PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

ओलीको रणनीति : माधव नेपाललाई एमालेमा ठाउँ पनि नदिने, तर ठाउँ दिन कचकच पनि गर्ने



प्रकाश भण्डारी

ओलीको रणनीति : माधव नेपाललाई एमालेमा ठाउँ पनि नदिने, तर ठाउँ दिन कचकच पनि गर्ने

काठमाडौं : नेकपा (एमाले) को पछिल्लो विवाद सुरु भएयता विभिन्न विकल्पमाथि छलफल भए। दोस्रो अध्यक्ष बनाउने प्रस्ताव देखि १० बुँदे सहमतिले एमालेको किचलो कम गरेको छैन्। दोस्रो अध्यक्ष बनाउने अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावलाई वरिष्ठ नेता माधवकुमार नेपालले अस्वीकार गरेका छन् भने नेपालले गरेको प्रस्ताव गरेको समान हैसियतसहितको अध्यक्षलाई ओलीले स्वीकारेनन्।

असार २७ गतेको १० बुँदे प्रस्तावलाई 'गुड न्युज'का रुपमा व्याख्या गरेको ओली समूह अहिले अलमलमा छ। नेपाल पक्षलाई न कारवाही गर्न सक्ने न मिलाउनै सक्ने परिस्थितिबाट गुज्रिरहेका छन्, ओली। शनिवारको स्थायी कमिटी बैठक रोकेर ओलीले लचिलो भएको सन्देश दिन खोजे पनि उनको अभिव्यक्ती एकता अनुकुल छैन्।

असार ३१ गते नै नेपाललाई पार्टीमा ठाउँ नभएको घोषणा गरिसकेका ओलीले शनिवार पनि त्यही कुरा दोहोर्‍याएका थिए। एमाले एकताका लागि संवादमा जुटिरहेका दोस्रो तहका नेताहरुले समेत अब सहमति गर्न कठिन हुने भन्दै वार्ताबाट हात उठाउन थालेका छन्। विवाद झन् बल्झिन थालेपछि एमालेमा निषेधको राजनीति सुरु भएको छ। नेपाल बिनाको पार्टी बनाउने कसरतमा ओली लाग्दा नेपालले पनि ओली बिहीन पार्टीका लागि गृहकार्य गरिरहेका छन्।

बाहिर बाघ भित्र स्याल !

शनिवार एकताका लागि एमालेका दोस्रो तहका नेताहरु संवादमा जुटिरहेका बेला ओली-नेपालले एक अर्कालाई काउण्टर दिनेखालका अभिव्यक्ति दिए। ओलीले नेपाललाई 'प्रतिक्रियावादीको मतियार'को आरोप लगाउँदा नेपालले ओलीले फेरि पनि प्रधानमन्त्री हुने षडन्यत्र गरेको भन्दै चर्को आलोचना गरे।

दुवै नेताले मिल्ने इच्छा नदेखाइरहेका बेला नेपाललाई उनी निकट नेताहरुले फकाउनका लागि गरेको प्रयास भने असफल भएको छ। शनिवार साँझ नेता भीम रावल र सुरेन्द्र पाण्डेले नेपाललाई मनाउने प्रयास गरेका थिए। तर नेपालले ओलीसँग मिल्नका लागि समान हैसियतको अध्यक्षको अडान दोहोर्‍याएका थिए।

ओलीले नेपाललाई विभिन्न आरोप लगाएर गाली गलौजमै उत्रिए पनि वार्ताका लागि दूतहरु पठाउन भने छोडेका छैनन्। नेपाललाई अलमल्याएर अरु नेताहरुलाई आफ्नो समूहमा तान्ने रणनीति अनुरुप ओलीले वार्ताको कार्ड फालिरहेका छन्। उनले शनिवार काठमाडौं जिल्ला कमिटीको बैठकमा नेपाल बाहेकका नेतालाई मात्रै पार्टीमा स्थान भएको बताएका थिए।

'गल्ती गरेको भए पनि केही छैन् माफी दिउँला। यो पार्टी हामी सबै मिलेर बनाएका हौ' ओलीले भनेका थिए।

कार्यकर्तमाझ नेपालको चर्को आलोचनामा उत्रिने ओली आन्तरिक छलफलमा भने नेपाल समूहप्रति लचिलो छन्। उनले नेपाल बाहेकका नेताहरुलाई बालकोटमा बोलाएर पटक-पटक संवाद समेत गरिरहेका छन्।

मिलाउनेहरु नै अन्यौलमा

लामो समयदेखि विवाद मिलाउका लागि सक्रिय रहेका नेताहरु अब भने पार्टी मिलाउन नसकिने भन्दै निराश हुन थालेका छन्।

ओली समूहका नेता सुवास नेम्बाङले अब बाँकी काम पार्टीले नै गर्ने बताए।

'सहमतिका लागि त हामीले पनि प्रयास गरेकै हौँ। हिजो पनि माधव नेपाललाई भेटन साथीहरु जानु भएको थियो। अब बाँकी के हुन्छ त थाहा भएन तर पार्टीले जे गर्छ त्यही हुन्छ,' उनले भने।

नेपाल पक्षबाट पनि सहमतिका लागि संवादमा रहेका नेताहरुले अब शीर्ष नेताहरुलाई मिलाउन सक्ने अवस्था नरहेको भन्दै एमालेको विवाद जटिल मोडमा पुगेको बताइरहेका छन्। ओलीसँगको संवादमा सक्रिय रहेका नेताहरुभन्दा नेपालले देउवको पक्षमा खुलेका २२ जना सांसदहरुसँगको संवादलाई तिब्र पारेका छन्।

नेपाललाई उनीहरुले अलग पार्टी बनाउन र सरकारमा सामेल हुन सुझाव दिइरहेका छन्। नेपाल पक्षकी सांसद रामकुमारी झाँक्रीले शनिवार भएको अखिल फोर्सको कार्यक्रममा ओलीले अध्यक्षबाट राजीनामा दिए मात्रै एकता हुने बताउँदै ओलीसँग संवादमा रहेका नेताहरुको भूमिकाप्रति प्रश्न उठाएकी थिइन। उनले समान्नतर गतिविधि गर्दै ओलीलाई कमजोर बनाउनुपर्नेमा जोड दिएकी थिइन्।

नेपाललाई दबाब

ओलीले नेपाल बाहेकका नेताहरुलाई मात्रै एमालेमा फर्काउनका लागि अनेक रणनीति बनाइरहँदा नेपाल पक्ष भने सत्तागठबन्धनसँग नजिक छ। ओलीसँग दुरी बढाएको नेपालले गठबन्धनका नेताहरुलाई दैनिकजसो नै भेटिरहेका छन्। आइतवार विहान पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई उनकै निवास कोटेश्वरमा पुगेर भेटेका थिए।

सरकारमा हालसम्म सहभागी हुने बारे औपचारिक निर्णय नगरेको नेपाल समूहमा अधिकांशस सांसदहरुले सरकारमा सहभागी हुनुपर्ने धारणा राखिरेका छन्। अर्कोतिर सरकारमा सहभागी भए एमालेबाट निकाल्ने धम्की ओलीले आफू निकट मार्फत नेपाल पक्षलाई दिइरहेका छन्।

सरकारमा सहभागी भए नेपाल समूहमा विभाजन ल्याउन सकिने भन्दै ओलीले नेपाललाई थप चिढ्याउने गरि अभिव्यक्ति दिइरहेका जानकार बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell