PahiloPost

Jul 3, 2024 | २० असार २०८१

वीरगंज-रक्सौल नाका हुँदै नेपालबाट भारततर्फ हुन्छ दैनिक ५ ट्रक चिनियाँ स्याउको तस्करी



राधेश्याम पटेल

वीरगंज-रक्सौल नाका हुँदै नेपालबाट भारततर्फ हुन्छ दैनिक ५ ट्रक चिनियाँ स्याउको तस्करी

वीरगंज : मुलुकको प्रमुख भन्सार नाका वीरगंज-रक्सौलबाट पछिल्लो समय चिनियाँ स्याउको तस्करी बढेको छ। दैनिक करिब ५ ट्रक स्याउ पोके तस्करहरु टाउकोमा बोकेर रक्सौलको फलफुल व्यवसायी कहाँ पुर्‍याउने गरेका छन्।

वीरगंजको शंकराचार्य-मितेरी पुलको मुख्य बाटोबाट लाखौँको स्याउ भारततर्फ तस्करी भइरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन्। विशेषगरी, महिला तथा बालबालिका पोके तस्करहरुले बिहान, बेलुका र रातिको समयमा नेपालबाट भारतमा स्याउको दुई देखि ४ वटा कार्टुनसम्म टाउको र साइकलमा बोकेर रक्सौल पुर्‍याइरहेको सीमा क्षेत्रका बासिन्दाहरुले बताएका छन्।

चिनियाँ स्याउको नेपालमा अहिले माग बढी नभएको र भारतमा पुगेपछि किलोमा २० रुपैयाँ महँगोमा बिक्री हुने भएकाले नेपालबाट भारतमा स्याउको तस्करी भइरहेको हो। वीरगंजको विभिन्न कोल्डस्टोरमा भण्डारण गरिएको स्याउलाई यहाँका व्यवसायीले पोके तस्करमार्फत नेपाल-भारत सीमा कटाइरहेका छन्।

दुई कार्टुन स्याउ रक्सौल पर्‍याए वापत ५० रुपैयाँ पोके तस्करले पाउँछन्। यसरी दिनभरीमा ४/५ खेप गरेपछि उनीहरुले ३/४ सय रुपैयाँ कमाउँछन्।

यस विषयमा पर्साका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेसँग कुरा गर्दा उनले आफूले पनि सूचना पाएको र दैनिक स्याउको कार्टुन बरामद गर्ने काम भइरहेको बताए। उनले हालसम्म १४ कार्टुन र चार बोरा स्याउ बरामद गरी वीरगंज भन्सार पठाउन लागिएको जानकारी गराए।

त्यसैगरी, पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र पाण्डेले शुक्रवार वीरगंज भन्सार क्षेत्रमा खेटिएका सशस्त्र प्रहरीले २ कार्टुन स्याउ नियन्त्रणमा लिएको बताए। उनले खुल्ला सिमानाको कारण सीमा क्षेत्रका बासिन्दाको काम नै यताको सामान उता गर्ने रहेकोले तस्करीबाट वैकल्पिक रोजगारीतर्फ कसरी डोर्‍याउन सकिन्छ त्यसबारे वीरगंजका सामाजिक संस्थाहरुले रणनीति बनाई जनचेतना जगाउनु पर्ने सुझाव दिए।

एक किलोमिटरको दुरीमा पाँच ठाउँमा चेकिङ हुने भएपनि पोके तस्करी रोकिएको छैन। वीरगंज-रक्सौल नाका पहिलो कोरोनाको लहरदेखि नै बन्द छ। दोस्रो कोरोनाको लहरमा जिल्ला प्रशासन कार्यालय पर्साले बैशाख १६ गतेदेखि जारी गरेको निषेधाज्ञा अहिले अनिश्चितकालका लागि जारी नै छ।

निषेधाज्ञा जारी रहेको अवस्थामा जिल्लाका अन्य नाकाहरू बन्द छन् भने मुख्य रक्सौल-वीरगंज नाका मात्र खुला छ। नेपाली र भारतीय आउने यो नाकाबाट स्वास्थ्य परीक्षण गराएर मात्र आउन मिल्छ। तर, त्यो सबै कागजमा मात्रै सीमित छ।

पोके तस्करीमा सुरक्षार्थ खटेका विभिन्न आधादर्जन प्रहरी यूनिट मौन देखन्छन्। रजत जयन्ती चोकदेखि सशस्त्र र नेपाल प्रहरीको पाँच ठाउँमा चेकिङ हुन्छ। रजतजयन्ती चोक, जिलेवी गाछी, वीरगंज भन्सार (सीसीटीभी क्यामेराबाट निगरानी) इनार्वा थाना, मितेरी पुल नजिक गरी पाँच ठाउँमा चेकिङ हुने गरेको छ। तर, पनि तस्करी रोकिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell