PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रशिक्षक अल्मुताइरी र उपाध्यक्ष नेम्वाङबीचको विवाद एन्फाले सकेन सुल्झाउन, छानबिनका लागि खेलकुद मन्त्रालयलाई आग्रह



पहिलोपोस्ट

प्रशिक्षक अल्मुताइरी र उपाध्यक्ष नेम्वाङबीचको विवाद एन्फाले सकेन सुल्झाउन, छानबिनका लागि खेलकुद मन्त्रालयलाई आग्रह

काठमाडौंः अखिल नेपाल फुटबल संघ (एन्फा) ले वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र पुरुष राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवादबारेका निवेदनमा छानबिनका लागि युवा तथा खेलकुद मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ। दुबैले एक अर्कामाथि छानबिनको माग गर्दै निवेदन दिएका थिए। प्रशिक्षक अल्मुताइरीले केही दिनअघि उपाध्यक्ष नेम्वाङका कारण आफूले राजीनामा दिन लागेको बताएपछि विषय पेचिलो बनेको थियो। नेम्वाङले आरोप अस्वीकार गर्दै आएका छन्। 

शुक्रबार बसेको एन्फाको कार्यसमितिको आकस्मिक बैठकले छानबिनका लागि मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको हो। 

एन्फाको निर्णयमा भनिएको छ, ‘एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ तथा पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले यस एन्फा सचिवालयमा दिएको निवेदन उपर छलफल गर्दा उक्त निवेदनको सम्बन्धमा छानबिन गर्न नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरियो।’ 

अल्मुताइरीले राजीनामाको घोषणा गर्दै आफूमाथि आक्षेप लगाएपछि नेम्वाङले पनि आरोप पुष्टि गर्न भन्दै निवेदन दिएका थिए। 
यस्तै आकस्मिक बैठकले साफको तयारीमा रहेको पुरुष राष्ट्रिय टोलीलाई बंगलादेश, भारत र सिङ्गापुरको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेलका लागि पत्राचार भइसकेकाले आवश्यकता अनुसार खेलमा सहभागी हुने पनि निर्णय गरेको छ। 

बैठकले अक्टोबरको पहिलो साता हुने साफ च्याम्पिययनसिप नेपालमा आयोजना गर्न आवश्यक पर्ने दश करोड रुपैयाँ बराबरको प्रस्ताव साफमा पठाउने निर्णय गरेको छ। प्रतियोगिता आयोजनाका लागि स्रोत सुनिश्चितताका लागि बैठकले नेपाल सरकारलाई धन्यवाद दिएको छ। मन्त्रीस्तरीय निर्णयबाट पाँच करोड रुपैयाँ प्राप्त हुने निर्णय भइसकेको पनि निर्णयमा उल्लेख छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell