PahiloPost

Jul 3, 2024 | २० असार २०८१

कोभिड उपचारमा उत्कृष्ट काम गरेका स्वास्थ्यकर्मी सम्मानित



पहिलोपोस्ट

कोभिड उपचारमा उत्कृष्ट काम गरेका स्वास्थ्यकर्मी सम्मानित

काठमाडौंः कोभिड महामारीको दोस्रो लहरका बेला हटस्पट बनेको भेरी अञ्चल अस्पतालका सात स्वास्थ्यकर्मीहरुलाई कोभिड उपचार तथा रोकथाममा उत्कृष्ट योगदान गरेको भन्दै बारबारा फाउन्डेसनले विशेष सम्मान गरेको छ।

फाउन्डेसनले भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर राजन पाण्डेसहित सातजनालाई विशेष सम्मान प्रदान गरेको हो।

फाउन्डेसनले कोभिड महामारीका समयमा स्वास्थ्य क्षेत्रमा आइपरेको गहन जिम्मेवारी बहन गरी पेशागत जिम्मेवारीभन्दा माथि उठेर साहसका साथ अग्रपंक्तिमा रहि बिरामीको उपचार र महामारीको रोकथामका लागि काम गरेकोमा प्रेरणादायी तथा उत्कृष्ट योगदान पुर्याए बापत सम्मान प्रदान गरेको जनाएको छ। 

काठमाडौंमा आयोजित विशेष समारोहका बीच पूर्व राष्ट्रपति रामवरण यादवले उनीहरुलाई विशेष सम्मान प्रदान गरेका थिए।

फाउन्डेशनका अध्यक्ष डाक्टर सन्दुक रुइतका अनुसार संस्थागत विधातर्फ भरतपुर अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, एपिएफ अस्पताल, नेपाली सेना मृत शरीर व्यवस्थापन समूह, हामी नेपाल र नेपाल एम्बुलेन्स सेवा सहित सातवटा संस्थालाई सम्मानित गरिएको छ।

भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.पाण्डेसहित अस्पतालका मेसु डा. प्रकाश थापा, नर्सिङ अधिकृत शीला शर्मा, नर्सिङ स्टाफ मधु गुरुङ, एलिना विक, ल्याबका सह(इन्चार्ज प्रसिद्ध ढकाल र सरसफाइकर्मी कविता डिसीले यो सम्मान पाएका हुन्।

चिकित्सा क्षेत्रबाट डा. पाण्डे, अस्पताल प्रशासनबाट डा थापा, नर्सिङबाट शर्मा, गुरुङ र विक, प्रयोगशालाबाट ढकाल र सहयोगीको तर्फबाट डीसी सम्मानित भएका हुन्।  डा पाण्डे र डा थापालाई २ लाख ५० हजार प्रदान गरिएको छ।

यस्तै नर्सिङ स्टाफ शर्मा, गुरुङ र विकलाई जनही १ लाख ५० हजार नगद रुपैयाँसहित सम्मान गरिएको छ। यस्तै ढकाल र डीसीलाई जनही १/१ लाख रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको छ।

फाउन्डेशनले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, व्यवस्थापक र सहयोगीसहित देशभरका ८० जना तथा ७ वटा संस्थालाई कोभिड १९ विशेष सम्मान प्रदान गरेको थियो।

फाउन्डेशनले २० जना चिकित्सकलाई जनही नगद २ लाख ५० हजार रुपैयाँसहित सम्मान प्रदान गरेको हो । यस्तै २७ जना नर्सलाई १ लाख ५० हजार नगद रुपैयाँसहित सम्मान गरिएको फाउन्डेसनले जनाएको छ ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell