सुर्खेत : कक्षा १० मा पढ्दै गरेकी रियाना बानु विदाको दिन नुहाईधुवाई गरेर कपडा सुकाउन घरको छतमा पुगेकी थिइन्। त्यहीबेला घरको छतबाट खसिन् उनी। त्यसपछि उठ्नै नसक्ने भइन्। अस्पताल पुग्दा थाह भयो उनको मेरुदण्ड नै भाँचिएछ।
गत जेठ १६ गतेको कुरा हो यो। वीरेन्द्रनगर–१० की बानु त्यस दिनदेखि थला परेकी छिन्।
‘कपडा सुकाउन छतमा गएको थिएँ, एक्कासी खसेर यस्तो भयो,’ विस्तरामा थलिएकी रियाना सोध्दैथिइन्,‘उपचार गराइरहेकी छु। पुरा सन्चो कहिले हुने होला?’
रियानाको शरीरको तल्लो भाग चल्दैन। त्यसैले उठ्न बस्नसम्म सक्दिनन् रियाना। दिसापिसाबका लागि घरपरिवारको सहारा चाहिन्छ। अहिले उनलाई बाजे–बज्यैले स्याहार गरिरहेका छन्। जेनतेन बुवा हवी बक्सले उपचार खर्च जुटाउँदै आएका थिए।
केही महिना अघिसम्म हवीले अटो रिक्सा चलाएर घरखर्च र उपचार खर्च जुटाउँदै आएका थिए। तर हवीको पनि अटो रिक्सा दुर्घटना भएपछि दुर्दिन शुरु भयो। त्यसयता आम्दानीको स्रोत सुक्यो।
छोरीको उपचार खर्च र ऋण सल्ट्याउन त्यतिकै चुप लागेर बस्न दिएन हवीलाई। हवी झोलामा कपडा बोकेर गाउँगाउँ पुग्न थाले। ‘जसो तसो अटो चलाएर छोरीको उपचार र घर खर्च चलाएको थिएँ,’ हवीले भने, ‘त्यही पनि अघिल्लो महिना दुर्घटना भयो, कसरी कमाउने, उपचार गर्ने? समस्या भयो, एकदुई रुपैयाँ पनि होला भनेर कपडा बिक्री गर्न गाउँगाउँ जान्छु।’
उनले कपडा बेचेर दैनिक चार/पाँच सय आम्दानी गर्छन्। यो आम्दानीले उपचार खर्च र घर खर्च थेग्दैन। दुई कोठे घरबाहेक अन्न र तरकारी लगाउने जमिन छैन।
‘जग्गा भनेको यत्ति घर भएको मात्रै हो, अन्न, तरकारी लगाउने एक टुक्रा पनि जमिन छैन,’ उनले भने, ‘घरखर्च र उपचार सबै यही आम्दानीबाट गर्नुपर्छ, के पुग्थ्यो, ऋण लागेको छ।’
उनलाई त्यत्तिमात्रै होइन, अटो दुर्घटना हुदाँ गम्भिर घाइते बनेका दुई जनाको उपचार खर्चसमेत उनले थेग्नु परेको छ। छोरीको उपचारकै लागि सात लाख बढी ऋण लागेको उनले बताए। अटो दुर्घटना घाइतेको लखनउमा भएको उपचारको तीन लाख ३५ हजार रुपैयाँको थप बोझ बोकिरहेका छन् उनी।
‘छोरीको उपचार खर्च, अटो दुर्घटना घाइतेको उपचार खर्च कसरी धान्नु?’ मन भारी बनाउँदै हवीले भने, ‘के गर्ने, उपाय नै छैन।’
घरपरिवारले जायजेथा मात्रै होइन, ऋण नै काडेर भएपनि सक्दो उपचार गरिरहेका छन्। अहिले पनि बानुको सुर्खेतमा थेरापी भइरहेको छ। उनलाई छोरीको नियमित औषधी सेवन र थेपारी खर्च तिर्न धौँ धौ परिरहेको छ।
रियानाको आमा भने, अर्को विवाह गरेपछि साथमा छैनन्। रियाना दुर्घटनामा पर्नुअघि नै अर्को विवाह गरेकी हुन् उनकी आमाले। रियानालाई कक्षा ११ मा भर्ना हुन नपाएकोमा ठुलो चिन्ता रहेछ। ‘दश कक्षामा पास त भएँ तर अहिलेसम्म ११ मा भर्ना हुन पाएको छैन,’ रियाना भन्छिन्, ‘यो एक वर्ष त गयो, गयो, अरु वर्ष पनि जान्छ की भन्ने लाग्छ, पढ्नै नपाएर, उपचार खर्च धान्न नसकेको बेला कसरी भर्ना भएर पढ्ने?’
पढ्न हुरुक्कै गर्ने, रियाना अहिले विस्तरामा थलिएकी भएपनि पढाई छुट्दा छट्पटिएकी छन्। ‘अहिले स्कुल नै जान पर्थेन। मोबाइल, इन्टरनेट, कपीकिताब भए त अलि अलि घरबाटै अनलाइनमा पढ्न सक्थे,’ रियाना भन्छिन्, ‘मेरो उपचार र घर खर्च चलाउन नसक्ने अवस्थामा मेरो बुवाले मलाई मोबाइल, इन्टरनेट र स्कुल भर्ना गर्न सक्ने कुरा भएन।’
उनी हिड्न नसक्ने भएपछि स्थानीय प्रशासनले समेत घरमै पुगेर नागरिकता दिएको छ।
‘एक हप्ताअघि मात्रै हामीले नागरिकता लिन चाहेर पनि प्रशासनमा आउन नसक्ने थाहा पाएपछि उनको विस्तारामै पुगेर नागरिकता दिएका छौँ,’ प्रमुख जिल्ला अधिकारी छवी रिजालले भने, ‘राज्यबाट पाउनुपर्ने सुविधामा थप टेवा पुग्ने विश्वास लिएका छौँ।’
नागरिकता नभएकै कारण राज्यबाट पाउनुपर्ने सुविधाबाट बञ्चित हुन नपरोस् भनेर, अपांगता भएका व्यक्तिहरु जो प्रशासनसम्म आउन सक्दैनन् उनीहरुलाई घरमै पुगेर नागरिकता दिने प्रशासनको भनाई छ।