PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

'आजाद कश्मीर'मा क्रिकेट लिग आयोजना हुँदा विदेशी खेलाडीलाई भारतको धम्की! 'खेले भारत आउन दिन्नौं'



पहिलोपोस्ट

'आजाद कश्मीर'मा क्रिकेट लिग आयोजना हुँदा विदेशी खेलाडीलाई भारतको धम्की! 'खेले भारत आउन दिन्नौं'

भारत र पाकिस्तानबिच विवादित क्षेत्रमा क्रिकेट लिग आयोजना हुन लाग्दा दुवै देशबिच तनाव सिर्जना भएको छ। दुवै देशका क्रिकेट बोर्डहरु अहिले आमनेसामने भएका छन्। क्रिकेट क्षेत्रमात्रै होइन राजनीति पनि गरम भएको छ। 

यही अगस्त ६ मा पाकिस्तानको समर्थन रहेको आजाद कश्‍मीरमा 'कश्मीर प्रिमियर लिग' आयोजना हुँदैछ। तर खेल सुरु हुनु एक साता बाँकी रहँदा भने विवाद उत्कर्षमा पुगेको छ। 

विवादको कारण : प्रतियोगिता हुने स्थान।

भारतले आजाद कश्मीरसहित चीन र पाकिस्‍तानमा रहेको कश्मीरमा समेत आफ्नो दाबी गर्दै आएको छ। तर त्यही क्षेत्रमा चर्चित विदेशी खेलाडी सहितको लिग गराउन लाग्दा भारत अहिले हच्किएको छ। 

भारतले कश्मीर प्रिमियर लिगमा सहभागी हुन 'कन्फर्म' भइसकेका केही अन्तर्राष्ट्रिय खेलाडीलाई कश्मीरमा गएर नखेल्न धम्की दिएको दाबी स्वयम् खेलाडीले नै गरेका छन्। 

शनिवार दक्षिण अफ्रिकी क्रिकेटर हर्शल गिब्सले ट्वीट गर्दै भारतले आफूलाई उक्त प्रतियोगितामा भाग नलिन दबाब दिएको दाबी गरेका थिए।

'पाकिस्तानसँग अनावश्यक राजनीतिक एजेन्डा ल्याउँदै मलाई केपीएल खेल्न नदिन प्रयास गरिरहेको छ,' उनले ट्वीटमा लेखेका छन्, 'भारतमा क्रिकेटसँग सम्बन्धित कुनै पनि काममा प्रवेश नमिल्ने भनेर मलाई धम्की दिइएको छ। यो हाँस्यास्पद छ' उनले भनेका छन्।

उनको ट्वीटरले छिमेकमा भएर पनि 'शत्रुतापूर्ण' अवस्थामा रहेको भारत र पाकिस्तान सामाजिक सञ्जाल र मिडियामा भिड्न सुरु भएको छ  कश्मीर प्रिमियर लिग (केपीएल) का आयोजक, पाकिस्तान क्रिकेट बोर्डले पनि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले गिब्सलाई प्रतियोगितामा भाग नलिन धम्की र चेतावनी दिइरहेको दाबी गरेका छन्।

शनिवार पाकिस्तानी टोलीका पूर्वकप्तान राशिद लतिफले पनि यस्तै आरोप लगाएका थिए।

'बीसीसीआईले क्रिकेट बोर्डहरुलाई धम्की दिइरहेको छ कि यदि उनीहरुका पूर्व खेलाडीले केपीएलमा भाग लिन्छन् भने उनीहरुलाई भारत प्रवेश गर्न या कुनै पनि तहमा भारतीय क्रिकेटसँग काम गर्न प्रतिबन्ध लगाइनेछ' उनले अर्को ट्वीटमा उल्लेख गरेका छन्।

त्यस्तै प्रतियोगिताका आयोजक तैमुर खानले पनि विदेशी खेलाडीले भारतबाट दवाब आएको बताएका छन्। उनले भारतीय हस्तक्षेपलाई 'दु:खद्' भन्दै विदेशी खेलाडी सहभागी हुने अवस्था नरहे पनि प्रतियोगिता चल्ने बताए।

यो प्रकरण अघि आएसँगै पाकिस्तानले भारतको कडा आलोचना गरेको छ। पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता जाहिद हफिज चौधरीले भारतले क्रिकेटमा राजनीति गर्न खोजेको भन्दै भारतीय हस्तक्षेपको निन्दा गरेका छन्।

'भारतद्वारा क्रिकेटमाथि गरिएको राजनीतिकरण निन्दनिय छ। युवा कश्मिरी खेलाडीलाई ठूला खेलाडीसँग ड्रेसिङ रुम अवसरबाट बञ्चित गर्न खोज्नु दूर्भाग्यपूर्ण र खेदजनक छ' उनले ट्वीट गर्दै भनेका छन्।

पाकिस्तानी मन्त्री फवाद अहमेद चौधरीले राजनीतिका लागि मोदी सरकारले क्रिकेटको बलि दिएको पहिलो पटक नभएको दाबी गर्दै यसको निन्दा गर्नपर्ने बताएका छन्।

भारतमा हलचल

'कश्मीर' लाई आफ्नो क्षेत्र दाबी गर्दै आइरहेको भारतले 'कश्मीर' नै नाममा सञ्चालन गरेको प्रतियोगितामा विरोध जनाउनुलाई कुनै आश्चर्य नभएको जानकार बताउँछन्। त्यसैले पनि भारतीय क्रिकेट बोर्ड नै कश्मीर प्रिमियर लिगको विरोधमा खुलर उत्रेको छ। 

बीसीसीआईले भारतभित्रको क्रिकेट गतिविधिमा कसलाई संलग्न गराउने या नगराउने भन्ने आन्तरिक मामला भएको भन्दै जवाफ दिएको छ।

'पूर्व खेलाडी जो माथि म्याच फिक्सिङको सीबीआई इन्भेस्टिगेसन चलेको थियो उनको भनाइलाई 'कन्फर्म' या 'डिनाइ' हुन सक्दैन। पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले के बुझ्नु पर्छ भने भारत भित्रको क्रिकेटको इकोसिस्टम बनाउने लाई लिएर सबै अधिकार बीसीसीआईलाई छ,' बीसीसीआईले भनेको छ।

बीसीसीआईले आईपीएलसँगको प्रसंगसमेत जोड्दै 'भारत भित्र' क्रिकेट गतिविधि आन्तरिक मामला भएको भन्दै कश्मीर विवादलाई पनि जोड्न चाहेको देखिन्छ।

'पीसीबीमा यसमा द्विविधा देखिन्छ। जसरी पाकिस्तानी खेलाडीले आईपीएल नखेल्ने निर्णय गरिएको थियो र यसमा आईसीसीका सदस्यहरुको आन्तरिक मामलाका रुपमा हेरिएको थियो' बीसीसीआईले अगाडि भनेको छ, 'भारतभित्र कसैलाई क्रिकेटको अनुमति दिने या नदिने या कुनै पनि निर्णय भारतको आन्तरिक विषय हो।'

यता भारतीय शिवसेना पार्टीकी नेतृ प्रियंका चतुर्वेदी हर्षल, भारतीय जनता पार्टीका नेताहरु समेत खुलेर बीबीसीआइको समर्थनमा देखिएका छन्। भारतीय प्रिमियर लिग (आइपीएल)मा पनि पाकिस्तानी खेलाडीहरुलाई सहभागी गराउनुको विरुद्ध यिनै राजनीतिक दलहरुले विरोध जनाएका थिए।

के हो कश्मीर प्रिमियर लिग?

कश्मीर प्रिमियर लिग पाकिस्तान क्रिकेट बोर्डसँगै आजाद कश्मीर सरकारद्वारा मान्यताप्राप्त टी २० क्रिकेट लिग हो। आजाद कश्मीरको मुजफरवादस्थित मुजफरवाद क्रिकेट स्टेडियममा हुने यो प्रतियोगितामा छ वटा टिम सहभागी छन्।

रावलकोट हक्स, कोटली लायन्स, मिरपुर रोयल्स, मुजफ्फराबाद टाइगर्स, ओभरसिज वारियर्स र बाग स्टेलियनले प्रतिस्पर्धा गर्ने प्रतियोगितामा गिब्ससहित अन्य विदेशी खेलाडी खेल्न आउने दाबी आयोजको छ। जसमा श्रीलंकन क्रिकेट लेजेन्ड तिलकरत्न दिशान समेत रहेको बताइएको छ। भारतको धम्की बाबजुद दिलशान पुरै प्रतियोगितामा खेल्ने बताइएको छ। 

पाकिस्तानी टिभी जियो न्युजका अनुसार अन्य विदेशी खेलाडीले भारतको धम्की पछि ६ अगस्टबाट हुने प्रतियोगिताबाट हात झिकिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell