PahiloPost

Apr 13, 2026 | ३० चैत्र २०८२

११६ देशमा रोजगारीका लागि ७२ हजारले लिए श्रम स्वीकृति, कोभिडका कारण ६२ प्रतिशतले कमी



पहिलोपोस्ट

११६ देशमा रोजगारीका लागि ७२ हजारले लिए श्रम स्वीकृति, कोभिडका कारण ६२ प्रतिशतले कमी

काठमाडौं : कोभिड-१९ को लकडाउनसँगै हवाइ यात्रामा लागेको प्रतिवन्ध पछि वैदेशिक रोजगारमा जाने नेपालीहरुको संख्यामा कमी भएको छ। गत आर्थिक वर्ष २०७७/०७८ मा नयाँ श्रम स्वीकृति लिनेको संख्यामा उल्लेख्य गिरावट आएको हो।

आर्थिक वर्ष २०७७/७८ मा २०७६/०७७ को तुलनामा श्रम स्वीकृति लिनेको संख्या ६२.१५ प्रतिशतले कमी आएको वैदेशिक रोजगार विभागको तथ्यांकमा उल्लेख छ।

गत आर्थिक वर्ष २०७७/७८ मा नयाँ श्रम स्वीकृति लिनेको संख्या ७२ हजार ८१ मा रहेको विभागको तथ्यांकमा उल्लेख छ। जुन आर्थिक वर्ष २०७६/०७७ मा एक लाख ९० हजार ४ सय ५३ थियो।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार श्रम स्वीकृत लिनेमध्ये ९०.४ प्रतिशत पुरुष छन् भने ९.६ प्रतिशत महिला रहेका छन्। गत आर्थिक वर्षमा ६४ हजार ९ सय ३ जना पुरुष र ७ हजार १ सय ७८ जना महिलाले नयाँ श्रम स्वीकृत लिएको तथ्यांकमा उल्लेख छ। आर्थिक वर्ष २०७६/०७७ मा श्रम स्वीकृत लिने महिला १० प्रतिशत र पुरुष ९० प्रतिशत थिए।

कुन देशका लागि श्रम स्वीकृति?

गत आर्थिक वर्षमा ११६ देशमा श्रमका लागि नेपालीहरुले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको विभागको तथ्यांकमा उल्लेख छ।

गत वर्ष सबैभन्दा धेरै नेपालीले खाडी मुलुकका लागि श्रम स्वीकृति लिएका छन्। साउदी अरेवियाका लागि २३ हजार ३ सय २४ र कतारका लागि २२ हजार १ सय ३१ जनाले श्रम स्वीकृति लिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

त्यस्तै, यूएईका लागि ११ हजार ६ सय ११, बहराइनका ३ हजार १ सय ४६ जनाले श्रम स्वीकृति लिएका छन्। यो संख्या ओमानका लागि १ हजार ५ सय ५६ र अफगानिस्तानका लागि १ हजार ७३ रहेको छ।

कुन जिल्लाका कति?

 

गत आर्थिक वर्षमा पूर्वी तथा मध्य तराईका जिल्लाबाट बढीले श्रम स्वीकृति लिएका छन्। सबैभन्दा बढी धनुषा जिल्लाका पाँच हजार ४ सय ३६ जनाले श्रम स्वीकृति लिँदा सिराहाका ४ हजार ५ सय ७७ र महोत्तरीका ३ हजार ५ सय ६६ जनाले श्रम स्वीकृति लिएका छन्।

त्यस्तै, झापा जिल्लाका ३ हजार ३४ मोरङका २ हजार ६ सय २४ जनाले श्रम स्वीकृति लिएका छन्। सबैभन्दा कम मनाङका ५ जनाले श्रम स्वीकृति लिएका छन्। त्यस्तै, डोल्पाका ११, हुम्लाका १२ र मुस्ताङका २० जनाले पनि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell