। तर गाह्रो छ भन्दैमा काम नै रोक्यौँ भने अगाडि बढ्ने ठाउँ नै हुँदैन। कुनै न कुनै रुपमा दु:ख गरेर होस् या ऋणदान गरेर भएपनि काम त सुरु गर्नुपर्छ,’ उनले सुनाए।

कलाले सामाजिक जीवनलाई तंरगित बनाउने विश्वास राख्छन् उनी। सम्भावनाको त्यो पाटोसँगै सुरक्षा नीतिहरूलाई ध्यानमा राखेर गोठाले नाटकघरको ढोका खोल्दैछन्। २ सय सिट क्षमता भएको नाटकघरमा ४० जना दर्शक राखेर नाटक देखाउने तयारी थालेका छन्।

नाटकको साउन १७ गते विशेष शो गरिनेछ। साथै १८ गतेदेखि २० गतेसम्म नियमित प्रदर्शन हुन्छ। हाललाई चार शोमा सीमित हुने नाटक अवस्था सामान्य भइसकेपछि भने १ महिना नै मञ्चन गरिने योजना रहेको उनले सुनाए।

‌+++

विपीन कार्कीले चार वर्षअघि नाटक ‘हरियो ढुंगा’मा मुख्य भूमिका निर्वाह गरेका थिए। रंगमञ्चबाट फिल्ममा प्रवेश गरेका उनी फिल्मतिर नै बढी व्यस्त हुन थाले। बिचमा नाटकको प्रस्ताव नआएको होइनन्। तर, समय दिन पाएनन्। कोरोना आएसँगै फिल्मका सुटिङ रोकिए, जसकारण उनी फुर्सदिला बने। र, फेरि फर्किए रङ्गमञ्चमा। उनी नाटक 'अनुपस्थित तीन'मार्फत्।

रंगमञ्चलाई आत्मा भन्न रुचाउँछन् विपिन। त्यसैले त समय अनुकुल हुने बित्तिकै नाटकमा काम गर्ने सोच बनाए।

यस नाटकमा अभिनय खाली समयको सदुपयोग मात्र नभइ आफ्नो दायित्व पुरा गरिरहेको महसुस गरेका छन् विपिनले। रंगमञ्चको सम्झना र नाटक गर्न नपाउनुको त्यो उकुसमुकुसबाट केही राहत महसुस गरेका छन्।

'नाटकको लागि यो निकै चुनौतिपूर्ण समय हो। अनि अप्ठ्यारो समयमा नाटक गर्नु भनेको रङ्गकर्मीको दायित्व हो। अरुबेला चलिरहेको समयमा नाटक गर्नु र अहिले नाटक नचलेको र नाटकघरहरू बन्द भइरहेको बेलामा नाटक गर्नुले ठुलो अर्थ राख्छ जस्तो लाग्छ,' उनले आफ्नो धारणा राखे।

धेरैपछि मञ्चमा फर्कँदा पुराना दिनहरूमा फर्किएका छन् उनी। दर्शकसम्म पुग्ने बाटो बनेजस्तो महसुस गरेका छन्। निकै पछि पैसा होइन आत्मसन्तुष्टिका लागि काम गरिरहेका छन्। यो बेला नाफा घाटाको हिसाबभन्दा पर बसेर खुशीका लागि खटिएका छन्।

भन्छन्, 'नाटकलाई डिजिटल माध्यमबाट भएपनि देखाउनुपर्छ। यस्तो अवस्थामा विकल्प खोज्न सक्नुपर्छ। जसले कामलाई निरन्तरता दिन केही सहयोग गर्ने छ।‘

+++

कलाकार उषा रजकका लागि पनि रंगमञ्चमा फर्कनुको कारक बनेको छ यो नाटक। दुई वर्ष अघिदेखिको 'रिदम एन्ड सोल विथ उषा रजक' कोरोनाकै कारण अलमलमा पर्‍यो। साइन गरिएका फिल्म पनि उत्तिकै छन्। तर, नाटकको तयारी राहत बनिदियो उनका लागि।

'कोरोना पहिलो लहरपछि काम गर्दा निकै अन्यौलता छाएको थियो। अहिले त बानी नै परिसक्यो। दु:ख पनि लगभग बिर्सिसकेकी छु। काममा नै व्यस्त राखेकी छु। झन् यस नाटकले त उत्साह र जोस थपिदिएको छ’, उनले भनिन्।

थियटरलाई सक्रिय राख्न सबै मिलेर लाग्नुपर्ने बताउँछिन् उनी। 'यस्तो बेला युवराज जीले हिम्मत जुटाउनु भएको छ। हिम्मत जुटाउनेलाई मेरो सधैँ साथ हुन्छ। उहाँले थियटरलाई चलायमान बनाउनु भएको छ। आट्नु पर्छ भनेर देखाउनु भएको छ। जुन निकै राम्रो कुरा हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell