PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

योजना आयोगका उपाध्यक्षलाई पत्र : खेलकुदबाट विकास किन नगर्ने?



पहिलोपोस्ट

योजना आयोगका उपाध्यक्षलाई पत्र : खेलकुदबाट विकास किन नगर्ने?

  • राधेश्याम दाहाल - 

श्री विश्व पौडेलज्यू,

राष्ट्रिय योजना आयोग, काठमाडौं।

सरकार परिवर्तनपिच्छे नेपालमा परिवर्तन हुने पदमध्ये राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पनि एउटा हो। सरकारको विकास रणनीतिलाई अगाडि बढाउन यो पदप्रति धेरैको आशा र अपेक्षा पनि रहन्छ। भर्खरै गठन भएको नयाँ सरकारले योजना आयोगमा उपाध्यक्ष बनाउने चर्चा चलिरहँदा तपाईँसँगै अरुहरूको पनि नाम सतहमा आएका थिए। सरकारले तपाईँलाई नियुक्ति देला भन्ने विश्वास कमैलाई थियो। तर, तपाईँ नै नियुक्त हुनुभयो। सबैभन्दा पहिले शुभकामना।

तपाईँको नियुक्तिले ब्यक्तिगत रुपमा मलाई ऊर्जा मिलेको अनुभूति भएको छ। सम्भावना बोकेका मानिसहरूले पनि राज्यका निकायमा अवसर पाउन सक्छन् भन्ने मान्यता स्थापित भएको छ फेरि एकपटक। सामाजिक सञ्जालमा तपाईँको नियुक्तिलाई लिएर धेरै मानिसहरुले तारिफ गरेका छन्। अर्थशास्त्रदेखि साहित्यसम्म तपाईँको ज्ञान छ। ज्ञानको दायर साँघुरो नहुनु यहाँक विशेषता नै हो। तपाईँले कुनै एक समयमा नेपालमा खेलकुदको माध्यमबाट विकास गर्न सकिने तर्क राख्नु भएको थियो। साइक्लिङको प्रसङ्गमा तपाईँले लेखेको स्टाटस अहिले मलाई झलझली याद आइरहेको छ। त्यसैले पनि थप आशावादी बनेको छु म। किनकि खेलप्रतिको प्रेम र लगावबारे तपाईँले राख्नु भएको धारणालाई व्यवहारमा रुपान्तरण गर्ने अवसर मिलेको छ। खेलबाट रुपान्तरण र समृद्धिको मार्ग तय हुनसक्छ भन्ने धारणा राख्ने मजस्ता सबैको तपाईँप्रति अपेक्षा हुनु स्वभाविक हो।

आज भन्दा १२ वर्ष अघि एक जना अमेरिकी गल्फ कोर्ष डिजाइनरले नेपाल आएको बेला भनेका थिए, ‘काठमाडौं उपत्यकाभित्र कम्तिमा तीन वटा राम्रा गल्फ कोर्ष मात्रै हुने हो भने नेपालले १२ वर्षमा सयवटा भन्दा बढी ठूला विमान किन्न सक्ने रकम जम्मा गर्न सक्छ।' उनको अभिव्यक्ति त्यतिखेर थियो जतिखेर ऋण गरेर नेपाल एयरलाइन्सले विमान किन्ने तयारी गर्दै थियो। उनले त्यतिखेर प्रश्न गरेका थिए - 'किन एउटा विमान अहिले किन्न लागेको होला?’

उनको प्रश्न प्रश्नमै सीमित रह्यो। उनको प्रश्नलाई लिएर मैले लेखेको पनि थिएँ त्यतिखेर। तर नेपालको खेलकुदको कमान सम्हाल्नेहरुले उनको गहन तर्कलाई बुझ्न चाहेनन्। उनले विमान नकिन्नु भनेको होइन, नेपाल आइरहने वातावरण बनाउने हो भने धेरैभन्दा धेरै विमान किन्न सक्ने हैसियतमा हामी पुग्छौं भन्ने आशय थियो उनको। मुलुकको विकासको खाका कोर्नेहरुले त्यतातिर ध्यान दिएनन्। संसारमा बाह्रै महिना गल्फ खेल्न सकिने ठाउँ कम छन्। काठमाडौं तीमध्येको एक हो जहाँ १२ महिना नै गल्फ खेल्न सकिन्छ।

जसरी नेपालका पहाड, हिमाल, नदी, झरना, जंगल आदिबाट आम्दानी गर्न सकिन्छ। त्यसरी नै तिनै स्रोत साधनसँग खेलकुदलाई जोडेर उपयोग गर्न सकिन्छ। यिनै क्षेत्रलाई खेलकुदको दृष्टिकोणबाट हेर्दा समृद्ध बन्न सक्छ। तर, योजना बनाउनेहरुले यतातिर ध्यान कहिल्यै दिएनन्। त्यसैले खेलकुद आजका दिनसम्म पनि सौखको विषयमात्र बनेको छ।

विश्वका धनी कहलिएका देशहरुले खेलकुदलाई आर्थिक उपार्जनको महत्वपूर्ण स्रोत बनाएका छन्। उदाहरणका लागि इङल्याण्डको फुटबल र भारतको क्रिकेटलाई लिन सकिन्छ। पछिल्लो समय भारतमा पनि फुटबलको ब्यवसायिकताको राम्रो विकास भएको पाइन्छ। भारतमा त पछिल्लो समय अन्य धेरै खेलको पनि व्यवसायिकताको सुरुवात भएको छ। ब्याडमिन्टन, कुस्ती, कबड्डीजस्ता खेलले भारतमा ठूलो स्थान पाएको छ। राज्यले स्पष्ट नीति तर्जुमा गरिदिने हो भने खेलकुदमा लगानी गर्नेहरुको ठूलो समूह नेपालभित्र पनि तयार छ। नेपाल बाहिर पनि त्यत्तिकै। तर, नेपालमा न यसलाई सम्बोधन हुनेगरी योजना बुनिएको छ न त नेपालको कर्मचारीतन्त्रले खेलकुदलाई बुझ्ने प्रयास गरेको छ। नेपालको राजनीतिक तहले पनि खेलकुदलाई बुझ्ने प्रयास कहिले गरेन। अथवा यस क्षेत्रमा सक्रिय हुनेहरुमा त्यो कुरा बुझाउने क्षमताको विकास भएन। त्यसैले अन्य धेरैखाले क्षेत्रको विकास गर्ने योजना नेपालमा बनिरहँदा खेलकुदलाई त्यही दृष्टिकोणबाट हेरिएन।

खेलकुदबाट विकासको बाटो पहिल्याउने हो भने रोजगारीको अवस्था सिर्जना गर्ने बाटो थप बिस्तार हुनेछ जसले श्रमका लागि विदेश जाने जुझारु पुस्तालाई यही रोक्न सकिन्छ। सिंगो मुलुकलाई स्वस्थ बनाउन र कुलतको जोखिममा रहेकालाई त्यतातिर लाग्नबाट रोक्न पनि खेलकुदको भूमिका रहन्छ। खेलकुदबाट सामाजिक रुपान्तरण कसरी हुनसक्छ भन्ने उदाहरण खोज्न टाढा जानु पर्दैन। पूर्व पत्रकार भोजराज भाट यतिखेर कैलालीको कटासेतिर छन्। त्यहाँ उनले ग्रासरुट लेभलमा फुटबलको तालिम चलाइरहेका छन् - साना नानीहरुलाई। छोरीलाई शिक्षाजस्तै खेल र आत्मविश्वास भराउने उनको अभियानले खेलमात्र होइन, लैंगिक विभेद अन्त्यदेखि समतामुलक समाजसमेत तयार गरिरहेको छ। यस्तो समाजको विकास नै हाम्रो सन्दर्भमा महत्वपूर्ण विकास होइन र? लैंगिक विभेदविरुद्ध र समतामुलक समाज निर्माणका लागि योजना आयोगले लागू गरेका अरु विकास आयोजनाभन्दा खेलकुदबाट भइरहेको यस्तो रुपान्तरणलाई नजरअन्दाज गर्न सकिन्छ?

विकासको अर्थ भौतिक क्षेत्रको विकास मात्र भन्ने बुझाईलाई तपाईँको नेतृत्व अस्वीकार गर्ने अपेक्षा गरेको छु। जसरी सामाजिक रुपान्तरणका लागि खेलकुदको भूमिका हुन्छ बढ्दो विभेद र कुसंस्कार अन्त्यका लागि पनि यस क्षेत्रले सघाइरहेको हुन्छ। विदेशी टिमसँग फुटबलको मैदानमा उत्रिने नेपाली खेलाडीलाई नेपालीमात्र देख्छौं, जातजाति वा त्यसको वर्गीकरणअनुसार खेलाडीलाई व्यवहार गर्दैनौं। तर, मैदान देशका लागि उत्रिनेमा क्षेत्री, ब्राम्हण, जनजाति, दलित, मधेशी सबै अटाएका हुन्छन्। अर्थात्, राष्ट्रिय एकताको सुत्रधार हो खेलकुद। जातजाति, सम्प्रदायबिचको विभाजनको खाडल कम गराउन यसले योगदान पुर्‍याउँछ नै। हाम्रो सन्दर्भमा यस्तोखालको भावना विकास हुनु पनि महत्वपूर्ण विकास हो।

त्यसमाथि खेलकुद भन्नसाथ मुलुकको सबैभन्दा ठूलो जनसंख्यालाई सम्बोधन गर्ने हिस्सा हुन जान्छ। देशलाई स्वस्थ बनाउने यती महत्वपूर्ण क्षेत्र कहिल्यै पनि राज्यको प्राथमिकता भित्र परेन। भएका स्रोत साधनमात्र प्रयोगमा ल्याउने हो भने पनि राष्ट्रिय खेलकुद परिषदको मातहतमा रहेका हजारौं रोपनी जग्गा खेलकुदका गतिविधिका लागि उपयोग हुनसक्छ। नेपालका उच्च हिमाली क्षेत्र, मध्य पहाडी क्षेत्र र तराईका समथर भूभाग व्यवस्थित रुपमा उपयोग गर्ने सोच राज्यले कहिले पनि लिएन। युवा तथा खेलकुद मन्त्रालय नेपालका राजनीतिक दलको प्रमुख प्राथमिकताभित्र कहिल्यै परेन। सबैभन्दा कम महत्वको मन्त्रालयका रुपमा खेलकुदलाई लिइयो जसलाई चिर्न आवश्यक छ।

नयाँ जोश र जाँगर सहित योजना आयोगमा तपाईँ आउनु भएको छ। नेपालमा खेलकुदको माध्यमबाट पनि विकास गर्न सकिन्छ र नेपाल सम्भावनाको देश हो भनेर देखाउन सकिन्छ भन्ने तपाईँको त्यो स्टाटसले एकपटक फेरि मलाई उत्साहित बनाएको छ।

राष्ट्रिय योजना आयोगमा खेलकुदका विषयमा व्यापक बहस र विश्लेषण हुन जरुरी छ। केही वर्ष अगाडि योजना आयोगले खेलकुदलाई प्राथमिकतामा राख्ने विषय उठान गरेको थियो। त्यो कुन रुपमा र कति रुपमा अगाडि बढ्यो थाहा नै पाउन सकेन, नेपाली खेलकुद क्षेत्रले। थियो भने पक्कै त्यसका प्रतिफल देखिने थिए। नत्र नेपालको योजना आयोगले खेलकुदलाई चासो दियो भन्न सकिन्थ्यो। त्यसैले, तपाईँको कार्यकालमा नेपालका हरेक प्राकृतिक संरचनालाई उपयोग गर्न सकिने खेलकुद क्षेत्रलाई केन्द्रविन्दुमा राखेर योजना बनेको र कार्यान्वयन भएको हेर्न पाइयोस्। खेलकुदबाट पनि देशको राजनीतिक, सामाजिक र आर्थिक विकास सम्भव छ भन्ने पुष्टि गर्न नेपाल अब्बल सावित होस्। तपाईँलाई फेरि पनि हार्दिक शुभकामना।

तपाईँको शुभेच्छुक।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell