PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

हेटौँडामा ३५ करोडको लागतमा सुविधायुक्त बस टर्मिनल भवनको निर्माण सुरु



निशा गुरुङ

हेटौँडामा ३५ करोडको लागतमा सुविधायुक्त बस टर्मिनल भवनको निर्माण सुरु

हेटौँडा : वाग्मती प्रदेशको स्थायी राजधानी भएलगत्तै पूर्व-पश्चिम राजमार्गलगायत विभिन्न राजमार्गको संगमका रुपमा रहेको हेटौँडामा सवारी साधनको चाप थेगिनसक्नु छ। हाल हेटौँडा उपमहानगरपालिका-१० को बसपार्क अत्यन्त सानो र अवैज्ञानिक खालको छ।

सवारी साधन र यात्रुहरुलाई आवश्यक पर्ने सुविधाहरुको अभाव छ। हेटौँडामा भित्रिने सवारी साधनको चापलाई धान्नका लागि हेटौँडा उपमहानगरपालिकाले हेटौँडा उपमहानगरपालिकाले नयाँ सुविधायुक्त र वैज्ञानिक खालको बसपार्क निर्माणको कार्य शुरु गरेको छ।

हेटौँडा-१० मा रहेको पुराना बसपार्कलाई साना सवारी साधन पार्किङका लागि मात्रै प्रयोग गर्ने र निर्माणाधिन बसपार्कलाई ठूला सवारी साधन पार्किङसँगै अन्य प्रयोजनका लागि उपयोग गरिने हेटौँडा उपमहानगरले जनाएको छ।

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा अत्याधुनिक सुविधा सम्पन्न बस टर्मिनल निर्माणको काम धमाधम भइरहेको उपमहानगरपालिकाले जनाएको छ। गत आर्थिक वर्ष २०७७/०७८ को अन्तिमतिर उपमहानगरपालिकाले बस टर्मिनल भवन निर्माण गर्न ठेक्कामा दिएको हेटौँडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बताए।

हेटौँडा प्रदेशकै राजधानी भएको कारणले गर्दा सवारी चाप बढ्ने देखिएपछि हेटौँडा उपमहानगरपालिकाको तर्फबाट डेढ वर्ष अगाडि नै ठेक्का प्रकृयामा गएको र ‘क’ वर्गको ठेक्काको प्रतिस्पर्धामा बानियाँ कन्ट्रक्सनलाई ठेक्का परेको मेयर महतले जानकारी दिए।

व्यावसायिक क्रियाकलापलाई बिस्तार तथा व्यापारी केन्द्रको रुपमा विकास गराउने उद्देश्यले हेटौँडामा २०७७ माघ २१ गते हेटौँडा उपमहानगरपालिका र नगर विकास कोषबीच हेटौँडा बस टर्मिनल भवन निर्माणका लागि सम्झौता भएको थियो।

बस टर्मिनल भवन निर्माणका लागि कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटा र हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतबीच २० करोड ६९ लाख ९८ हजारमा सम्झौता भएको थियो। उपमहानगरपालिकाका ३५ करोडको लागतमा बस टर्मिनल निर्माण शुरु गरिएको मेयर महतले बताएका छन्।

अन्यत्र भएको बसपार्क भन्दा यो बसपार्क अलि आधुनिक भएको मेयर महतले बताए। बस पार्कमा बस्ने स्पेसदेखि लिएर सवारी साधनहरु चल्दा विद्युतिय साधनहरुलाई चार्ज गर्न मिल्ने गरी सिस्टमहरु भएको अत्याधुनिक बसपार्क रहेको मेयर महतले जनाए। उनले सधैँ संघीय सरकारको भर पर्नुभन्दा पनि आन्तरिक राजस्व कसरी बृद्धि गर्ने भन्ने ठूलो लक्ष्य रहेको जनाए।

‘उपमहानगरपालिकाको गौरवको आयोजनाको रुपमा रहेको बस टर्मिनलको जग राख्ने काम भइरहेको छ। निर्माणाधिन टर्मिनल भवनमा अन्डर ग्राउण्ड दुई तलामा पार्किङ हुने छ, त्यो भन्दा माथि टिकट काउन्टर र त्यसमाथिका दुई तलामा व्यापारिक केन्द्र रहने छ। उक्त टर्मिनलमा सुविधासम्पन्न यात्रु प्रतिक्षालय पनि रहने छ,’ उनले भने।

हेटौँडा बजारको लागि सौन्दर्यताको निम्ति सुविधा सम्पन्न बस टर्मिनलमा साना ठूला गरी १३० वटा सवारी साधानहरु पार्किङ गर्न सक्ने सुविधा रहने उपमहानगरपालिकाले जनाएको छ। उक्त व्यावसायिक भवन भित्रको दुई तले अन्डरग्राउण्ड पार्किङमा ९० वटा चार पांग्रे र २५० वटा दुई पांग्रे सवारी साधनका लागि पार्किङ सुविधा रहने छ।

यसले हेटौँडा बजारमा रहेको अव्यवस्थित पार्किङलाई न्यूनीकरण गरी व्यवस्थित र सुविधायुक्त पार्किङ व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा उपमहानगरले गरेको छ। बस टर्मिनलको १८ महिनामा निर्माणको काम सक्ने गरी निर्माण कम्पनीलाई जिम्मा दिएको उपमहानगरपालिकाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell